सडक कसैको पेवा होइन

सडक कसैको पेवा होइन

सुनिथ्यो– दक्षिण एसियाली मुलुक बंगलादेशको राजधानी ढाकामा बढ्दो ट्राफिक अव्यवस्थाका कारण त्यहाँका थुप्रै स्थानीयले आफ्नो घरमा रहेका सवारीसाधन थन्क्याएर पैदल यात्रा गर्न थाले। समय बचतको हिसाबले सवारी साधन चढ्नुभन्दा पैदलै हिँड्नु किफायती भएपछि त्यहाँका स्थानीय एक्काइसौं शताब्दी छाडेर फेरि अठारौं शताब्दीतर्फ तानिन बाध्य भएका हुन्। हाल यही नियति हाम्रो सन्दर्भमा पनि लागू हुन थालेको छ। यस अर्थमा कि भानुभक्तले भोगेको अमरावती कान्तिपुरीको कथाव्यथा अझै सघन बन्दै गएको छ। भानुभक्तकै शब्दमा सिट २० भए भीड सौ तकको हिसाबमा त चलेकै छ त्यसमाथि सामाजिक अपचलन र मानव जातिमा फस्टाएको बेथितिले मानवीय मर्यादा झन्झन् धरापमा पर्दै गएको छ।

नवक्रान्तिका नाममा एउटा मट्टीतेल वा पेट्रोल हालेर बेरेको पुल्ठो, इँटाको टुक्रो बोकेर तथानाम नारा–जुलुस गर्दै हिँडेपछि इतिहासका महानायक अलेक्जेन्डरजस्ताको साहस पनि पछाडि पर्ने खालका गतिविधिले एउटा साम्राज्य खडा गराएको छ। परिवर्तन मानसिकतामा नभई परपीडामा फस्टाएको छ। अरूले दुःख पाउँदाको क्षणलाई उपलब्धि सम्झने नौलो सभ्यताको विकासमा आज एक समुदाय रमाइरहेको सहजै अनुमान गर्न सकिन्छ। लहडीमा बोकिएको एउटा इँटाको टुक्रा ठूलो कि रगत–पसिना गरी आफ्नो कमाइबाट किनेको सवारी साधन ? हामीलाई यो प्रश्नको सहज उत्तर पाउन कठिन छ।

घोचा, मुंग्रा, भाला अनि सडकमा टायर बाल्ने, नाराजुलुस गर्ने खेलमा जुन पार्टीका खेलाडी माहिर ठहर्छन्; विडम्बना तिनै दल वा व्यक्ति क्रान्तिको परिचायक ठहर्ने मान्यता स्थापित भएको छ। सानो स्वरमा बोल्नेले संसारको जतिसुकै सत्य कुरा बोलोस् न, त्यसको सुनुवाइ हुने ठाउँ कसैलाई थाहा छैन। लोकतन्त्रलाई थितिको शासन भनेर घोक्नेहरू आज आफ्नै घोकाइप्रति त्रसित छन्। समाजलाई स्थिर, अनुशासित र उत्तरदायी बनाउनुको सट्टा सधैं आन्दोलित र आम सर्वसाधारणलाई भयग्रस्त बनाउने अभ्यासमा राजनीतिकर्मीको शक्ति क्षीण भइरहेको छ। जनताका नाममा जनताकै भावनामाथि कुठाराघात गर्नु दैनिकी बनेको छ।

हरेक घटनाको वैचारिक र बौद्धिक रूपमा समाधान गर्न सकिने बाटो हुँदाहुँदै ती घटनालाई असामान्य बनाएर सडकमा ल्याई त्यसपछिको दुष्परिणामलाई राजनीतिक लेप लगाउने अभ्यासले राजनीतिप्रति हामीजस्ता नयाँ पुस्तामा पलाएको सकारात्मक सोच फेरि ओरालिन थालेको छ।

पहिला राजाका सवारीका नाममा सडक शून्य बनाउने तामझामको नाटकले बोर्डर क्षेत्रसमेत प्रभावित हुन्थो रे ! आज यिनै दलका नाममा दोहोरिइरहेको त्यही प्रक्रिया कदापि क्षम्य हुँदैन। जसले इतिहासबाट शिक्षा लिँदैन; तिनीहरूको भविष्य पनि टिकाउ हुँदैन। बिरालो जुन रङको भए पनि मुसै खाने हो भन्ने उक्ति दोहोर्‍याउने हो भने आन्दोलन र क्रान्तिबारे लामालामा बहस किन गरिरहनुपर्‍यो र ? तत्कालीन माओवादी जनयद्धका नाममा हजारौं नेपाली जनता मारिए। यो प्रत्यक्ष देखिने तथ्यांक हो तर यससँगै जोडिएको तर पर्दा नखुलेको सत्य के छ भने बाँच्ने साहरा रूपमा रहेको आफ्ना अभिभावक गुमेको पीडा सहन नसकी आत्महत्या गर्नेको संख्या त्यो बीचमा हजारौं नै थिए। यो क्षतिको नैतिक जिमेवारीचाहिँ कसले लिन्छ ?

हो, सास रित्तिएर मर्नेभन्दा पनि यहाँ पटकपटक जीवितै मार्ने काम भइरहेको छ। हरेक घटनाको वैचारिक र बौद्धिक रूपमा समाधान गर्न सकिने बाटो हुँदाहुँदै ती घटनालाई असामान्य बनाएर सडकमा ल्याई त्यसपछिको दुष्परिणामलाई राजनीतिक लेप लगाउने अभ्यासले राजनीतिप्रति हामीजस्ता नयाँ पुस्तामा पलाएको सकारात्मक सोच फेरि ओरालिन थालेको छ। सडकमै डाक्ने नारा–जुलुस, तोडफोड र अमानवीय पीडालाई राजनीति भनिदिँदा निहत्या र पुज्य राजनीतिको साख अपमानित हुँदै गएको छ। एकतर्फी कुरा सुनाउने मात्र होइन, सुन्ने साहस पनि गर्नुपर्छ। जनताको आवाज भनेको आफ्नो आत्माको आवाज पनि हो।

आखिर यिनै जनता हुन्; जसले राजा ज्ञानेन्द्रको सवारीमा अबिर जात्रा गरेनन् कि ? कोसौंकोस हिँडेर राजालाई स्वस्ति शान्ति गरेनन् कि ? खोइ त्यसो गर्दैमा सम्पूर्ण जनता राजाका भए त ? अहँ भएनन्। जनताले व्यवस्था हैन, परिवर्तन चाहेका छन्। पार्टीका नाममा चल्ने सबै नैतिक, अनैतिक तिकडम जनताको भावना होइन; जनताले दिएको शक्तिलाई फेरि जनतामाथि नै प्रयोग गर्ने भस्मासुुर शैली यसरी नै बढ्यो भने नयाँ जामा लगाइदिएको भ्रममा पारेर बीरवलले राजा अकबरलाई नंग्याइदिएको कथा सत्यमा रूपान्तरित हुन बेर लाग्दैन।

एउटा क्षणिक, निहित उद्देश्य राखेर आन्दोलनका नाममा सडक बन्द गर्दा एम्बुलेन्सभित्र तड्पिएका बिरामीको जीवन धरापमा पर्छ ? परीक्षा दिन हिँडेका कति विद्यार्थीको भाग्यमा बञ्चरो आइपर्छ ? कति पुरुष जिन्दगीको दोसाँधमा रहेकी आफ्ना धर्मपत्नी प्रसव पीडामा रहँदा सान्त्वनाका दुई शब्द दिनबाट बञ्चित हुन्छन् ? तराजु र कमानी बोकेर घन्टौंपिच्छेको हिसाबकिताब राखेर बसेको साहुकहाँ मजदुरी गर्न हिँडेका बाटोमा अलपत्र पर्दा आफू र बेलुका त बाबाले खाना ल्याउँछन् भनी कुरिरहेको परिवार मुखको माडबाट वञ्चित हुन्छन्। यसको क्षतिपूर्ति बेहोर्ने तागत कोहीसँग छ ? लेखाजोखा गर्ने कुनै संयन्त्र छ ? एउटा धोबीले शंका गर्नासाथ धर्मपत्नी त्याग्न तयार हुने रामराज्यको कथासँग भिजेको नेपाली राजनीतिमा यस्तो बेथिति किन बाँचेको होला ? धोबीले शंका गर्दा धर्मपत्नी त्याग्ने रामको निर्णय शंकालु ठहर्ला तर एउटा निरीह धोबीले एउटा देशको राजालाई औंला ठड्याउन पाएको अवसर र त्यसको सुनुवाइले लोकतन्त्र कति जनमुखी रहेछ भन्ने प्रमाणित हुन्छ।
-जोशी एपीवान टेलिभिजनका सिनियर समाचार वाचक हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.