तालिबानी हमला बढ्दैगरेको अमेरिकी रिपोर्ट, बाइडेन सरकारले सम्झौता समीक्षा गर्ने
काबुल: अमेरिकी अध्ययनका अनुसार अफगानिस्तानमा पछिल्लो समय तालिबानी आक्रमण बढ्दै गरेको छ ।
अफगानिस्तान पुनर्निर्माणका लागि विशेष निरीक्षणको पछिल्लो रिपोर्टका अनुसार राजधानी काबुलमा सरकारी अधिकारी, नागरिक समाजका अगुवा र पत्रकारहरुलाई लक्षित गर्दै हत्याको क्रम बढेको छ ।
गत वर्षको फेब्रअरीमा अमेरिका र तालिबानबीच भएको शान्ति सम्झौतामा राष्ट्रपति जो बाइडेन प्रशासनले धारणा राख्नुअघि उक्त निकायले रिपोर्ट पेश गरेको हो। गत वर्षको फेब्रीअरीमा अमेरिका र तालिबानबीच भएको शान्ति सम्झौतामा हस्ताक्षर भइसकेपछि पनि तालिबानी हमला बढेको रिपोर्टमा जनाइएको छ ।
'काबुलमा दुश्मनहरुको हमलाको क्रम अघिल्लो तीन महिनाको तुलनामा बढी देखिएको छ,' अफगानिस्तानस्थित अमेरिकी सेनाले जनाएको छ । गत डिसेम्बरमा उनीहरुले श्रृंखलावद्ध आक्रमण गरेको बताइन्छ । जसमध्ये उत्तरी बघलान र दक्षिणी क्षेत्र उरुज्गान प्रान्तमा गरिएका हमला प्रमुख घटना थिए । जहाँ दुई दिनको अवधिमै १९ जना अफगान सुरक्षा फौजका सदस्य मारिएका थिए ।
गत वर्षको अक्टोबर १ देखि डिसेम्बर ३१ सम्म २ हजार ५ सय ८६ आम नागरिकहरु हताहत भएको रिपोर्टमा उल्लेख छ । यस्तै ८ सय १० जना मारिनुका साथै १ हजार ७ सय ७६ जना घाइते भए ।
२०२० को पहिलो तीन महिनाको अवधिमा अघिल्लो वर्षको सुरुको तीन महिनाको तुलनामा जारी हिंसाका बीच हताहत हुने क्रम १४ प्रतिशतका दरले बढेको बताइन्छ । अफगानिस्तानमा तालिबान सरकारलाई अपधस्थ गरेपछि २००१ को सेप्टेम्बरदेखि नै अफगान सरकारलाई प्रमुख रुपमा अमेरिकाको साथ रहँदैआएको छ ।
यसैबीच ह्वाइट हाउसका अनुसार जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले नयाँ प्रशासनले अमेरिका र तालिबानबीच भएको सम्झौताको समीक्षा गर्ने जानकारी दिएका छन् । पेन्टागनले भने अमेरिकाले यसअघि नै आफ्ना सबै सैनिक फिर्ता गर्ने प्रतिवद्धतामा उभिने जनाएको छ । तर सम्झौतामा तालिबानलाई अलकायदासँग सम्बन्ध तोड्न र हिंसा कम गर्न पनि भनिएको थियो ।
अमेरिकी सेनाले यसै महिनाको सुरुमा अफगानिस्तानमा आफ्नो सैन्य संख्या घटाउने आफ्नो लक्ष्य पूरा भएको जनाएको थियो । यद्यपि अफगानिस्तानमा २५ भन्दा धेरै संख्यामा अमेरिकी सैनिकहरु तैनाथ छन् ।