अछाममा अझै असुरक्षित गर्भपतन
अछाम : अछामको साँफेबगर नगरपालिकाकी बबिता नेपाली (नाम परिवर्तन)का दुई सन्तान छन्। उनलाई सन्तानको रहर पुगिसकेको छ। श्रीमान्ले अस्थायी साधन प्रयोग गर्न नमानेपछि उनले डिपो लगाउन थालिन्। तर, स्वास्थ्यमा समस्या देखिन थालेपछि डिपो लगाउन छोडिन्।
डिपो लगाउन छोडेपछि उनको दुई पटक अनिश्चित गर्भ बस्यो। पहिलो पटक अस्पतालमा गएर उनले सुरक्षित गर्भपतन सेवा लिइन्। भदौमा फेरि गर्भ बस्यो।
उनलाई दोस्रो पटक अस्पताल जान लाज लाग्यो। उनले यसपटक आफैं औषधि किनेर खाइन्। त्यसपछि पेट दुख्ने, धेरै रगत बग्ने जस्ता समस्या देखिए। ‘औषधि खाएपछि यस्तै हुन्छ होला भनेर केही दिन त सहेरै बसेँ। तर, निकै गाह्रो हुन थाल्यो,’ उनले भनिन्, ‘बेहास भएछु, होस खुल्दा बयलपाटा अस्पतालमा रहेछु। यहाँ राम्रो नभएपछि धनगढी अस्पतालमा अपे्रसन गरेर पाठेघरको रगतको टुक्रा सफा गरेँ।’
बाब्लाकी झुमा भुल (नाम परिवर्तन)का श्रीमान् भारतमा काम गर्छन्। उनका दुई छोरी र एक छोरा छन्। श्रीमान् घर फर्किएपछि कात्तिकमा उनको अनिश्चित गर्भ बस्यो। अस्पताल टाढा भएकाले उनले औषधि किनेर खाइन्। ‘अस्पताल नजिक छैन। औषधि किनेर खाए,’ उनले भनिन्, ‘धेरै रगत बग्यो अनि पेट निकै दुख्न थाल्यो। सहनै नसकेपछि श्रीमान्ले अस्पताल पुर्याए।’
महिलाले सुरक्षित गर्भपतन बारे कानुनी ज्ञानको अभाव तथा सुरक्षित गर्भपतन सेवा प्रदायक सस्थासँगको सहज पहुँचको अभावमा असुरक्षित गर्भपतन गराइरहेको देखिन्छ। जुन अछामको बयलपाटा अस्पतालमा मात्र १० महिनाको अवधिमा आएका ८५ महिलाको तथ्यांकले पुष्टि गर्छ।
चैतदेखि पुससम्म अस्पतालमा पुगेर २ सय ५ जनाले सुरक्षित गर्भपतन सेवा लिए। जसमध्ये ८५ जनाले घरमै असुरक्षित गर्भपतनको प्रयास गर्दा सफल नभएपछि अस्पताल पुगेको संख्या हो। कोरोनाका कारण लकडाउन भएपछि गत चैतमा मात्र १३ जना अस्पताल पुगेका थिए। जसमध्ये ११ जना घरमै गर्भपतनको प्रयासमा असफल भएपछि अस्पताल पुगेका बयलपाटा अस्पतालकी स्टाफ नर्स पवित्रा बुढाले बताइन्।
बयलपाटा अस्पतालका अनुसार वैशाखमा अस्पतालमा आएका १८ मध्ये ११, जेठमा २५ मध्ये ७, असारमा १५ मध्ये ८ जनाले घरमै असुरक्षित गर्भपतन गर्दा स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुगेको संख्या हो।
आर्थिक वर्ष २०७७/७८ को ७ महिनामा मात्र १ सय ६६ मध्ये ४८ जना घरमा असुरक्षित गर्भपतनपछि अस्पताल पुगेको अस्पतालले जनाएको छ। स्टाफ नर्स पवित्राले ३ जना निकै जटिल अवस्थामा अस्पताल पुगेको बताइन्।
बयलपाटा अस्पतालका पूर्वस्वास्थ्य सेवा निर्देशक डा. विकास गौचनले पनि गाउँमै मेडिकलबाट औषधि सेवन गरेर राम्रोसँग गर्भपतन नुहँदा अन्तिम अवस्थामा मात्र महिला अस्पताल आउने गरेको बताए। ‘मेडिकलले गर्भपतन गराउने औषधि बिक्री गर्न पाइँदैन। त्यसमाथि औषधिले काम गर्ने भनेको ९ हप्ता सम्मको गर्भमा मात्र हो। उनीहरू अनुमानको भरमा औषधि दिन्छन्,’ गौचनले भने, ‘मेडिकलले सेवाभन्दा पैसा कमाउने सोचले औषधि बिक्री गरेको पाइन्छ।’ अस्पतालमा आएका महिलाहरू प्रायः दुर्गम गाउँका छन्। जहाँ सरकारले सुरक्षित गर्भपतन सेवाको पुहँच सहज रूपमा पुर्याउन नसकेको चिकित्सकहरू बताउँछन्।