कोभिडका बिरामी ओसार्न ‘नेगेटिभ प्रेसर च्याम्बर’

कोभिडका बिरामी ओसार्न ‘नेगेटिभ प्रेसर च्याम्बर’

कोरोना पोजिटिभ बिरामीलाई हेलिकोप्टरमा सुरक्षित ओसारपसार निम्ति ‘नेगेटिभ प्रेसर च्याम्बर’ विधि निर्माण भएको छ। सिम्रिक एयरका कार्यकारी निर्देशक क्याप्टेन सिद्धार्थजंग गुरुङ, अनुभवी दक्ष इन्जिनियर र अन्य प्राविधिक समूह सामेल गरी कार्यकारी निर्देशक तथा प्राविधिक प्रमुख सेनानी विष्णु बस्न्यात (अ.प्रा.) को नेतृत्वमा यो प्रविधि निर्माण भएको हो। त्यो नयाँ प्रविधि के हो ? कसरी निर्माण भयो ? यसबाट कोभिडका बिरामी ओसारपसारमा कसरी सहज हुन्छ ? यसै विषयमा केन्द्रित रहेर बस्न्यातसँग गरिएको कुराकानी :


‘नेगेटिभ प्रेसर च्याम्बर’ को आवश्यकता किन महसुस भयो ?

कोरोना भाइरस पोजेटिभ भेटिएका बिरामीको संख्या बढ्दै गएको अवस्थामा मुलुकका विभिन्न भागबाट संक्रमित रोगीलाई उपचारार्थ छिटोछरितो र सुरक्षित उपचारात्मक सेवा कसरी पुर्‍याउन सकिन्छ भन्ने विषयमा चिन्तनमनन र छलफल भयो। यसै क्रममा नेपालमा सञ्चालन भएका अस्पताल मेडिसिटी, ग्रान्डी, ह्याम्सका डाक्टर तथा अन्य विशेषज्ञको सल्लाह र सुझावअनुसार कोरोना भाइरस पोजेटिभका बिरामीलाई नेगेटिभ प्रेसर च्याम्बर (पीआईयू) मा राखेर ओसारपसार गर्दा उडानमा भएका पाइलट, डाक्टर र स्वास्थ्यकर्मीलगायतलाई सर्दैन भन्ने निर्णय भयो। त्यसपछि नेपालमा यसको आवश्यकता महसुस गरी खोज तथा अनुसन्धान गरी निर्माण गरिएको हो।

पीआईयू खोजको प्रक्रिया कसरी सुरु भयो ?
नेपालमा आकस्मिक रूपमा हुने दैवीप्रकोप, बाढीपहिरो, हिमपहिरोदेखि भूकम्प तथा विभिन्न महामारीमा ठूलासाना जहाज दुर्घटनामा परेका व्यक्तिको उद्धार, उच्च हिमाल चढ्दा बिरामी परेका ब्यक्तिको उद्धारमा अचानक हेलिकप्टर प्रयोग गरी उद्धार गरिँदै आइएको छ। कुनै समय उद्धार गर्न जान सरकारले अचानक दिने निर्देशनको अनुभव नियाल्यौं। यस्तो बेला काम गर्न सकेनौं भने हाम्रो पेसागत अनुभव र प्रतिष्ठ कायम रहन सक्दैन। हामीसँग कोरोना बिरामी ओसार्ने उपयुक्त साधन र आवश्यक तालिम छैन। त्यसैले महामारी प्रकोपमा परेकालाई उद्धार गर्न असमर्थ छौं भन्नुपर्ने अवस्था छ। सिम्रिक एयर परिवारका सबै सदस्य एकसाथ बसी कोरोना भाइरस के हो ? यसबाट टाढा बस्न के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने विषयमा बुझ्न ह्याम्स हस्पिटलका डा. अभिजितलाई सिम्रिक एयरमा आमन्त्रण गरी सम्बन्धित सबैलाई सजग रहने सुरक्षण विधिबारे प्रशिक्षणात्मक जानकारी लियौं। कोरोना भाइरसबाट सजग रहन अपनाउनुपर्ने ज्ञान हासिल भएपछि आफ्नो दायित्व कसरी निर्वाह गर्ने प्रश्नले घच्घच्याइरह्यो। आफू सुरक्षित रहेर कोरोना पोजेटिभ व्यक्तिलाई परिआएमा हेलिकप्टरको सहायताबाट उपचारका लागि एक ठाउँबाट अर्को ठाउँमा कसरी सुरक्षित तरिकाले ओसारपसार गर्न सकिन्छ भन्ने विषयमा विचारविमर्श सुरु गर्‍यौं। त्यसपछि नेगेटिभ प्रेसर च्याम्बर निर्माणका लागि खोज–अनुसन्धान कार्यको सुरुवात गरेका हौं।

खोज्दै जाँदा हेलिकप्टरकै लागि नभई कुनै पनि जहाज वा एम्बुलेन्समा प्रयोग गर्न भनी चाइनाको Jiangsu Gooe Medical Technology Co.Ltd.  Jiengsu,China ले उत्पादन गरेको Biological Issolation Chamber आफ्नै लगानीमा आयात गर्‍यौं। उक्त Biological Issolation Chamber सिम्रिक एयरसँग भएको हेलिकप्टर AS 350 B3e मा जडान गरी प्रयोग गर्न सकिने अवस्था रहेन। त्यसपछि हाम्रो इन्जिनियरिङ टिमले त्यसलाई (Modification) रूपान्तरण गरी सिम्रिकसँग भएको AS 350 B3e हेलिकप्टरमा जडान योग्य बनायो। परीक्षण गर्दा सुरक्षित तरिकाले प्रयोग गर्न मिल्ने सुनिश्चित भएपछि नेपाल सरकार स्वास्थ्य मन्त्रालय र सिभिल एभियसन अथोरिटीबाट नेपालमा पहिलोपटक कोभिड– १९ पोजेटिभ बिरामीलाई हेलिकप्टरबाट ओसारपसार गर्ने अनुमति दिइएपछि हामीले सेवा सुरु गरेका हौं।

‘नेगेटिभ प्रेसर च्याम्बर’ निर्माणमा कस्तो खालको उपकरण जडान भएको छ ?
AS 350 B3e हेलिकप्टरमा जडान गर्न सजिलो र उडानको समयमा सँगै फ्लाइटमा जाने डाक्टर तथा स्वास्थ्यकर्मीलाई बस्न तथा उडानमा बिरामीको उपचार र हेरचाह गर्न सरल होस् भन्ने हेतुले मैले विशेष आकारको नेगेटिभ प्रेसर च्याम्बरको परिकल्पना गरें। उक्त च्याम्बरमा बिरामीलाई आरामसँग सुताउँदा शरीरका भागलाई ३० डिग्री टाउकोको भाग उठाउन मिल्ने, उपचारका लागि आवश्यक पर्ने अक्सिजन र स्लाइन पानी तथा सिकिस्त भएका बिरामीलाई भेन्टिलेटरको प्रयोग गर्दा त्यसको उपकरण प्रयोग गर्नुपरे सजिलै बिरामीसँग पुर्‍याउन सकिने सुरक्षित प्वालको डिजाइन गरेको छु। डाक्टर वा स्वास्थ्यकर्मीले उडानका बेला बिरामीलाई जाँच गर्न वा उपकरण बिरामीसम्म पुर्‍याउन च्याम्बरभित्र हात लैजान रबरको पञ्जासहितको सुरक्षित बाहुला जडान गरिएको छ। 

गर्मीको समयमा च्याम्बरभित्र बिरामीलाई गर्मी महसुस नहोस् भनी च्याम्बरभित्र पंखा जडान गरी त्यसका लागि आवश्यक पर्ने ब्याट्रीको छुट्टै व्यवस्था गरिएको छ। बाहिरबाट ‘अन’ ‘अफ’ गर्न मिल्ने गरी स्विच जडान गरिएको छ। च्याम्बरलाई हेलिकप्टरको क्याबिनमा जडान गर्दा दायाँबायाँ र पछाडिको भागमा विशेष प्रकारको एंकर प्वाइन्ट बनाई हेलिकप्टरको क्याबिन फ्लोरमा राखेको एंकर प्वाइन्टमा टर्नबक्कलको माध्यमले सुरक्षित तरिकाबाट जडान गर्ने व्यवस्था गरिएको छ। बिरामीलाई प्रयोग गरिने अक्सिजन बोतललाई ठड्याएको अवस्थामा पछाडिको भागमा स्ट्रापद्वारा बाँधेर सुरक्षित राख्ने व्यवस्था गरिएको छ। साथै बिरामीलाई सेफ्टीबेल्टको व्यवस्था गरिएको छ। 

बिरामीलाई च्याम्बरमा राखेदेखि बाहिर ननिकालेसम्म नेगेटिभ प्रेसर मेन्टेन गर्न सक्सन पम्पको व्यवस्था गरिएको छ। उक्त नेगेटिभ च्याम्बरमा सक्सन पम्पद्वारा हावालाई बाहिर तानिने ‘आउट लेट पोर्ट’ मा भरपर्दो दुइटा फिल्टर जडान गरिएको छ। चेम्बरको भित्र हावा सर्कुलेसन गराइराख्न ‘इन लेट पोर्ट’ हावाभित्र आउने बाटोमा भरपर्दो एउटा फिल्टर जडान गरिएको छ। नेगेटिभ प्रेसरको अवस्था जाँच गरिरहन नेगेटिभ प्रेसरमिटर जडान गरी त्यसका लागि च्याम्बरभित्रको हावा आउने बाटो इन लेट पोर्ट जोडेको छ। सक्सन पम्प र नेगेटिभ प्रेसर मिटर युनिटलाई आवश्यक ब्याट्रीको छुट्टै व्यवस्था गरिएको छ।

तपाईंसँग यस विषयमा अनुभव पनि थियो कि ?
विगत वर्षमा म आर्मी एभियसनमा कार्यरत हुँदा हेलिकप्टरबाट गरिने विशेष काम सरल तरिकाबाट गर्न नेपालमै विभिन्न प्रकारका यस्तै युनिट परिकल्पना गरी तयार गरेर जाँच गरेपछि प्रयोग गर्दा सफलता प्राप्त गरेको अनुभव थियो। त्यसले आफ्नै देशमा यस्तो युनिट बनाउन पाए हुन्थ्यो भन्ने अभिलाषा राखी मैले यो नेगेटिभ प्रेसर च्याम्बर बनाउने अठोट गरेको हुँ। त्यसरी अघि बढ्ने क्रममा पहिला कुन पदार्थ प्रयोग गर्दा एभियसन प्रयोगका लागि उपयुक्त हुन्छ भनेर बुझ्दा हालको आधुनिक हेलिकप्टरमा प्रयोग गर्दै आएको ‘फाइबर ग्लास’ पदार्थ प्रयोग गर्दा बलियो, राम्रो र सुरक्षित हुने निधो गरें। हेलिकप्टरमा जडान गर्ने ठाउँको नापजाँच लिएर सो ठाउँमा जडान गर्न तथा प्रयोग गर्न पनि सजिलो हुने भएकाले उक्त च्याम्बरको नापनक्सा तयार गरें। नापसहितको नक्सा तयार पारेर नेपालमा भएको दुईतीनवटा फाइबर ग्लासको काम गर्ने कारखानामा बुझ्दा नमुना दिनुपर्ने भएपछि सिम्रिक एयरको विमानस्थल कार्यालयपरिसरमा दुईजना सिकर्मी बोलाएर आफ्नै निर्देशन र अनुगमनमा काठको नमुना च्याम्बर तयार गरें।

‘नेगेटिभ प्रेसर च्याम्बर’ को बनोट कस्तो छ ? यसको विशेषता के छ ?
च्याम्बरमा सरल तरिकाबाट बिरामी राख्न र झिक्न च्याम्बरलाई दुई भागमा फाइबर ग्लास पदार्थ प्रयोग गरी बनाइएको छ। तलको भाग बेसमा बिरामी राखेपछि माथिबाट बिर्को (कभर) लगाएर नेगेटिभ प्रेसर च्याम्बर निर्माण हुने व्यवस्था गरिएको छ। उक्त बेस र बिर्को जोड्ने भागको बीचमा भरपर्दो तरिकाबाट हावा भित्रबाहिर हुन नदिन रबर सिलको प्रयोग गरिएको छ। बिर्को र तल्लो भाग जोड्ने प्वाइन्टलाई बलियोसँग जोडिराख्न र निकाल्न परेको समय सरल तरिकाबाट चाँडै निकाल्न मिल्ने संयन्त्रको परिकल्पना गर्दा विशेष प्रकारको छेस्किनी राख्दा सजिलो र भरपर्दो ठानी हेलिकप्टरमा प्रयोग त्यस्तै खालको छेस्किनी प्रयोग गरिएको छ। नेगेटिभ प्रेसर च्याम्बरमा बिरामीलाई उज्यालो प्रदान गरी च्याम्बरमा गुम्सिएर बसेको अनुभव नहुने बनाउन र डाक्टर वा स्वास्थ्यकर्मीलाई बिरामीको अवस्था बुझ्न सहज होस् भनी च्याम्बरको माथिल्लो भाग बिर्कोको तीन पाटोमा पारदर्शी फाइबर ग्लासको पाता राखी तयार गरिएको छ। माथि उल्लेख गरिएका सबै सामान जडानपश्चात् केही समय मानिसलाई राखेर सबै जडान गरिएका उपकरण चलाएर परीक्षण गरिएको छ। परीक्षण गर्दा नेगेटिभ प्रेसर च्याम्बरमा माइनस १५/१६ पास्कल नेगेटिभ प्रेसर मेन्टेन भएको पाइयो। यो अंक यस्तो नेगेटिभ प्रेसर च्याम्बर (पीआईयू) का लागि राम्रो मानिन्छ। डाक्टरको भनाइअनुसार माइनस ५ पास्कल मात्र भए पनि पर्याप्त हुनेछ।

कोरोना बिरामी ओसार–पसार गर्दा रोग सर्ने डर हुँदैन ?
यो पीआईयूमा कोरोना पोजेटिभ भएका बिरामी ओसारपसार गर्दा बिरामी राखेर बिर्को लगाएपछि ‘सक्सन पम्प अपरेट’ गर्न स्विच अन गरेपछि च्याम्बरमा भएको हावा दुइटा फिल्टर भएर बाहिर निस्कन्छ। फिल्टरबाट बाहिर निस्कँदा उक्त च्याम्बरमा हावाको चाप घट्न थाल्छ। प्रेसर घट्न थालेपछि हावा भित्र जाने बाटोमा (पोर्टमा) राखेको एउटा फिल्टरबाट हावा भित्र तान्ने काम सुरु हुन्छ। हावा भित्र जाने बाटोमा (पोर्टमा) एउटा मात्र फिल्टर राखेकाले भित्र जाने हावाको मात्रा बाहिर फालेको हावाको दाँजोमा कम हुन्छ। 

बाहिर जाने र भित्र आउने हावाको प्रवाह घटीबढी हुने हुँदा पम्प चलेको बेला च्याम्बरमा बाहिरको भन्दा प्रेसर कम हुने गर्छ। बिरामी बसेको च्याम्बरको हावाको प्रेसर कम र बाहिरको हावाको प्रेसर बढी हुने हुँदा बिरामीसँग भएको कोरोना भाइरस बाहिर उच्च चाप भएको ठाउँमा आउन नसक्ने हुँदा बिरामीबाट कोरोना भाइरस फैलन पाउँदैन र रोग सर्ने डर हुँदैन। तर पनि बिरामीको कोरोना भाइरसको प्रभाव हेलिकप्टर उडाउने पाइलट, उडानमा जाने डाक्टर र स्वास्थ्यकर्मीलाई नफैलियोस् भनी उनीहरूलाई पीपीई लगाउन अनिवार्य गरिएको छ।

यो प्रविधि प्रयोग गर्न र प्रयोग गरिसकेपछि के गर्नुपर्छ ?
पीआईयूलाई पूरा बाहिर निकालेर बिरामी राखी बिर्को लगाएर एकैचोटि हेलिकप्टरमा राख्न पनि सकिन्छ। यदि सहायता गर्ने मानिस कम भएमा बिर्को नलगाई हेलिकप्टरमा राखेपछि बिर्को लगाउन पनि सकिन्छ। बिरामी अस्पताल पुर्‍याएपछि पीआईयू र हेलिकप्टरलाई दुईजना प्राविधिकले पीपीई प्रयोग गरी हेलिकप्टर निर्माता कम्पनीबाट सिफारिस गरेको ऋबििब ज्ञद्धछद्द ल्भगतचब िम्ष्कष्लतभअतबलत ऋभिबलभच प्रयोग गरी सफा गरिन्छ। उक्त सफा गर्ने कार्य गरेपछि उक्त काममा प्रयोग भएको पीपीईलाई काम सक्नासाथ फुकालेर प्लास्टिकको झोलामा राखी निश्चित ठाउँमा पठाइदिने व्यवस्था गरिएको छ।

यो प्रविधि प्रयोगपछि कस्तो अनुभव भएको छ ?
स्वास्थ्य मन्त्रालय तथा सिभिल एभियसन अथोरिटीबाट स्वीकृति प्राप्त गरी सिम्रिक एयर कोरोना भाइरसका बिरामी ओसारपसार गर्ने नेपालकै पहिलो कम्पनी भएको छ। स्वीकृति लिनुभन्दा पहिलाबाटै सिम्रिकका सबै कर्मचारी, स्वीकृतप्राप्त अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मी सबैले हेलिकप्टरबाट पीआईयूको सहायताले बिरामी ल्याउदा केके गर्न हुने, केके गर्न नहुने र पीआईयूको प्रयोग र त्यसको संरक्षणबारे तालिम लिएदिएर काम सुरु गरिएकाले हालसम्म देशका विभिन्न ठाउँबाट डाक्टर, मेडिकल स्वास्थ्यकर्मी साथमा लगाएर ८५ जनाभन्दा बढी कोरोना भाइरस पोजेटिभ बिरामीलाई उपचारका लागि उडानबाट ओसारपसार गर्दा सेवाग्राहीलगायत सबै सुरक्षित रहेको र सिम्रिकले अपनाएको सुरक्षासम्बन्धी विधि उत्तम र सुरक्षित भएका प्रतिक्रिया प्राप्त भएका छन्। यसबाट थप उत्साह र सन्तुष्टि मिलेको छ।

यो नेगेटिभ प्रेसर च्याम्बर हेलिकप्टरमा मात्र नभई हवाईजहाज, पानीजहाज, एम्बुलेन्समा पनि जडान गरी कोरोना पोजेटिभ वा अन्य सरुवा रोगका बिरामीलाई पनि एक ठाउँबाट अर्को ठाउँमा सुरक्षित तरिकाले ओसारपसार गर्न प्रयोग गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.