यमनको युद्धमा साउदी अरेबियालाई नसघाउने अमेरिकाको घोषणा

यमनको युद्धमा साउदी अरेबियालाई नसघाउने अमेरिकाको घोषणा

एजेन्सी

वासिङटन : अमेरिकाले यमनमा जारी लडाइँमा साउदी अरेबिया नेतृत्वको सैन्य अभियानलाई नसघाउने घोषणा बिहीबार गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी र इरानबीचको झगडालाई यमनीहरुमाथि लडाइँ बनाएर थोपरिएकाले यसको अन्त्य हुनुपर्ने भन्दै सहयोग रोकेको घोषणा गरेका हुन्।

साउदी अरेबियाले आफ्नो नेतृत्वमा ६ वर्षयता यमनका विद्रोहीविरुद्ध आक्रमण जारी राखेको छ। यमनका हुथी विद्रोहीलाई इरानले आर्थिक र सामरिक मद्दत गरेको छ। यमन सरकारको समर्थन गर्दै साउदी अरेबियाले सन् २०१५ मा हुथी विद्रोहीसँग यमनमा लडाइँ थालेको थियो। यमनमा हुथी विद्रोही र साउदीको नेतृत्वमा भइरहेको यो लडाइँलाई इरान–साउदी अरेबियाबीचको 'छद्म युद्ध' भनिन्छ।

बाइडेनले वरिष्ठ कूटनीतिज्ञ टिमोथी लन्डरकिङलाई यमनका लागि अमेरिकी विशेष दूतसमेत नियुक्त गरेका छन्। उनले यमनमा भइरहेको 'छद्म युद्ध' अन्त्य गर्न टिमोथीलाई विशेष दूत नियुक्त गरिएको बताए। बाइडेनले छद्म युद्धबाट यमनमा मानवीय संकट उत्पन्न भएको समेत उल्लेख गरे।

संयुक्त राष्ट्र संघले यमनमा भइरहेको युद्धबाट विश्वकै सबैभन्दा ठूलो मानवीय संकट उत्पन्न भएको बताउँदै आएको छ। राष्ट्र संघका अनुसार ८० प्रतिशत यमनीहरु भोजन र स्वास्थ्य उपचारलगायत मानवीय संकटबाट गुज्रिरहेका छन् भने लाखौं यमनी भोकमरीबाट ज्यानै गुमाउने स्थितिमा पुगेका छन्।

'यमनमा भइरहेको लडाइँ अब अन्त्य हुनैपर्छ,' डेमोक्रेट राष्ट्रपति बाइडेनले वासिङटनमा बिहीबार भने, 'र हामी यसमा प्रतिबद्ध छौं। हामी यसमा जोड दिएर भन्छौं कि अब यमनमा हुने कुनै पनि आक्रमणमा हाम्रो समर्थन रहने छैन। र, यसमा हातहतियारको बेचबिखन पनि पर्छ।'

यमन युद्धबाट अलग्गिने बाइडेनको यो नीति उनका पूर्ववर्ती डेमोक्रेट राष्ट्रपति बाराक ओबामा र रिपब्लिकन राष्ट्रपति डोनल्ड ट्रम्पले लिएको नीतिविपरीत छ। ओबामा राष्ट्रपति हुँदा बाइडेन उपराष्ट्रपति थिए।

'उता साउदी अरेबियाले मिसाइल, ड्रोन आक्रमण झेलिरहेको छ,' गृह मन्त्रालयमा बाइडेनले बिहीबार भने, 'यतिमात्र नभएर उसले इरान र ऊ समर्थक विभिन्न देशबाटसमेत अनेक धम्की खेपिरहेको छ। साउदी अरेबियालाई उसको सार्वभौमसत्ता, साउदी भूमि र बासिन्दाको रक्षाका लागि अमेरिकी सहयोग भने जारि रहनेछ।'

साउदी अरेबियाले आफ्नो देशको प्रतिरक्षामा सघाउने बाइडेनको भनाइको स्वागत गरेको साउदीको सरकारी समाचार संस्थाले जनाएको छ।

यमन सरकारको समर्थन गर्दै साउदी अरेबियाले आफ्नो नेतृत्वमा सन् २०१५ मा यमनका हुथी विद्रोहीविरुद्ध युद्ध थालेको थियो। हुथी विद्रोहीलाई इरानले सघाइरहेको छ। राष्ट्र संघले यमनमा युद्ध रोक्न सरकार र हुथीबीच शान्तिवार्ता गराउने प्रयास गर्दै आएको छ। गृहयुद्धको चपेटामा रुमल्लिएको यमन चरम आर्थिक संकट, मुद्रा संकटका साथै कोरोना संक्रमणले समेत थलिएको छ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.