भक्तपुरमा १० दिनमा ६० प्रतिशतलाई कोभिड १९ विरुद्धको खोप
भक्तपुर : भक्तपुरमा ३ दिनभित्रै करिब ४ हजार जनालाई कोरोना भाइरस (कोभिड १९) संक्रमणविरुद्धको खोप दिइसक्ने लक्ष्य लिइएको थियो । जसअनुसार गएको माघ १४ गते भक्तपुरमा उक्त खोप दिन सुरु गरिएको हो ।
तर शुक्रबार १० दिन हुँदा जम्मा ६० प्रतिशतलाई मात्रै कोभिड १९ को खोप दिइएको छ । भक्तपुरमा कोभिड १९ विरुद्धको खोप लगाउन भनी ३ हजार ९ सय १६ जनाले आफ्नो नाम लेखाएका थिए । जसमध्ये शुक्रबो दसौं दिनसम्ममा ६० प्रतिशत अर्थात जम्मा २ हजार ३ सय ९१ जनाले खोप पाएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
भक्तपुरमा भक्तपुर अस्पताल र नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल गरी दुई ठाउँमा खोप केन्द्र तोकिएको छ । यी दुई केन्द्रबाट खोप दिइने लक्ष्यमा स्वास्थ्यकर्मीहरुमात्रै ३ हजार ३ सय ७९ जना रहेको केन्द्रका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
त्यस्तै २ सय १३ फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, २ सय ७९ जना महिला स्वास्थ्य स्वयंसेविका, एकसय २५ वृद्धाश्रममा रहेका व्यक्ति, हेरचाह तथा व्यवस्थापनमा खटिने कर्मचारी र ४५ जना एम्बुलेन्स तथा शवबाहन चालक तथा सहचालक रहेको उनको भनाइ थियो ।
भक्तपुरमा शव व्यवस्थापनमा प्रत्यक्ष खटिने व्यक्ति र जेलमा रहेका कैदीबन्दी तथा सुरक्षाकर्मीहरु भने रहेका छैनन् । त्यस्तै स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारीहरुको एकिन तथ्यांक नभएकाले उनीहरुलाई स्वास्थ्यकर्मीहरुकै सूचीमा राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
शुक्रबारसम्म ३ हजार ३ सय ७९ जना स्वास्थ्यकर्मी भने एक हजार ३ सय ३० र ६ सय ११ स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी गरी एकहजार ९ सय ४१ जनाले खोप पाएको कार्यालय प्रमुख मिजारले जानकारी दिए ।
उनका अनुसार एकसय ३७ महिला स्वास्थ्य स्वयंसेविका तथा एकसय ३७ जना नै फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालकहरुले खोप लगाएका छन् ।
त्यस्तै एकसय ५ जना वृद्धाश्रममा रहेका व्यक्ति, हेरचाह र व्यवस्थापनमा खटिने कर्मचारी र ४१ जना एम्बुलेन्स तथा शवबाहनका चालक तथा सहचालकहरुले खोप लगाएका छन् ।
भक्तपुरमा दुई केन्द्रमा दैनिक आठआठ सय जनालाई खोप दिने लक्ष्य राखिएको थियो । खोप केन्द्रमा खोप दिइए सँगसँगै परामर्श दिने व्यवस्था गरिएको छ । खोप लगाएकाहरुलाई केही समय अब्जरभेसनमा राख्ने छुट्टै वार्डको पनि व्यवस्था गरिएको छ । खोप लगाएका कसैलाई साइड इफेक्ट देखिए तत्काल उपचारको लागि चिकित्सकसहितको टोलीसमेत दुइटै अस्पतालमा तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार भक्तपुरका कोरोना भाइरस संक्रमितको संख्या भने ९ हजार ५ सय ११ रहेका छन् । जसमा पुरुष ५ हजार ३ सय ६१ र महिला ४ हजार एकसय ५० रहेका छन् ।