‘द फेस’मा २६ भिड्दै
काठमाडौं : व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको ‘द फेस’ नामक मोडलिङ प्रतियोगितामा २६ जना युवकयुवती अन्तिम प्रतिस्पर्धामा भिड्दै छन्। उनीहरू केही समयको प्रशिक्षणपछि शनिबार आयोजना हुने अन्तिम प्रतिस्पर्धामा उत्रन लागेका हुन्।
ललितपुरको झम्सिखेलस्थित द अर्बन हबमा ‘टी एफ द फेस’ प्रतिस्पर्धाको ग्रान्ड फिनाले हुन लागेको हो। विभिन्न फेसन इन्स्टिच्युट र बुटिकले तयार पारेका पहिरनमा यी मोडलले र्याम्पमा क्याटवाक गर्नेछन्।
अन्तिम प्रतिस्पर्धामा उत्रन लागेका प्रतियोगीमा सुर्जिना श्रेष्ठ, हेमन जोशी, सोफिया भण्डारी, क्रान्ति चन्द, निश्चल दत्त, सारिका कटवाल, नीना बुढाथोकी, अभिषेक गिरी, क्रिस्टिना अधिकारी, कृति हमाल, अनोज विश्व, अञ्जना बराइली, सन्ध्या तामाङ, नारायण प्याकुरेल, अस्मिता बराल छन्।
यस्तै सुशील चौधरी, बीना महर्जन, निर्माला धिमाल, युद्ध बानियाँ, रोजिना माझी, प्रश्ना सिंह ठकुरी, नाजरुल मियाँ, कृपा अधिकारी, ब्रबिम श्रेष्ठ, स्वीकृति प्याकुरेल र शीतल श्रेष्ठ प्रतियोगितामा सामेल हुँदै छन्। उनीहरूलाई मोडल तथा कोरियोग्राफर सृजना रेग्मीले प्रशिक्षण दिइरहेकी छन्। यु क्यान फ्लाईले यो प्रतियोगिता आयोजना गरिरहेको छ।
कार्यक्रम संयोजक समीक्षा हुमागाईंका अनुसार विजेताले विभिन्न उत्पादनमा मोडलिङ, र्याम्प सोसहित धेरै अवसर प्राप्त गर्नेछन्।
प्रतियोगिताका सहभागीले फिजिक राउन्डअन्तर्गत फरेनहाइट क्लबमा शारीरिक सुगठन प्रस्तुत गरेका छन्। यसमा उत्कृष्ट तीन बेस्ट फिजिक पुरुष र उत्कृष्ट तीन बेस्ट फिजिक महिला मोडल चयन गरिएको छ। पुरुषतर्फ बेस्ट फिजिक चयन भएकामा युद्ध बानियाँ, आशिष गिरी र हेमन जोशी छन्।
यस्तै महिला मोडलतर्फ उत्कृष्ट तीन फिजिकमा कृपा अधिकारी, स्वीकृति प्याकुरेल र क्रान्ति चन्द छन्। यी तीनमध्येबाट उत्कृष्ट पुरुष र महिला फिजिक चयन ग्रान्ड फिनालेमा गरिने आयोजकले जनाएको छ।