ईयूले कोरोनाविरुद्धको खोप आपूर्ति नियन्त्रण गर्ने
कोरोना भाइरस खोप माग अनुसार उपलब्ध गराउन नसकेको भन्ने विवाद बढिरहेका बेला युरोपेली सङ्घले युरोपमा बनेको कोरोना भाइरस खोप निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको पुष्टि गरेको छ।
ईयू राष्ट्रहरूसँग गरेको सम्झौता अनुरूप काम नभएमा अन्य मुलुकमा निर्यात गर्न प्रतिबन्ध लगाउन सक्ने अधिकार युरोपेली सङ्घसँग रहेको छ।
सङ्घले भनेको छ, 'हाम्रा नागरिकको सुरक्षा र संरक्षण हाम्रो प्राथमिकता हो । अहिलेको चुनौतीले हामीलाई अरू विकल्प दिएन।'
यो प्रतिबन्धले यूके, अमेरिका, क्यानडा र अस्ट्रेलियासहित १०० मुलुकहरू प्रभावित हुनेछन्। तर गरिब मुलुकहरूसहित केही भने प्रतिबन्धमा परेका छैनन्। ईयूले अहिलेको नियन्त्रण अस्थायी रहेको भन्दै स्थायी निर्यात प्रतिबन्ध नलगाएको बताएको छ।
तर विश्व स्वास्थ्य सङ्गठनसहित अन्यले ईयूको यो कदमको आलोचना गर्दै त्यसको असर संसारभर पर्ने बताएका छन्।