प्यूठानको दाखाक्वाडीमा श्रीखण्ड चोरी बढ्यो, स्थानीय चिन्तित
प्यूठान: प्यूठान नगरपालिका १ र २ मा रहेका बहुमुल्य प्रजातीको श्रीखण्ड दुई सातादेखि चोरीको क्रम बढेको छ ।
गत बुधबारदेखि नै श्रीखण्ड चोरी हुँदैआएको हो । स्थानीय गिर बहादुर धामीको दुई वटा बोट, रोम बहादुर धामीको तीन बोट, पित बहादुर धामीको चार बोट, नारायण धामीको दुई बोट र पूर्ण बहादुर धामीको दुई वटा बोट श्रीखण्ड चोरी भएको छ ।
रातको समयमा श्रीखण्ड चोरी भएकाले चोरी गर्ने गिरोहलाई पक्राउ गर्न नसकिरहेको स्थानीयहरु बताउँछन् । दाखाक्वाडी श्रीखण्ड खेतीका लागि प्रख्यात ठाउँ मानिन्छ । स्थानीयले वर्षौँदेखि यसको व्यवसायीक खेती गर्दै आएका छन् ।
रोल्पा र नेपालगञ्जका व्यवसायीहरु घरमै आएर श्रीखण्ड खरिद गर्दै आए पनि रातारात चोरी बढ्दै जाँदा स्थानीय निराश देखिएका छन् । चोरी गर्ने गिरोह खोजी गरी कारवाहीका लागि स्थानीयले इलाका प्रहरी कार्यालय विजुवारमा लिखित उजुरी समेत दिएका छन् ।
यहाँका करिव तीन सय परिवारले यसको व्यवसायीक खेती गरिहेका छन् । प्रत्येकका परिवारले कम्तिमा पाँच वटा श्रीखण्डका बोटहरु हुर्काएका छन् ।