किशोरी मृत्यु प्रकरण : तालिम प्राप्त कुकुरसहित प्रहरी र सीआइबीको टोली बैतडीमा

किशोरी मृत्यु प्रकरण : तालिम प्राप्त कुकुरसहित प्रहरी र सीआइबीको टोली बैतडीमा

धनगढी : बैतडीको दोगदाकेदार गाउँपालिकामा १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको छ । दोगडाकेदार गाउपालिका-७ चडेपानी (कतोला) घर भई गाउँपालिकाको भवन नजिकै रहेको सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत किशोरी भागरथी भट्टको विद्यालयत्रबाट घर फर्किने बेला बाटोमा पर्ने जंगलमा बलात्कारपछि हत्या भएको हो ।

बुधबार बिहान घरबाट विद्यालय गएकी भागरथी बेलुकी पनि नफर्केपछि आफन्तले खोजी गर्दा बिहीबार बेलुकी मात्रै घरभन्दा ३ किलोमिटरको दुरीमा रहेको लबलेक सामुदायीक बनमा उनको विभत्स हत्या गरिएको शव फेला परेको थियो । 

उनको शव ईलाका प्रहरी कार्यालय खोचलेक र विद्यालय देखि झण्डै दुई किलोमिटरको दुरीमा घाँटी निमुठिएको, हातमा घारिलो हतियार प्रयोग भएको र बलात्कार गरी आधा शरीर निवस्त्र पारिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

कञ्चनपुरकी निर्मला पन्तको जस्तै निर्मम र विभत्स तरिकाले हत्या भएको थाहा पाएपछि बिहीबार राती नै बैतडीका प्रहरी प्रमुख डिएसपी नारायण प्रसाद अधिकारी घटनास्थल पुगेका थिए । घटनास्थल, जिल्ला सदरमुकाम गोठलापानीबाट मोटरमा झण्डै डेढ घण्टामा पुगिन्छ ।

किशोरीको हत्या भएको थाहा पाएपछि, बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, सरकारी वकिल, जिल्ला अस्पतालका चिकित्सक, सशस्त्र प्रहरीको टोली पनि शुक्रबार विहान घटनास्थल पुगेका छन् । प्रमुख जिल्ला अधिकारी जोशीले किशोरीको बलात्कार पछि हत्या भएको अनुमान गरिएको बताए ।

'फरेन्सिक टीम बोलाइएको छ, शवलाई घटना मुचुल्का गरी जिल्ला अस्पताल लगिएको छ, त्यहाँ चिकित्सहरुको टोलीले पोस्टमार्टम गरेपछि मात्रै विस्तृतमा भन्न सकिन्छ,' प्रमुख जिल्ला अधिकारी जोशीले भने ।

प्रमुख जिल्ला अधिकारी जोशीले, किशोरीको बलात्कारपछि हत्यामा संलग्न छिट्टै पत्ता लाग्ने र उनीहरुलाई कानुनी दायरामा ल्याउने बताए । प्रहरीले घटनास्थलमा ब्याट्री झिकेर फालिएको अवस्थामा मोबाइल फेला पारेको छ । मोबाइलका सूचना केलाउने कार्य पनि प्रहरीले गरिरहेको छ ।

किशोरीको बलात्कारपछि हत्या भएको खबर पाएपछि, प्रदेश सरकारको तर्फबाट संघीय प्रहरी कार्यालय धनगढीका एसएसपी जनक पाण्डेसहितको टोली घटनास्थल गएको छ । धनगढीबाट तालिम प्राप्त कुकुर पनि घटनास्थल लगिएका छन् । 

खोचलेक-चडेपानी कच्ची सडकको लवलेक (स्थानीय भाषमा लडालेक)को विच जंगलमा सडक आसपासमा बलात्कार गरेपछि, घिसारेर सडकदेखि ५०/६० मिटर तल झाडिमा शव फालिएको फेला परेको मृतक बालिकाका दाइ नाता पर्ने स्थानीय शिवराज भट्टले बताए ।

मृतक किशोरीका बुवाको एक महिना अघि धनगढीमा उपचारका क्रममा मृत्यु भएको थियो । किरियामा रहेका उनका दाइ केही दिनअघि मात्रै किरिया सकेर भारततिर लागेका थिए । 'घरमा एक्लै आमा भएको भन्दै अभिभावकबिहीन भएको मौका छोपेर बलात्कार भएको हुनसक्छ,' आफन्त शिवराज भट्टले भने ।

सो क्षेत्रका प्रदेशसभा सदस्य लिलाधर भट्टले हत्यामा संलग्न जो कसैलाई पनि कानुनी दायरामा ल्याउन माग गरे । प्रदेशसभा सदस्य भट्ट पनि घटनास्थल पुगेका छन् । उनले, मृतककी आमालाई भेटेर अपराधीलाई पत्ता लगाइ कानुनी दायरामा ल्याएर भागरथीलाई न्याय दिलाउने आश्वासन दिए ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तम सुवेदीले बैतडीमा भएको किशोरीको हत्या घटनालाई गम्भीरताका साथ लिएको बताए । उनले, घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालय कैलालीबाट एसएसपी पाण्डेको नेृत्वमा, सीआइबीसहितको अनुसन्धान टोली शुक्रबार नै बैतडी पठाएको बताए ।

'तालिम प्राप्त कुकुरको टोली घटनास्थल पुगिसकेको छ । सिआइबी र टेक्निकल अनुसन्धान टोली पनि बैतडी पठाएको छु, घटनामा टेक्निकल अनुसन्धान सुरु भइसकेको छ, ' डिआइजी सुबेदीले भने । 

विद्यार्थी आन्दोलित

विद्यालय नजिकैको जंगलमा बलात्कार पछि हत्या भएको बन्दै सनातन धर्म माविका विद्यार्थीहरुले शुक्रबार खोचलेकमा प्रदर्शन गरी अपराधीलाई अविलम्ब पत्ता लगाउन माग गरेका छन् । 

विद्यालयबाट निस्केर ईलाका प्रहरी कार्यालय नजिकै रहेको खोचलेक बजारमा विद्यार्थीले प्रदर्शन गरेका हुन् । उनीहरुले कुनै पनि बहानामा बलात्कार पछि हत्यामा संलग्नको खोजिमा लापरवाही नगर्न चेतावनी दिएका छन् । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.