सकसमा समाज

सकसमा समाज

केही महिनाअगाडि नेपालका केही युवा स्वतस्फूर्तरूपमा सडकमा निस्केर ‘एनफ इज एनफ’ भन्दै सरकारलाई आफ्नो कार्यशैली सुधार्न अपिल गरे। सरकारको सबभन्दा संवेदनशीलताको विषय भनेको नागरिक स्वास्थ्य भएकाले कोरोना महामारीका बेला भीड गर्न नहुने भन्दै जसले तर्क गरेको थियो, आज त्यही समूह एकपछि अर्को गर्दै भीड जम्मा गर्दैछन्। विज्ञहरू भन्छन्– नेपालमा पनि भित्रिसकेको न्युट्रेसन गरेको कोरोना पहिलेभन्दा खतरनाक छ।

आजको प्रविधियुक्त समयमा राजनीतिक कथा र भनाइ सुनाउन भीड जम्मा गर्न आवश्यक छ र ? मिडिया तथा प्रविधिका विभिन्न माध्यम प्रयोग गर्दा के बिग्रन्थ्यो ? सुन्न मन लाग्नेले सुन्थ्यो होला र अन्यलाई कुनै सास्ती बेहोर्नु पर्दैनथ्यो। नागरिकका स्वास्थ्यप्रति यतिसम्मको खेलबाड गर्नु राजनीति हो ? आजको एक्काईसौं शताब्दीमा पनि भीडका आधारमा शक्तिशाली भएको देखाउने कि विचार र कार्यका आधारमा ?

राज्य संरचना, तिनका कार्यशैली र उद्देश्य सबैको केन्द्रमा लाभान्वित पक्षका रूपमा सर्वसाधारण नागरिक र मुलुक हुनुपर्छ। त्यसैले विश्वका जुनसुकै लोकतान्त्रिक मुलुकमा बनाइएको संविधान र कानुन समयको मागअनुरूप परिमार्जित मात्रै होइन; परिवर्तनसमेत गरिने गरिन्छ किनकि नियम–कानुन नागरिकका लागि बनाइएका हुन् नकि नागरिक कानुनका लागि। लिखित संविधान नै नभएको मुलुकले समेत केन्द्रमा नागरिक र मुलुकलाई राखेर निर्देशित भएका हुन्छन्। अर्थात् कुनै पनि अवस्था र व्यवस्थाले सर्वसाधारण नागरिकलाई पीडा दिन्छ भने त्यसमा आवश्यक परिवर्तन अपरिहार्य हुन्छ, जसको अभिव्यक्ति नागरिकको भोगाइले निर्धारण गर्छ र सही नेतृत्वले त्यसको प्रतिनिधित्व गर्नुपर्छ।

विचार शक्तिशाली हुन्छन्। यसले समाजलाई दिशानिर्देश गर्दै विषयप्रति सजग बनाउँदै त्यसलाई छर्लंग बनाइदिन सक्छ भने विचारले नै समाजमा तुवालोसमेत लगाउन सक्छ। त्यसैले विचारको प्रस्तुति सजगताका साथ गरिनुपर्छ, अन्यथा कुनै व्यक्ति वा समूहको क्षणिक लाभको लोभले समाजले ठूलो क्षति बेहोर्न बाध्य हुन्छ। अहिले विभिन्न माध्यमले पस्किने विचारले समाजमा एक किसिमको तुवालो लगाइदिएको छ, जहाँ छरपस्ट रहेका दृश्यसमेत अस्पस्ट हुँदै गइरहेको छ। यति धेरै माध्यमबाट एकैचोटि पस्किने आआफ्ना उद्देश्यअनुरूपका यति धेरै विचारले सिर्जना गरेको तुवालोबाट समाज जोगाउन नागरिक समाजको भूमिका महŒवपूर्ण हुन्छ।

 मुलुकको समृद्धिमा युवा जनशक्ति, प्राकृतिक स्रोतसाधन र वास्तविक बौद्धिक व्यक्तित्वका क्षमता कहिले प्रयोग गर्ने ?

हरेक सर्वसाधारण नागरिकसँग ती ज्वारभाटा झैं आइरहेका विचारको स्रोत, उद्देश्य र वैधताको विश्लेषण गरी बुझ्न समय र परिस्थति हुँदैन। किनकि तिनका अन्य बाध्यकारी प्राथमिकता हुन्छन् दैनिकी चलाउन। त्यसैले नागरिक समाजका अगुवाले निश्पक्षरूपमा अवस्थालाई स्पस्ट बुझिने गरी विचार प्रस्तुत गरिदिनुपर्छ। तर दुःखका साथ भन्नुपर्छ– समाजसँग त्यस्तो भूमिकामा उत्रिने नागरिक समाज अत्यधिक कमजोर र जीर्ण अवस्थामा छ, जो विनासहारा स्वयं उठ्न र दरो रूपमा प्रस्तुत हुन् सकेको देखिन्न।

विभिन्न माध्यममा विचार पस्किँदै गरेका व्यक्तित्वको कुरा एकछिन सुन्दा वा पढ्दा तिनका आबद्धता, आस्था र विवशता स्पस्ट झल्किन्छ। विचार निर्माताका ज्ञानको स्रोत, बुझाइको परिधि अनि परिस्थितिको आकलन गर्ने क्षमता र प्रस्तुति शैलीले धेरै महŒव राख्छ। किनकि यसले समाजलाई सही दिशा पनि दिन सक्छ र द्वन्द्वको वीजारोपणसमेत गराउन सक्छ। वर्तमान परिस्थिति नियाल्ने हो भने समाजलाई चिराचिरा पार्दै द्वन्द्वको वीजारोपण गरिँदै छ।

अहिले समाजमा जुन सकसको निर्माण भएको छ; यसले एउटा सकारात्मक परिणाम ल्याइदिएको देखिन्छ। राजनीतिक नेतृत्व तहका कतिपय व्यक्तित्वको मुखौटा झरेकाले वास्तविक अनुहार देखिएको छ। त्यस्तैगरी राज्य संरचनामा रहेको कालो सिसा फुट्दा भित्रका दृश्य स्पष्ट देखिएको छ। यसले एक किसिमको सजगता निर्माणमा भूमिका खेल्न त सक्छ तर सँगसँगै ठूलो चुनौती के पनि छ भने सरकार इमानदारीपूर्वक नागरिकका अपेक्षा पूरा गर्न अगाडि बढ्न सक्ला ? कतै चुनावी घोषणापत्रकै अवस्था त नहोला ? साँठगाँठको राजनीतिक संस्कारमा हुर्केकाहरूको घेराबन्दीमा नपर्ला ?

विगतका अनुभूतिका आधारमा हेर्ने हो भने निर्धक्क रूपले विश्वास गर्न सक्ने आधार खासै भेटिँदैन तर भरोसा नगरी परिवर्तनको अनुभूति गर्ने विकल्प प्रस्ट छैन। वर्तमान परिदृश्यले एउटा कुरा स्पस्ट बुझाइदियो कि नागरिक तहको राजनीतिक बुझाइ अनि विश्लेषण गराइको क्षमतामा उचाइ थपिएको छ भने प्रायः राजनीतिक नेतृत्व तह अहिले पनि आफूलाई परिमार्जन गर्न नसकेका र केन्द्रीकृत मानसिकताबाट सञ्चालित छन्। व्यक्तिगत र सार्वजनिक जीवनबीच रहेका जिम्मेवारी र जवाफदेहिताबीचको फरकपना बुझ्न नसकेको अवस्था देखिन्छ। आआफ्नो विशिष्टता प्रमाणित गर्न कल, बल र छल भरपूर प्रयोग गर्दै एकअर्कालाई खुइल्याउन लागिपरेका छन्। तिनका शब्द, शैली र प्रस्तुतिले समाजमा कस्तो प्रभाव पार्दै छ भन्नेतर्फ कुनै चिन्ता र चासो भएको देखिँदैन। यसले गम्भीर संकेत गरेको छ कि नेपाली राजनीतिका मुख्य विषय के र को ? सर्वसाधारण नागरिकको स्थान कहाँ ? तिनका सरोकारका विषय कसका ? यस्ता परिस्थितिले उब्जाउने अवस्था भनेको अराजकता हो, जहाँ मुलुक कमजोर बन्छ र विभिन्न शक्तिले आआफ्नो स्वार्थअनुरूप प्रयोग गर्ने चल्मलाउने सम्भावना बढ्छ।

विशेषगरी राज्यको विषम परिस्थितिमा राज्यका संरचना र निकायले परिणाममुखी कार्यक्षमता प्रस्तुत गर्दै राज्यलाई सहयोग गर्नुपर्ने अपेक्षा गरिन्छ तर त्यसका लागि राज्यका ती संरचनामा क्षमतावान् व्यक्ति जिम्मेवारीका साथ सही ठाउँमा राखिएको छ। यदि होइन भने सरकारका समस्या सुल्झिनुको सट्टा बल्झिन्छ र अपेक्षित परिणाम दिन सक्दैन। फलस्वरूप समाजभित्र आक्रोश बढ्छ। यसले राज्य र समाजबीचको सम्बन्ध कमजोर बनाउन भूमिका खेल्छ। ती कमजोर सम्बन्धमाथि टेकेर अनेक अनुचित संरचना निर्माण हुन्छन्, जो दीर्घकालीन रोगका रूपमा स्थापित हुन्छ।

राजनीति भनेको सिर्फ गणितीय विषय होइन। यसमा भाव र भावना दुवै आवश्यक हुन्छ। समाज रूपान्तरणका लागि पदले भन्दा पनि प्रतिष्ठा र सामाजिक स्वीकार्यले महŒवपूर्ण भूमिका खेल्छ। बदलिँदो समयसँग परिवर्तित नागरिकका अपेक्षा बुझ्न जरुरी छ। जस्तो हिजोका दिनमा मञ्चमा उभिँदै जोरजोरले बोल्न सक्नेलाई नेता भनी मान्थे भने आज त्यो सोच परिवर्तित भइसकेको छ। त्यो बुझ्न आवश्यक छ। समाजका परिवर्तनसँगसंँगै हिँड्न सकिएन भने विश्वास बनाउन र जोगाउन गाह्रो पर्छ। यसले दीर्घकालीन असर समाजमा पार्छ।

आजको समयमा महŒवपूर्ण सम्पत्ति भनेको बौद्धिक सम्पत्तिलाई मानिन्छ। यसलाई निर्माण गर्न र जोगाउन राज्यको भूमिका महŒवपूर्ण हुन्छ। यस्ता विविध विषय छन्; जसमा घोत्लिन आवश्यक छ। जस्तोकि अहिलेको विषम अवस्थामा ज्ञान निर्माणमा समर्पित विश्वविद्यालयबाट अमूल्य ज्ञान र विचार आउनुपर्ने हो तर किन आउँदैन ? यसलाई बुझ्न राज्यका नीतिनिर्माण र कार्यशैली बुझ्न जरुरी हुन्छ; जसको प्रभावबाट अलग्याएर बुझ्न सकिन्न।

पटकपटकको आन्दोलन अनि उपलब्धिका रूपमा नयाँ संविधान भन्दै हामीसँग अहिले सातौं संविधान छ। बहुसंख्यक सर्वसाधारण नागरिकको अपेक्षा भनेको ससम्मान सहज दैनिकी र सुनिश्चित भविष्य हो। तिनलाई कुन कुर्सीमा को बसेको छ र अहिले कुनकुन नियम बन्दैछ भन्दा पनि समाजमा अनुभूति गर्न सक्ने विषय शान्ति, समृद्धि, सामाजिक न्याय, भ्रष्टाचार उन्मूलन अनि सहज दैनिकका प्रशस्त सफल उदाहरणले प्रभावित पार्छ, जसका लागि जिम्मेवार सम्पूर्ण सम्बन्धित निकायले ढिलाइ गर्नु हँुदैन। इमानदारीपूर्वक गतिका साथ लागिपर्नुको विकल्प छैन। किनकि समय फेरिएको छ। हरेक सूचना र जानकारीका लागि सम्बन्धित नेताकै भर पर्नुपर्ने अवस्था छैन। मुख्य विषय भनेको समाजलाई कति समयसम्म सकसमा राख्ने ? सर्वसाधारण नागरिकका विषय कहिले छलफलको प्राथमिकतामा पर्ने ? मुलुकको समृद्धिमा युवा जनशक्ति, प्राकृतिक स्रोतसाधन र वास्तविक बौद्धिक व्यक्तित्वका क्षमता कहिले प्रयोग गर्ने ? 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.