ढल्केबर सबस्टेसन सञ्चालन

ढल्केबर सबस्टेसन सञ्चालन

सुनिता कार्की/काठमाडौं, गोबिन्द महतो/जनकपुरधाम   

प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै सबैभन्दा ठूलो र पहिलो ४०० केभी क्षमताको ढल्केबर सबस्टेसन सोमबारदेखि सञ्चालनमा ल्याएका छन्। प्रधानमन्त्री ओलीले सोमबार उद्घाटन गरेपछि औपचारिक रुपमा उक्त सवस्टेसन सञ्चालनमा आएको हो।

धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरमा निर्माण भएको उक्त सबस्टेसनको गत कात्तिक २६ गते चार्ज गरिएको थियो। नेपालमा विद्युत् उत्पादनको एक शताब्दीपछि पहिलोपटक ४०० केभी सबस्टेसन निर्माण सम्पन्न भएर ढल्केवर–मुजफ्फरपुर लाइन सञ्चालन भएको हो। 

१३ बिघा १४ कठ्ठा जमिनमा फैलिएको ४००/२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो स्वचालित सबस्टेसन हो। यसमा सरकार र विद्युत् प्राधिकरणको करिब २ अर्ब २० करोड रुपैयाँ लगानी छ। 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेश शाक्यका अनुसार मुलुकभित्र पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ग्यास इन्सुलेटेड सबस्टेसन (जीआईएस) प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै ठूलो विद्युत् हब बनेको छ। ४००/२२० केभी ढल्केबर सबस्टेसनमा ३ सय १५ एमभीए क्षमताका ३ वटा गरी ९ सय ४५ एमभीए क्षमताका पावर ट्रान्सफर्मर छन्। यसले करिब ९ सय मेगावाट विद्युत् प्रसारण गर्न सक्छ। यस्तै २२०/१३२ केभी सबस्टेसनमा तीन वटा ट्रान्सफर्मर क्षमता ६ सय ३५ एमभीए छ भने अर्को ३ सय १५ एमभीए जडान भइरहेको छ। 

सबस्टेसन सञ्चालनमा आएसँगै नेपाल र भारतबीचको ढल्केबर–मुजफ्फपुर पहिलो ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत दुई मुलुकबीच करिब १ हजार मेगावाटसम्म विद्युत् आदान–प्रदान गर्न सकिनेछ। हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण सकिएपछि करिब दुई/दुई सय मेगावाट विद्युत् ढल्केबर सबस्टेसनबाट हेटौडा र इनरुवातर्फ पठाउन सकिने शाक्यले जानकारी दिए। 

दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसम्म ल्याएर खपतका लागि पूर्व–पश्चिम पठाउन सकिनेछ। 

हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न नभएसम्म अहिले रहेको १३२ केभी प्रसारण लाइनमार्फत करिब तीन सय मेगावाट विद्युत् पूर्व–पश्चिम पठाउन सकिनेछ। 

आन्तरिक खपत गरेर बढी भएको विद्युत्लाई सबस्टेसनमार्फत भारत निर्यात गर्न सकिनेछ। जीआईएस प्रविधियुक्त स्वचालित अत्याधुनिक सबस्टेसनलाई भविश्यमा थप विस्तार गर्दै जान मिल्ने गरी बनाइएको छ। भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट नेपालले पाउने निःशुल्क ऊर्जा पनि यही ढल्केबर सबस्टेसनमा प्राप्त हुनेछ। 

चार सय केभी सबस्टेसन निर्माणका लागि २२ माघ २०७४ मा ठेक्का सम्झौता भएको थियो। कहिले तराईको डुबान कहिले शीतलहर त कहिले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को कहरले सबस्टेसनको निर्माण कार्य प्रभावित बनेको थियो। आयोजनाको परामर्शदाताको काम नेपाली कम्पनी एनईए इन्जिनियिरिङले गरेको थियो। 

नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत २२०/१३२ केभी क्षमताको सबस्टेसनको निर्माण भएको हो। उत्पादित विद्युत्को आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवद्र्धनका लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीको विस्तार तथा सदृढीकरण गरिएको हो। 

प्रधानमन्त्री ओलीले धनुषाको ढल्केबरमा सरकारको लागानीमा देशकै ४ सय केभीको सबस्टेसन उद्घाटनका क्रममा देशको समृद्धिको लागि लागिरहेको बताए। ढल्केबरबाट जनकपुरधामसम्म पुग्न अढाई घण्टा आफैले खर्चिनु परेको उनले बताएका थिए। अहिले बाटो राम्रो भएको दाबी गरे। 

सुनकोशी डाइभर्सनबाट २८ मेगावाट विद्युत् उत्पादन र तराईको सिँचाइका साथै कृषि क्षेत्रको उत्पादनमा असाधारण मद्दतका लागि लागिरहेको बताए। ‘कृषि आधुनिकीकरणअन्तर्गत वनलाई वागवाणी बनाउनुस्, जहाँ पुतली उडोस् मगमग वातावरण होस् त्यस्तो वातावरण बनाउनुस्।’ पूर्व–पश्चिम रेल छिट्टै चलाउने दाबी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तपाईहरू हेर्दै जानुस् अर्को दिन यहाँ रेल चलाउन आउँछौं।’   

प्रचण्ड–माधव समूहतर्फ इंगित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘पार्टीमा उपद्रो गरिरहेका थिए, टेलिभिजनमा उफ्रियो, सरकारलाई गाली गर्‍यो, यसरी चल्छ पार्टी ?’ पशुपतिमा १ सय ५१ किलोको सुनको जलप हालिदिन्छु भने परम्परा बिग्रियो भनेर केही पत्रकार र मिडियाले लेखे। उनले भने, ‘किसानको छोरो तपाईहरू किन पत्रकारिता गर्नुभो, प्रोफेसर किन बन्नुभो, किसानको छोरा किसान भए भैहाल्थ्यो नि, अनि पो परम्परा बाच्थ्यो। मेरो बुवा प्रधानमन्त्री त थिएनन् तर म प्रधानमन्त्री भएँ, नयाँ कामको लागि पुरानो परम्परा भत्काउनुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.