प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक आन्दोलन : इतिहासदेखि नै प्रतिगमन
काठमाडौं : इतिहास झेली छ। इतिहास आफैंमा विभेदकारी छ। इतिहासदेखि नै प्रतिगमन भएको छ। जबसम्म सत्ता र शक्तिसँग तिनीहरूको आफ्नै इतिहास लेखिदिने इतिहासकारहरू हुनेछन् तबसम्म पीडितहरूको हैन, पीडकको इतिहास लेखिनेछ।
यो देशको इतिहासमा जनजातीको इतिहास लेखिएन, राममाया च्यामीनी जस्ता दलितहरूको इतिहास लेखिएन, मधेसको इतिहास लेखिएन। यसैले हामीले पढ्दै आएको इतिहास नै अपुरो छ। इतिहास लेखनमै प्रतिगमन छ।
सामाजिक अभियान्ता तथा प्राध्यापक सन्तोष शाहले हामीले पढ्ने गरेको इतिहासमा नै प्रतिगमन भएको बताउँदै इतिहास पुर्नलेखन र पुर्नभाषित गर्नुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन सुरु गरेको भन्दै निरन्तर शान्तिपूर्ण आन्दोलनमा उत्रिएको नागरिक समूहले मंगलबार शोभाभगवती परिसरमा विरोध कार्यक्रम गरेको छ। सहिद सप्ताहको अवसर पारेर बृहत नागरिक आन्दोलन समूहले राणाशासन अन्त्यको लागि जीवन आहुति दिएका सहिदको सम्झनार्मा विभिन्न कार्यक्रम गर्दै आएको छ।
सहिद गङालाल श्रेष्ठ र दशरथ चन्द ठकुरीलाई विसं १९९७ सालमा गोली हानेर मृत्युदण्ड दिइएको स्थान शोभाभगवतीमा परिसरमा मंगलबार विरोध कार्यक्रम गरिएको थियो।
गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिक भएको स्थान परिसरमा सम्वोधन गर्दैै लेखक राजेन्द्र मर्हजन भन्छन्, ‘शासकको विरोध गर्दा काटिने ठाउँ हो यो। शासकको अत्याचारको विषयमा बोल्दा, विद्रोह गर्दा सजाय दिने ठाउँ हो यो।’
यसकै आसपासमा रहेको होचाखुसि नामक नदीको स्मरण गर्दै उनले अन्तरजातीय प्रेम गर्ने जोडीहरूलाई प्रेम गरेबापत सजाय दिएर मार्ने र नदीमा बगाइदिने गरेको इतिहास सम्झाएका थिए।
‘प्रतिरोधको चरम दमन गर्ने ठाउँ हो यो’, उनले भने। कार्यक्रममा अर्जुनदेव जोशी, कैलाश राई, नारायण वाग्ले, सन्तोष परियार लगायतले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले तानासाह लादेको र यसको शशक्त प्रतिरोध गर्नुपर्नेमा जोड दिएका थिए।
सत्तामा बस्नेहरूमा सधैभरी प्रतिगमनको गन्ध आउने बताउँदै यसको अन्त्यको लागि तेस्रो नागरिक आन्दोलन सुरु भइरसकेको बताएका छन्।
कार्यक्रममा विभिन्न भाषाका गीत, कविता पनि प्रदर्शन भए। गायक प्रदीप देवानले पनि गीत गाउँदै प्रतिगमनको विरोध गरे। यसको साथै शिल्पी थिएटरका कलाकारहरूले कलात्मक नाटक मञ्चन गरेका थिए। सेता लुगा लगाएका एक हुल युवतीहरू मञ्चमा नारा लागउदै उक्लिएका थिए। उनीहरू भन्दै थिए ...‘अत्याचार बढ्यो बढ्यो बढ्यो तानासाही शासकको। ढाल्नुछ सत्ता अब तानाशाही शासकको।’
हात बाँधिएका र आँखामा कालो पट्टि लगाएका गङालाल श्रेष्ठ र दशरथ चन्दलाई मञ्चमा उपस्थित गराइएको थियो। शासक नरशमसेरले उनीहरूलाई पानी खान पनि नदिनको लागि उर्दि जारी गरिएको थियो। एक आपसमा बोल्न पनि नमिल्ने गरी कोचेर राख्ने आदेश गर्दै नरसमसेरले उनीहरूलाई देशद्रोहीको उपमा दिएको थियो। बहुत कारुणीक इतिहासलाई कलाकारको अभिनयले न्याय गरेको थियो।
कलाकारहरूले दशरथ चन्द र धर्मभक्तको भूमिकामा अभिनय गरेका थिए। देशका लागि ज्यान दिने वीरले छातीमा गोली थापेर मर्न तयार भएका दृष्यले उपस्थितहरू पनि स्तब्ध बनेका थिए। नाटक हेर्दै गर्दा यस्तो लाग्थो ‘दशरथ र गङालालको शालिक अगाडि बसेर अर्को तानाशाह शासक सत्ताको विरोध गर्ने युवालाई गोली हानिरहेछ। राज्यद्रोहको नाममा अर्को राणाशासन लादिरहेछ।’