म्यानमारमा सेनाले किन सत्ता कब्जा गर्‍यो, के होला देशको भविष्य ?

म्यानमारमा सेनाले किन सत्ता कब्जा गर्‍यो, के होला देशको भविष्य ?

रंगुन: जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरेको म्यानमारको सेनाले उक्त वाचाको एक दशक पुग्दा नपुग्दै फेरि सत्ता आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको छ ।

सेनाले ५० वर्ष लामो शासनपछि २०११ मा नागरिकलाई हस्तान्तरण गरेको थियो । तर एक दशक नबित्दै फेरि सत्ता कब्जा गरेको छ । सेनाको यस कदमले म्यानमारमा थप अन्योल र अस्थरिता सिर्जना गर्ने आंकलन धेरैले गर्न थालेका छन् ।

पछिल्लो निर्वाचनमा नेत्री आन सान सूकीको पार्टी 'नेश्नल लीग फर डेमोक्रेसी' विजयी बनेपछि सेनाले धाँधली भएको भन्दै सत्ता नियन्त्रणमा लिएको हो । साथै सूकीसहित अरु थुप्रै नेताहरुलाई सेनाले पक्राउ गरिसकेको छ । र एक वर्षका लागि संकटकाल समेत घोषणा गरिसकेको छ ।

५ वर्षदेखि सूकी र उनको पूर्वप्रतिबन्धित पार्टी एनएलडीले २०१५ को निर्वाचनमा निर्वाचित भएपछि उक्त पार्टीको नेतृत्वमा देश सञ्चालन हुँदैआएको थियो । यही सोमबार बिहान उक्त पार्टीले आफ्नो दोस्रो कार्यकालको सुरुवात गर्ने अन्तिम तयारी गरिरहँदा सेनाले अचानक 'कू' गरेको हो । यससँगै सेनाको यस कदमको पछाडि के कारण थियो र म्यानमारको भविष्य कस्तो हुनेछ भन्ने चिन्ता झन् थपिएको छ ।

'चुनावमा धाँधली'

सेनाले सत्ता नियन्त्रणमा लिनुको कारण 'चुनावमा धाँधली' भएको एकोहोरो रटान लगाएको छ । तर अहिलेसम्म कुनै एउटा पनि प्रमाण जुटाउन सकिरहेको छैन । अमेरिकामा डोनल्ड ट्रम्पले चुनावमा धाँधली र षड्यन्त्र भएको भन्दै मुद्दा दायर गरे झैँ म्यानमारमा पनि सेनाले चुनावमा धाँधली भएको बारम्बार दावी गर्दैआएको छ । सोमबार बिहान संसदको पहिलो सेसन हुनुपर्ने थियो । तर सेनाले त्यस्तो हुन दिएन ।

नोभेम्बरमा भएको निर्वाचनमा सूकीको पार्टी एनएलडीले खसेको मतको ८० प्रतिशत मत प्राप्त गरेको थियो । रोहिंग्याहरुमाथि दमन गरेर लखेटेको गम्भीर आरोपका बावजुद सूकीको पार्टीले यति लोकप्रिय मत पाएको तथ्यलाई निकै रुचीका साथ हेरिएको पनि थियो ।

तर सैन्य समर्थन रहेको प्रतिपक्षी दलले तत्कालै चुनावमा धाँधली भएको आरोप लगायो । प्रतिपक्षी दलले विज्ञप्ति नै निकालेर चुनावमा धाँधली नै भएको आरोप लगाइरह्यो । तर निर्वाचन आयोगले यसबारे कुनै समाधान निकाल्न सकेन ।

मानवअधिकार सम्बन्धी संस्थाहरुले भने आन सान सूकीको विजयलाई निस्पक्ष नै मानेका छन् । र धाँधली भएको आरोपलाई निराधार भन्दै टिप्पणी गरेका छन् । 'निर्वाचनमा धाँधली भएको आरोप उठेको छ । यी सबै आरोप प्रमाण विनाका हुन् । हुनसक्छ यो आरोप पनि ट्रम्पको आरोप जस्तै हो,' एसियाका लागि ह्युमनराइट वाचका सहायक निर्देशक फील रोबर्टसनले बीबीसीका लागि बताएका छन् ।

स्थानीय मिडियाका अनुसार म्यानमारमा सेनाले जिताउन वा हराउन नसके पनि सरकार गठनका लागि निर्णायक भूमिका खेल्न सक्छ । अर्थात् उसको समर्थनविना सरकार चलाउनु कठिन मानिन्छ । यतिसम्म कि सरकार गठनमा नै सेनाले आफ्नो नियन्त्रण राख्ने गर्छ ।

यसपटक सरकार गठनमा सेनाको भूमिका खुम्चिएकाले पनि उसले यस्तो कदम उठाएको टिप्पणी हुने गरेको छ । म्यानमारमा ५० वर्ष शासन चलाएको सेनाले यहाँका हरेक राजनीतिक निर्णय प्रभावित पार्नसक्ने बताइन्छ । मिडिया र जनताको पनि नजरमा आन सान सूकी जतिसुकै लोकप्रिय भए पनि आन्तरिक शक्ति संघर्षमा सेनाले उनीभन्दा बढी नै प्रभावशाली ठान्ने गर्छ ।

कतिपय सन्दर्भमा सेनाले देशको शासन व्यवस्थामा आफ्नो 'दायित्व र अधिकार'को रुपमा समेत लिने गर्छ । जबसम्म पछिल्लो समय अन्तर्राष्ट्रिय व्यापारमा देश उदार बन्दैआएको थियो यसलाई सेनाले उचित रुपमा नलिएको विश्लेषकहरु बताउँछन् । यस्तै पछिल्लो समय विदेशी लगानी लगायत संरचनागत लाभ प्रत्यक्ष रुपमा सेनाले लिनसक्ने बताइन्छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.