अझै खुलेन जोगबनी नाका

अझै खुलेन जोगबनी नाका

विराटनगर : विराटनगर महानगरपालिका–१५ स्थित रानी नाका हुँदै आइतबार दिउँसो ३:२० बजेतिर नेपाल प्रहरीका एसएसपी कृष्णहरि शर्मा भारतको जोगबनीतिर लागे। परिवारका सदस्य र आफन्तसहित किनमेलका लागि भन्दै उनी भारतदेखि विराटनगर प्रवेश गर्ने मुख्य नाकाबाट जोगबनी बजार पुगेका हुन्। शर्मालाई विराटनगर भन्सारको पुरानो कार्यालय नजिक रहेको नाका कटाएर जोगबनी पुर्‍याउन सादा पोसाकमा रहेका प्रहरीले सहयोग गरे। 

नेपाल प्रहरीका अधिकृत नै घरायसी काम र किनमेलका लागि जोगबनीतिर लागेको देखेपछि समस्यामा परेका सर्वसाधरणलाई नाका खुलेको अनुमान गरे। केही जोगबनीतिर जान पनि खोजे। तर, नेपाल र सशस्त्र प्रहरीले सर्वसाधारणलाई भने आवतजावत गर्न दिएनन्। 

मुख्य नाकाबाट छिर्न नपाएपछि उनीहरू दरैया, हुलास मेटललगायतका चोर बाटो प्रयोग गर्दै जोगबनी छिरे। तर, सीमामा तैनाथ सुरक्षाकर्मीले रोकेपछि उनीहरू चोर बाटो अपनाएका हुन्। 

उच्च प्रहरी अधिकृतले जोगबनीतिर सहज रूपमा प्रवेश पाइरहँदा सर्वसाधारणलाई भने आवतजावतमा रोक लगाइएको थियो। नाका खुला हुनुपर्ने माग राख्दै लामै समयदेखि सर्वसाधारणले नेपाल–भारत सीमा क्षेत्रमा धर्ना दिने र प्रदर्शन गर्नेलगायतका आन्दोलनका कार्यक्रम गरिरहेका छन्। तर पनि २०७६ साल फागुन ११ गतेबाट सिल भएको नाका अझै खुलेको छैन। 

संक्रमण कम हुँदै गइरहे पनि  लामो समयदेखि बन्द गरिएको नाका नखुल्दा आफूहरू मारमा परेको स्थानीय बासिन्दाको गुनासो छ। रानीस्थित विराटनगर भन्सारको पुरानो कार्यालय नजिकका तीनवटै ढाट बन्द गरिएको छ। विराटनगर–१५ मा रहेको १ र २ नम्बर तथा विराटनगर–१६ मा रहेको ३ नम्बर ढाट १० महिना अघिदेखि बन्द छन्। 

कोरोना संक्रमण मत्थर हुँदै गए पनि ढाट भने लागेको लाग्यै छ। नयाँ प्रकारको भाइरस देखापरेपछि थप कडाइ गर्दै नेपालबाट भारत र भारतबाट नेपालतर्फ मानिस तथा सवारीसाधनको आवतजावत गर्न दिइएको छैन। तर, दुई देशबीचको आवतजावत भने रोकिएको छैन।

सीमा नाका बन्द हुँदा पछिल्लो समय घरायसी किनमेल, औषधि उपचार, आफन्त भेटघाट, घुमफिरलगायतका कार्य प्रभावित भएको भन्दै जनस्तरबाट पनि खुला गर्नुपर्ने माग राखेर विभिन्न दबाबमुलक कार्यक्रम भइरहेका छन्। सीमाबाट आवागमन गर्ने प्रोटोकलका बारेमा जानकारी नहुँदा सीमा क्षेत्रअन्तर्गत रानीमा आइतबार स्थानीय बासिन्दाले प्रदर्शन गरे। 

युथ युनिटी अफ नेपाल नामक संस्थाका युवा र आसपासका स्थानीयले विगतमा जस्तै सीमा खुला हुनुपर्ने र स्वतन्त्र रूपमा आवतजावत गर्न पाउनुपर्ने माग राखेर प्रदर्शन गरेका हुन्। ‘यति साह्रै असहज हुँदा र अति आवश्यक काममा पनि आउजाउ गर्न पाइएको छैन,’ संस्थाका उपाध्यक्ष अब्दुल हमिदले भने, ‘जान खोज्यो भने प्रहरीले रोकिहाल्छ । सर्वसाधारणलाई रोकिनु र ठूलाबडालाई छाडिनु ठूलो विभेद हो।’

स्थानीय मोहम्मद इसामुदिनले नेपालसँग प्रत्यक्ष सम्बन्ध जोडिएको भारतीय नाका लामो समयदेखि बन्द हुँदा सर्वसाधारणलाई सामान्य हिसाबले जीवनयापन गर्न पनि मुस्किल परिरहेको सुनाए। मन्त्रिपरिषद् बैठकपछि सरकारले माघ १६ देखि आवश्यक सर्तसहित नाका खुुला गर्ने निर्णय गरेको छ।

गृह मन्त्रालयले विराटनगरको रानी भन्सारसहित भारत र चीनसँग सीमा जोडिएका देशभरिका ३० वटा नाकाहरू आवश्यक प्रोटोकलसहित खुला गर्न निर्देशन दिँदै सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकेको छ।  भारतीय नागरिकहरूको हकमा गृह मन्त्रालयसँग स्वीकृति लिएर मात्रै नेपाल प्रवेश दिने व्यवस्था मिलाइएको छ। त्यस्तै नयाँ भाइरस देखिएको ठाउँबाट आउने नागरिकहरूले ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट पनि साथमा लिएर आउनुपर्ने नियम सरकारले बनाएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए। 

सरकारी निर्देशनअनुसार इलाम, झापा, मोरङ, सिरहा, रौतहट, पर्सा वीरगञ्ज, रसुवा, रूपन्देही, बाँके, कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लाका नाका खुल्ला भएको गृह मन्त्रालयले जनाएको छ। तर, नाकामा आवतजावत गर्नेले भने तोकिएको निमय पूरा गर्नुपर्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.