अफगानिस्तानमा फेरि विस्फोट: तीन मारिए, सात घाइते
काबुल: अफगानिस्तानमा श्रृंखलावद्ध बम विस्फोटमा तीन जना मारिनुका साथै सात जना घाइते ऐएका छन् ।
पश्चिमा देशहरुले तालिबान समूहलाई हिंसा अन्त्य गर्न आग्रह गरेको केही घण्टामै मंगलबार विस्फोट भएको हो । यद्यपि तालिबान समूहले यस विस्फोटको जिम्मेवारी लिएको छैन ।
छुट्टाछुट्टै दुई स्थानमा भएका विस्फोटमा तीन जनाको मृत्यु भएको हो । यद्यपि पछिल्लो समय तालिबान समूहले विस्फोटको क्रम बढाएको समीक्षा हुँदैआएको छ । अमेरिकाले मात्रै हालै सार्वजनिक गरेको एक रिपोर्टमा तालिबानले आक्रमण तिब्र बनाएको उल्लेख छ ।
अमेरिका र नाटोले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने योजना समीक्षा गरेको छ । यूरोपियन यूनियन, नाटो र अन्य पश्चिमा देशहरुका दूतावासले आइतबार मात्रै अधिकांश हिंसात्मक घटनाको जिम्मेवारी तालिबानले लिएको जनाएका थिए ।
तालिबान र अफगान सरकारबीच वार्ता पछिल्लो समय ठप्प छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सम्झौताको समीक्षा गर्दै आगामी मे महिनासम्म सैनिक फिर्ता गर्ने बताएका छन् ।
नाटोका १० हजार फौज भने मे महिनापछि पनि अफगानिस्तानमै रहने योजना बनाएको बताइन्छ । तर १४ महिनापछि नाटो र अमेरिकी फौजले अफगानिस्तान छाड्नैपर्ने शर्त छ ।