म्यानमारमा सैन्य सरकारविरुद्ध नागरिक अवज्ञा: डाक्टरहरुले राजीनामा दिन थाले
रंगुन: म्यानमारमा हालै सत्ता कब्जा गरेको सेनाको कदमविरुद्ध नागरिक अवज्ञा सुरु भएको छ ।
यस अन्तर्गत सरकारी चिकित्सकहरुले सैन्य सरकारको विरोध गर्दै राजीनामा दिन थालेका छन् । केही चिकित्सकहरुले राजीनामा दिइसकेका छन् भने अरु चिकित्सकहरुले पनि राजीनामा दिने बताएका छन् ।
कोभिड १९ को महामारीका बेला चिकित्सकहरुबाटै धमाधम राजीनामा घोषणा हुँदा सैन्य सरकारलाई दबाब सिर्जना भएको बताइएको छ । यस्तो अवज्ञाले सेनालाई चुनौती थपिएको टिप्पणी पनि हुन थालेको छ ।
यसअघि नै पक्राउ परेकी नेत्री आन सान सूकीले सैनिक सरकारको विरोध गर्न आह्वान गरेकी थिइन् । म्यानमारमा गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै सरकार गठन हुनुअघि नै सेनाले यही सोमबार बिहान 'कू' गरेको छ ।
५० वर्षसम्म शासन चलाएर २०११ मा यहाँको सेनाले शासन व्यवस्था नागरिकमा हस्तान्तरण गरेको जनाएको थियो । तर त्यसको १० वर्ष पुग्दा नपुग्दै फेरि शासन हत्याउँदै एक वर्षका लागि संकटकाल समेत घोषणा गरेको छ । म्यानमारमा सेनाको यस्तो कदमको विदेशबाट समेत चौतर्फी विरोध र आलोचना हुन थालेको छ ।