मान्छे हुँ, मान्छे होइन !
‘म मान्छे हुँ, म मान्छे हैन’, स्वयंलाई सोधिएको एक काल्पनिक प्रश्न। एक पीडित, अशिक्षित, शोषित वा पिँधको मान्छेले आफैंप्रति, अरू कोही वा केहीप्रति यही प्रश्न नगर्न सक्ला। प्रश्न गर्ने सामथ्र्य भए पनि त्यसको सुनुवाइ नहुन सक्ला। मान्छे ‘हुँ वा हैन’ बहसको विषय हुनु हुँदैन होला तर तिनका अनेक आयाममाथि छलफल भने हुन सक्ला। यसर्थ ‘मान्छे हुँ’, ‘मान्छे हैन’को फरक अर्थ यहाँ नखोजियोस्। केवल निजी अनुभूतिलाई स्वैरकाल्पनिक अक्षरमार्फत राख्न चाहेको हुँ। खुला मानसपटलले पढ्न आग्रह गर्छु :
(१)
पुस्तक पढ्न थालेपछि बिस्तारै बुझ्दै गएँ। चेतनाको विस्तार मान्छेको सबैभन्दा ठूलो शक्ति हो। हुन त मैले शिक्षालयमा पढ्दै गर्दा कुनै पनि शिक्षकबाट स्नातक तहसम्म आइपुग्दा चेतना विस्तारको महत्त्वपूर्ण पाटो समाज हो। समाज पढ्नुपर्ने कुरा विरलै सुन्न पाएँ। तर, जब अनेक पुस्तकका पानाहरू पल्टिँदै गए; तिनै पुस्तकले सुस्तरी जानकारी गराउँदै आए— ‘एक चेतनशील व्यक्तिले सबैभन्दा पहिले ऊ बाँचिरहेको समाज पढ्न जरुरी छ। जब समाज पढ्ने कोसिस गरें, तब बुझें— ‘समाज बुझ्न सबैभन्दा पहिले आफू बाँचिरहेको समाजकै मान्छे पढ्न जरुरी रहेछ।’
एक निश्चित भूगोल वा निश्चित सीमाभित्र बाँचिरहेका विभिन्न समुदाय, वर्ग, जात, धर्म, लिंग र भूगोलमा बसोबास गरिरहेका अनेक मानिसका चाहना–आकांक्षा र जीवनस्तरको सन्दर्भमा उनीहरू के चाहन्छन् ? भूगोलको प्रतिनिधित्व गर्दै कुनै पद्धतिबाट निर्वाचित शासक के गरिरहेको छ ? यी यावत् प्रश्न बोकेर जब कुनै मान्छे ‘मान्छे’ वा ‘समाज’ पढ्न थाल्छ, उसको मानसपटलमा एउटा प्रश्न जन्मिनेछ— ‘म बाँचिरहेको समाज कहाँ छ ? म कहाँ छु ? सत्तामा पदासीन शासक कति योग्य छन् ? हाम्रा निर्णय तथा जीवनपद्धति कति चेतनशील छन् ? बुझेर वा नबुझेर जुन दिन प्रश्न गरें— ‘म मान्छे हुँ ?’
(२)
भन्नै परेन, मान्छे सबैभन्दा चेतनशील प्राणी हो। ‘यो पनि भनिराख्नुपर्ने कुरा हो ?’, जोकोहीलाई लाग्नसक्छ। बेलाबेला चेतनशील प्राणी नै चेतना गुमाउँदै अचेतनशील हर्कत गर्छ, किन ? झन् उत्तेजित हुँदै भ्रमैभ्रमका अचेतन संकटमा फस्छ, किन ? आफू बाँचिरहेको परिवेशका परिस्थितिजन्य घटनाहरूको वर्तमान समयलाई नियाल्दा वा आफैंलाई झक्झकाउँदा चेतनाका विपरीत अनेक कुरा पाउँछु। त्यसैले पनि म हरपल अन्योलमै छु।
मैले बुझेको छु/छैन— ‘रफ्तार समयको हो।’
मैले बुझेको छु/छैन— ‘म बाँचिरहेको क्षणको हो।’
मैले बुझेको छु/छैन— ‘समाजले बाँचिरहेको शासकले गरेको घटना, निर्णय वा छनोटको हो।’
मैले बुझेको छु/छैन— ‘संविधान बाँचेको... !’
मैले बुझेको छु/छैन— ‘कुनै देश बाँचिरहेको प्रदत्त संविधानको मर्मअनुरूपको हो।’
एकैछिन..., क्षण वा पल एक मानिसको जीवनको समग्रता हो कि हैन ? के प्रत्येक दिनको समजोड कुनै देशको उन्नतिको समग्रता हो कि हैन ? एक निश्चित सीमाभित्र बाँचिरहेका नागरिकको ‘क्वालिटी अफ लाइफ’सँग यसको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध छ कि छैन ? उफ्, हाम्रो संस्कार र पद्धति ! देशको सांस्कृतिक, प्राकृतिक, सामाजिक, राजनीतिक तथा आर्थिक सबै पक्षबाट कुनै दिन इतिहासलाई साक्षी राख्दै समग्रतामा समजोडको निचोडले भविष्यको सारगर्भित अर्थ राख्छ कि राख्दैन ? राख्छ भने वर्तमानको परिस्थितिलाई वा वर्तमानमा बाँचिरहेका जीवनपद्धतिलाई बुझेर के मैले प्रश्न गरें ?
सपना मानिसको जीवन हो। चाहनाका अनेक पहाड छन् र त सपना देख्छ ऊ। चाहनाको एउटा पहाड उक्लन्छ र देख्छ ‘अनेकौं पहाड’। सोच्छ— ‘पक्कै त्यो मेरो अन्तिम चाहनाको पहाड हो’ तर बुझ्दैन कि यो कहिल्यै अन्त्य नहुने चाहनाका पहाडहरूको शृंखला हो।
(३)
‘मान्छेले मान्छे बनेर बाँच्न बिर्सेको दिन मानवताको हत्या हुने हो ?’, आजको व्यापारिक युगमा म बाँचिरहेको वर्तमानका दिन मानवताको हत्या भएका दिन हुन् त ? मसँग जवाफ छ। ‘मान्छे बनेर बाँच्न जानेको दिन मानवताको जन्म हुने हो ?’ मसँग उत्तर पनि छ। यो वैश्विक युगका वर्तमान दिनहरूमा मानवताको जन्म हुने छ कि छैन ? अझ मानिसभित्र मानवता छ कि छैन ? वर्तमानका घटनालाई नियाल्ने हो भने मानवताको जन्म कहिले हुने हो भन्ने प्रश्न गहन रूपमा छ ? तर, लोकमा मान्छे रहुन्जेल मानवताको जन्म–मृत्युको कुरा गर्ने स्वाँठ ! मान्छेकै हैकमले दुनियाँ कहाँ पुगिसक्यो ? देश कहाँ पुग्दै छ ? तँजस्तो एउटा सानो सर्कलमा बाँचिरहेको नाथेले मानवताको कुरा कोट्याउने ? मैले कोट्याएँ, किनकि म मान्छे हुँ।
(४)
पढ्दै गएँ, घोत्लिँदै गएँ अनि बुझ्दै पनि गएँ। तुलना, विभेद र विभाजन हरेक वस्तु वा व्यक्ति बीचमा छ। समुदाय–समुदायमा छ। जातजाति, धर्म, लिंग, वर्ण, देश–देश अनि महादेश–महादेश बीचमा छ। तथापि वर्तमान समयमा भइरहेका केही राजनीतिक तथा परिस्थितिजन्य केही घटनाले मान्छे कति खोक्रो सर्ववादी सोच तथा शक्तिको उदांगोपनमा नांगो नाच गरिरहेको छ भन्ने यथार्थ छर्लंग देखिँदा पनि के मैले प्रश्न गरेको छु ?
(५)
एउटा पनि मान्छेले वर्तमान समयमा भोगिरहेका अनेक समस्या ऊ बाँचिरहेको छिसमिसको उल्झन हो। त्यसमध्येको एक प्रविधिको विकास। प्रविधिले जीवन सहज होइन, सकस बनाइदिएको छ। प्रविधिको विकासको सन्दर्भमा होइन कि प्रयोगको सन्दर्भमा ‘सकस’को अर्थ खोजेको हुँ।
पढ्नुस् है... !
‘मैले बा’सँगै बसेर चिया नपिएको कति दिन भो ?’
‘आमाको मुस्कान म’सँग नसाटिएको कति महिना भो ?’
‘मैले किचेनमा परिकार बनाएर छोराछोरीलाई खान दिएको छु ?’
मलाई हतार छ— ‘अपलोड गर्न मैले खिचेका बनावटी फोटो अर्थात् सम्पादनपछिको तस्बिर।’
म व्यस्त छु— ‘बनाउन टिकटक।’
‘घण्टौंघण्टा युट्युबमा एकोहोरिएरै समय बितेको पत्तो छैन मलाई।’
‘मैले चौतारीमा बसेर ताजा हावाको स्वादन र आँखाले नदेखेको हरियाली कति समय भो ?’
‘श्रीमतीसँगको गफगाफमा छुट्ने हाँसो अचेल कुल गल्लीमा हराएको छ ?’
मलाई आजकै दिन हेरिसक्नु छ— ‘युट्युबमा भएका अनगिन्ती अनावश्यक सामग्री’, जसले सूचना त दिनेछ तर चेतना दिनेछैन। उल्टै मेरा बुझाइहरूमा दुविधा गराउनेछ न कि समाधानका कुनै बाटो पहिल्याउने। सोसल मिडियाकै कारण समयको बर्बादीमा बाँचिरहेको मभित्र के प्रश्न नहोला ? अवश्य थुप्रै प्रश्न छन्।
(६)
कति दिन बाँच्छ एउटा मानिस ? यसको उत्तर समयसँग छ।
मृत्यु हुने त्यो दिनसँग होला। अन्तिम सास फुत्केको त्यो घडी पलसँग पनि हुनेछ। मसँग भ्रम छ— ‘अमर हुँ भन्ने !’ त्यसैले ती काम गरिरहेको छु— ‘जुन आवश्यक छैन।’ सत्य छ— ‘मृत्यु निश्चित छ भन्ने !’ बोध गरेकै छैन। बच्चाजस्तै अबोध भएको नाटक गरिरहेको छु। त्यसैले ती कुनै काम गरिरहेको छैन— ‘जुन आवश्यक छ।’ अनिश्चितताको यो एउटा जीवनमा ‘के गर्ने ?’ भन्दा पनि ‘के नगर्ने ?’ कुरो न समाजले मलाई बुझाएको छ।
न घरपरिवारले। न शिक्षकले। न शिक्षाले। न स्वयंले। के कुनै दिन सोधेको छु— ‘मन के चाहन्छ ?’
‘के रुचि हो मनको जुन कर्म गर्दा खुसीको उच्चतम् क्षणसम्म पुग्नेछु ?’ मैले कुनै दिन यसरी किन सोच्न सकिनँ ? मान्छे हुँदो हुँ त कैयौं पटक जरुर सोच्नुपर्ने हो। कोही चेतनशील मान्छे हुँदा हुन् त सोच्न सिकाउनुपर्ने हो। जीवनको सार्थकतालाई बुझ्न पक्कै चिन्तन गर्नुपर्ने हो। जीवन बाँच्न सक्ने जीवनकला खोज्नुपर्ने हो तर मैले खोजेकै छैन किनकि मसँग प्रश्न छैन।
(७)
मान्छे दु:खी छ आज। मान्छे भएर ऊ किन खुसी हुन सकिरहेको छैन ? जीवहरूको सबैभन्दा सर्वश्रेष्ठ भनिएको प्राणी। हो, मान्छे हुँदैमा दु:खी हुनु हुँदैन भन्ने हुँदै होइन। अनेक परिबन्धको घेराभित्र ऊ जकडिएको छ। परिस्थितिजन्य अनेक बाध्यताका जटिलताभित्र ऊ अल्झेको छ। समाधान पनि छ नि कतै। समाधानसम्म पुग्ने बाटो बनाउन किन ऊ सकिरहेको छैन ? प्रत्येकले बाँचिरहेको समय र बुझिरहेको जीवनबीचको भिन्नतामा ‘करेक्सन’ किन खोज्न सकिरहेको
छैन ? ‘कस्तो बाँच्ने ?’, व्यक्तिको प्रश्न होला। ‘कसरी बाँचिरहेको छ ?’, देशको प्रश्न होला नि ! ‘कस्तो बाँचिरहेको’ प्रश्नको जवाफ व्यक्तिले देला। ‘कसरी बाँचिरहेको छ’ प्रश्नको जवाफ त शासकसँग हुनुपर्छ कि ?
(८)
आज बजारसँग छ जीवनको खुसी। म ठान्छु। सबै यही ठान्छन्। आफैंलाई कुनै क्षण बिर्सें भने बाँकी के रहला ? जो भइरहेको छ, त्यो यथास्थितिमै चलायमान होला। तर ‘म’सँग के रहन्छ ? सायद, केही नरहनु नै सबैभन्दा चरम आनन्द हुनुपर्छ, जुन बजारले दिनेछैन अनि त्यहाँ किन्न पनि पाइनेछैन। कहाँ पाइन्छ त ? उत्तर सबैसँग छ— ‘आपैंmभित्र’। सायद, मनको विस्तारभित्र कतै। चेतनाको विस्तारभित्र कतै। नियाल्नुस् आफैंलाई जीवनको परम आनन्द।
मानिस छनोटको दास हो। छनोटले मानिसको व्यक्तिगत जीवनको निर्माण गर्छ। जीवन जिउने पद्धतिको। छनोट कठिनतम्मध्येको एक कर्म हो मानिसको। छनोटबाटै प्रत्येक घटनाको निर्माण हुँदै जानेछ। व्यक्तिको जीवन जिउने यात्राको बाटो कता जाँदै छ भन्ने संकेत। तिनै छनोटकै कारणले उसको मुहारबाट हाँसो हराउन सक्छ। उन्माद हाँसो प्रकट भइरहन पनि ! त्यसैले भन्दै छु— ‘वर्तमान समय मानिस औचित्यहीन जीवन बाँचिरहेको छ’ भन्दा गलत हुन सक्छु।
तर सही पनि त हुन सक्छु। सही यस मानेमा कि ‘ऊ मान्छे कम, व्यक्ति (केन्द्र) बढी भएको छ। व्यक्तिवादी अर्थात् केन्द्रीकृत।’ मानिसको विकासक्रम हेर्ने हो भने ऊ समूहको हो। तर, ऊ बिस्तारै समूहबाट एक्लो हुँदै छ। जुन वर्तमानका अनेकौं समस्याको जड पनि हो। के यी जडसँग जोडिएका प्रश्न छन् तपाईंसँग ?
(९)
सपना मानिसको जीवन हो। चाहनाका अनेक पहाड छन् र त सपना देख्छ ऊ। चाहनाको एउटा पहाड उक्लन्छ र देख्छ ‘अनेकौं पहाड’।
सोच्छ— ‘पक्कै त्यो मेरो अन्तिम चाहनाको पहाड हो’ तर बुझ्दैन कि यो कहिल्यै अन्त्य नहुने चाहनाका पहाडहरूको शृंखला हो। सायद, ऊसले अनन्त: चाहनाहरूका पहाडको शृंखलाको अर्थ बुझेकै क्षण जीवनको वास्तविक तृष्णा बुझ्दो हो। त्यसपछि पन्छाउन खोज्दो हो, छ्यासमिस बाँचिरहेको जीवनका कसिंगर।
अनि बुझ्दै जानेछ... नदी हुँ, ‘बग्नु जीवनको स्वच्छता हो।’ हावा हुँ, ‘फेर्नु प्राण हो।’ आकाश हुँ, ‘नीलो फैलावट मन तथा चेतनाको विस्तार हो।’ सूर्य हुँ, ‘जलिरहन्छु, आकांक्षाका उत्कट अनेक चाहनाको रापमा अहं जलाउँदै सामान्य हुन्, सरल–सहज–सन्तोष।’ चन्द्रमा हुँ, ‘शीतलता दिँदै ओसाउने छु रिसका आवेग।’ थोपा हुँ, ‘तपक्क खस्छु भुइँमा, लपक्कै लेपिन्छु पातमा–घाँसमा अनि बुझ्नेछु, म भुइँ हुँ, माटो नै जन्म र अन्त्य पनि।’
बादल पनि हुँ, ‘उड्छु सुस्तरी सिरसिर वेगसँगै, मलाई त्यही पुग्नु छ, ‘जहाँ वर्षाको तिर्खा छ।’ त्यो खस्ने पनि रहेछ ‘जहाँ खडेरी छ।’ पहाड हुँ— ‘उभिन्छु, निसंकोच अनि बुझ्नेछु, ‘सबैसँग ‘म’ जोडिएको छु, सबैसँग जोडिनु छ, महसुस गर्नु छ आफैंलाई तर सुन्नु छ ‘सबै हृदयको ढुकढुकी।’ त्यसैले म मान्छे हुँ। के म साँच्चै मान्छे हुँ ? मान्छे बनेर बाँच्ने प्रयत्न कहिल्यै गरेको छु ?