अमेरिकी नेत्री स्टेसी नोबेल शान्ति पुरस्कार मनोनयनको सूचीमा
वासिंटन: अमेरिकी मतदान अधिकार अभियन्ता तथा डेमोक्रेटिक पार्टीकी नेत्री स्टेसी अब्राम्स यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेकी छन् ।
मतपेटिकामार्फत अहिंसात्मक परिवर्तनको कामलाई बढावा दिएको कामका लागि उनी मनोनयनमा परेकी हुन् । अब्राम्सले गत वर्षको अमेरिकी चुनावको क्रममा मतदानका लागि अल्पसंख्यक तथा सिमान्तकृत समुदायलाई सचेतना फैलाउने काममा सक्रिय थिइन् । अमेरिकामा प्रभावशाली व्यक्तित्व बनाएकी नेत्री स्टेसी विशेषगरी अल्पसंख्यक तथा सिमान्तकृत समुदायमाझ लोकप्रिय छिन् ।
डेमोक्रेटिकका उम्मेदवार जो बाइडेनलाई राष्ट्रपति पदमा जिताउन पनि उनको महत्वपूर्ण भूमिका रहेको मानिन्छ । नागरिक अधिकार तथा समानताको लडाइँमा लागेकी अब्राम्स स्वतन्त्रतावादी नेता मार्टिन लुथर किङलाई आदर्श समेत मान्ने गरेकी छन् ।
१९६० को नागरिक अधिकार आन्दोलनका नेता किङले १९६४ मा नोबेल शान्ति पुरस्कार जितेका थिए । यस पटक नोबेल शान्ति पुरस्कार मनोनयन सूचीमा जलवायु अभियन्ता ग्रेटा थन्बर्ग, विश्व स्वास्थ्य संगठन लगायतको नाम सूचीकृत छ । अमेरिकी विधायिका बारबरा ली, विकीलिक्स लगायत पनि मनोनयनमा परेका छन् । २०२१ को नोबेल शान्ति पुरस्कार अक्टोबरमा मात्रै घोषणा हुनेछ ।