एमाजोनको प्रमुख कार्यकारीबाट जेफ बेजोसले राजिनामा दिने
वासिङटन : एमाजोनका संस्थापक जेफ बेजोसले प्रमुख कार्यकारी (सीईओ) पद छाड्ने बताएका छन् । उनले अन्य व्यापारमा केन्द्रित हुन पद छाड्ने बताएका हुन् ।
बेजोसपछि एन्डी ज्यासी एमाजोनको नयाँ सीईओ बन्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ज्यासीले अहिले एमाजोन क्लाउडको नेतृत्व गरिरहेका छन् । उनले २०२१ को अन्त्यतिर पद सम्हाल्ने कम्पनीले बताएको छ ।
‘एमाजोनको सीईओ हुनु गहन जिम्मेवारी हो’, मंगलबार कर्मचारीलाई पत्र लेख्दै बेजोसे भनेका छन्, ‘जब त्यस्तो जिम्मेवारी हुन्छ, तब अन्य कुनै पनि कुरामा ध्यान दिन गाह्रो हुन्छ ।’
उनले सीईओ पद छोडे पनि एमाजोन नछाड्ने बताएका छन् । आफू कम्पनीको कार्यकारी अध्यक्ष भई एमाजोनको महत्वपूर्ण कार्यमा सहभागी रहिरहने बताएका छन् ।