व्यक्तिगत चरित्रको बहुआयामिक प्रभाव
उच्च शिक्षा हासिल गरेका र मुलुकका उच्च र गरिमामय पदमा आसीन कतिपय व्यक्तिहरूका व्यवहार पनि किन अशिष्ट हुन्छन् ? किन बोलीमा मृदुपन छैन र किन व्यवहारमा अस्थिरता र पीडकपन भेटिन्छ ? यस्ता उदाहरण खोज्न अचेल कतै जानु पर्दैन। कोठाकोठामा डिजिटल माध्यमबाट आउने फेसबुक र युट्युबहरू नै पर्याप्त छन्।
सामाजिक सञ्जालहरू खोलेर हेर्दा होस् वा छापा माध्यम अनि अनलाइन, सर्वत्रबाट यस्तो अवस्था देखिन्छ। यस्ता विसंगतिहरू व्यापक क्षेत्रमा विद्यमान छन्। बालिका बलात्कार, पति वा पत्नीको हत्या, मर्यादा र सभ्यताका सीमा नाघेर भएका आफन्तजनबीचका अनैतिक सम्बन्ध, पारिवारिक विग्रहले सामाजिक तथा पारिवारिक क्षेत्रको भयावह अवस्था उजागर गर्छ। अराजकता, कर्तव्य विमुखता र शिक्षाको डरलाग्दो व्यावसायिक स्वरूप, गुरु र शिष्यबीचको खराब सम्बन्ध शैक्षिक क्षेत्रभित्रका समस्या बनेका छन्, अराजक उदाहरण बनेका छन्। भ्रष्टाचार, व्यभिचार तथा असहिष्णुताको जग यसैमा निहित हुन्छ। यी सबै क्रियाकलाप निश्चित व्यवहारका उपज हुन्। ती व्यवहारहरूले व्यक्तिको चरित्रको पटाक्षेप गर्छ। त्यसकारण अपेक्षित चरित्र निर्माण र विकाससँग जीवनका बहुआयामिक पक्षहरू सम्बन्धित हुन्छन्।
चरित्र निर्माण तथा विकास
मानिस जन्मजात रूपमा सामाजिक प्राणी हो। मानिसजस्तै समाज निर्माण गरेर बस्ने अरू जीवहरू पनि छन्। समूहमा बसेपछि अर्थात् समाजमा बसेपछि समाजले निर्माण गरेका सामूहिक विधिको पालना गर्नुपर्ने हुन्छ। जसले पालना गर्दैन त्यो समाजबाट बहिष्कृत हुन्छ। अर्थात् कर्मअनुसारको दण्डभागी हुन्छ। बाँदरको समूहअनुसार व्यवहार नगर्ने बाँदर एक्ले भएर हिँड्छ। वनमा हात्ती, सिंह, गाईहरू पनि समूहमा रहन्छन्। समूहमा बसेपछि समूहभित्रको नेतृत्व, मार्गदर्शन तथा तय गरिएका विधिहरूको पालना गर्नु अनिवार्य हुन्छ। यसैबाट आचरण, व्यवहार, चालचलन निर्धारित हुन्छ।
सुकिला कपडा, बनावटी मिठो बोली र शारीरिक आवरण केही होइनन्, यदि असल चरित्र छैन भने। एउटा खराब चरित्र भएको मानिस समाजमा बस्यो भने त्यसले बालबालिकालाई खराब बनाइरहेको हुन्छ, राजनीतिमा प्रवेश गर्यो भने राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्र पूरै धमिलो बनाउँछ।
जंगली जनावरको सुरक्षा र आहारा मात्र केन्द्रबिन्दुमा हुन्छ भने मानिस सर्वश्रेष्ठ प्राणी भएकाले मानिसको कामकाजको दायरा निकै फराकिलो छ। मानिस एउटा भूगोल र सीमाभित्रको वा एउटा समूहका लागि मात्र सामाजिक भएर पुग्दैन। जंगली जनावरहरूमा एक समूहले अर्को फरक समूहसँग भिडन्त गर्छन् तर मानव समाजले अन्तरसम्बन्ध बनाउँछन्। जंगली जनावरहरूको आन्तरिक व्यवहार मेलमिलाप र सामूहिक सुरक्षामा सीमित हुन्छ। मानिसको नैतिक मूल्यसँग जन्म, विवाह, मृत्यु, विभिन्न प्रकारका उत्सव आदि जस्ता सांस्कृतिक पक्षहरूको सुरक्षा र देशको संविधान, कानुन आदिको पालनासँग पनि नैतिकताको विषय जोडिएको हुन्छ। तर, यी व्यक्ति तथा समूह नैतिक बन्न उसमा सही चरित्र निर्माण भएको हुनुपर्छ।
असल चरित्र नभएको व्यक्तिबाट सामाजिक, राजनीतिक मूल्य, मान्यता जस्ता नैतिक पक्षहरूको पालना हुँदैन। त्यसकारण चरित्र यस्तो अन्तरनिहित गुण हो, जसले व्यक्ति कस्तो बन्ने भनेर निर्णय गर्छ। नैतिकताको विषय समाजसापेक्ष हुन्छ। यद्यपि चरित्र विश्वव्यापी हुने साझा गुण हो। भूतपूर्व अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले चरित्रलाई रूख र प्रतिष्ठालाई छायाँ भनेका छन्। पश्चिमी जगत्मा बिलि ग्रहामको एउटा भनाइ सर्वाधिक लोकप्रिय छ, ‘धन गुमाउनु केही होइन, स्वास्थ्य गुमाउनु केही गुमाउनु हो भने चरित्र गुमाउनु भनेको सबै थोक गुमाउनु हो।’
पूर्वीय दर्शन तथा संस्कृतिमा चरित्र मुख्य कुरा हो। ‘विदेशेषु धनं विद्या व्यसनेषु धनं मति:। परलोके धनं धर्म शीलं सर्वत्र वैधनम्’ भनिएको छ। जसको अर्थ हुन्छ— विदेशमा विद्या धन हुन्छ, संकटका बेलामा बुद्घि धन हुन्छ, परलोक हुँदा धर्म धन हुन्छ भने शील अथवा चरित्र सबै ठाउँमा धन हुन्छ। सबैभन्दा ठूलो धनको रूपमा वर्णन गरिएको छ। लंकामा रावणको पतनपछि लक्ष्मण र उनको बीचमा भएको संवाद निकै महत्त्वपूर्ण छ। आफ्नै भूमिमा हजारौं हजार सेनाका साथ देवगणलाई समेत हराउन सक्ने लागत भएका रावण किन हार्नुभयो ? भन्ने प्रसंगमा रावणले भनेका छन्, चरित्र पतन।
व्यवहार, भाषा वा संवाद, संवेदना तथा सहानुभूति, सहयोग, धार्मिक, सामाजिक तथा सांस्कृतिक पक्षहरूको ग्रहण र परिपालना, मुलुक र मुलुकको कानुन तथा नियमको परिपालना, सामाजिक दायित्व वहन, अधिकारलाई कर्तव्यसँग जोडेर गरिने व्यवहार, साहस, इमानदारिता, लचकता, सहिष्णुता जस्ता पक्षका आधारमा चरित्र मापन गरिन्छ।
चरित्र निर्माण कसरी ?
पश्चिमी विद्वान् भी क्याम्पबेल र आर बाउन्डका अनुसार चरित्र र नैतिकताको विकासमा वंशानुगत गुण र त्यसपछिका भोगाइ तथा अनुभवहरूको भूमिका रहन्छ। यस कुरालाई पूर्वीय दर्शनले धेरै पहिलेदेखि जोड दिँदै आएको छ। यसबाहेक पूर्वीय दर्शनले वातावरणलाई उत्तिकै महत्त्व दिएको छ। यस्तो वातावरण जन्मपछि मात्र होइन, जन्मपूर्व अर्थात् गर्भावस्थादेखि नै प्रभावकारी हुने मान्यता छ। हिरण्यकशिपु पुत्र प्रह्लाद सज्जन र विष्णुभक्त बने किनभने उनी गर्भावस्थामा हुँदा उनकी आमा विष्णुभक्त नारदको आश्रममा थिइन्।
अभिमन्यु जन्मजात शूरवीर थिए किनभने उनका बाबुले उनी गर्भावस्थामा हुँदादेखि नै युद्घ र वीरताका कुरा सुनाउँथे। अष्टाबक्र जन्मँदैदेखि ज्ञानी थिए किनभने उनका बाबु ऋषि थिए जो वेदवेदांग तथा विद्वताका बहसमा हुन्थे र आमा त्यहीँ रहन्थिन्। यी उदाहरणहरूले व्यक्ति जन्मँदैमा पूर्ण हुन्छ भन्न खोजेको होइन तर लक्षण र अवस्था धारण गरेको हुन्छ मात्र भन्न खोजेको हो। त्यसपछिको हुर्काइ र अनुभव अथवा वातावरणमा प्राप्त अवसरले मानिसको चरित्र निर्माण गराउँछ।
प्रारम्भिक बाल विकासको सिद्घान्तअनुसार बाल विकासको आरम्भ गर्भावस्थादेखि नै हुन्छ। जन्मदेखि आठ वर्षको अवधिभित्र बालबालिकामा मस्तिष्क विकास अत्यन्त तीव्र गतिमा हुन्छ। यस अवधिमा बालबालिकाले ग्रहण गर्ने ज्ञान, सीप, व्यवहार मस्तिष्कले ग्रहण गर्छ। परिणामत: त्यसै बेला प्राप्त गरिएका व्यवहारहरू नै जीवन व्यवहारका रूपमा विकास हुन्छन्।
तालिम तथा प्रशिक्षण एवं व्यवहारोपयोगी अभ्यास चरित्र विकास र नैतिक मूल्यमान्यता परिपालनका लागि प्रतिबद्घ बनाउने अर्को साधन हो। कुनै व्यक्ति वंशगत रूपमा यस पक्षमा कमजोर भए र बालापनको समयमा उचित वातावरण नपाए पनि तालिम तथा प्रशिक्षणबाट पनि असल चरित्र विकास गर्न सक्दछ तर यो काम निकै जटिल हुन्छ। हुर्काइ अथवा भोगाइको जस्तो स्थायित्व यसमा नहुन सक्छ। एक पटक चोरी अथवा अपराध गरेर सजाय भोगेको व्यक्ति फेरि त्यस्तो नगर्ने वाचा गर्न सक्छ र त्यस्ताबाट पर भाग्न सक्छ तर ऊभित्र स्थायी रूपमा बसेको चोरी गर्ने प्रवृत्ति र चरित्रले उसको मानसिक अवस्था कमजोर भएको बेला पारेर भए पनि त्यही काममा धकेल्ने खतरा रहन्छ।
खराब चरित्रलाई सुधार गर्ने यो निकै प्रभावकारी माध्यम हो। असल र महान् पुरुषको संगत गर्ने, प्रवचन सुन्ने, ध्यान गर्ने, योग गर्ने, राम्रा कर्महरूमा समय खर्च गर्ने, असल कार्यमा समय र पुँजी लगानी गर्ने जस्ता क्रियाकलापमा अभ्यस्त रहँदा व्यक्तिले जुनसुकै उमेरमा पुगेर पनि असल चरित्र निर्माण गर्न सक्ने विश्वास गरिन्छ।
यी सबै कुराले इंगित गर्छ— चरित्र र नैतिक गुणको निर्माणमा पारिवारिक वातावरण, जन्मपछिको हुर्काइ र व्यवहार, समाज र सिकाइ केन्द्र तथा गुरुहरू एवं अगुवाहरूका व्यवहारले महत्त्वपूर्ण भूमिका खेल्छ। चरित्र निर्माण तथा नैतिक पक्षको विकासको पहिलो र प्रभावकारी पाठशाला घरपरिवार हो भने समाज, राजनीति, सिकाइ केन्द्र र व्यक्तिहरू त्यसका थप चरित्र निर्माणशाला हुन्।
समाजले स्वीकारेका चरित्र
आत्मसंयम हुने, इन्द्रियहरूमाथि विजयी गर्ने (भागवत गीता) अर्थात् आत्मनियन्त्रण गर्न सक्नुलाई असल चरित्र निर्माण भएको लक्षणका रूपमा लिन सकिन्छ। विश्वसनीय हुने अथवा स्वीकृत आदर्श र व्यवहारबाट अनुप्राणित र स्वनिर्देशित भएका व्यक्तिहरू जहिले पनि विश्वसनीय हुन्छन्।
कामप्रतिको समर्पण तथा प्रतिबद्घता र पालना गर्ने हुनु असल चरित्रको लक्षण मानिन्छ। अन्त:स्करण शुद्घ हुनु अथवा छलकपटरहित हुनु, भित्रैदेखि सहयोगी भावना जागृत हुनु र गर्नु, सत्य बोल्नु, कुनै कामप्रति आफ्नो उत्तरदायित्व सम्झनु, आफ्नो आत्मा पनि परमेश्वर हो। यसलाई ढाँट्नु भनेको पाप कर्म गर्नु हो भन्ने कुरामा विश्वास गर्नु, स्वधर्म पालन गर्नु, जन्मभूमिप्रति गौरव गर्नु र सेवाभाव राख्नु, असल कर्म गर्नेहरूलाई सम्मान गर्नु, खराब कर्मबाट टाढा बस्नु। परोपकारी भावना हुनु आदि असल चरित्रका लक्षण हुन्।
र, अन्त्यमा
चरित्र निर्माणको कार्य भोलि होइन, अहिलेदेखि नै आरम्भ गर्नुपर्छ। चरित्रवान् व्यक्तिहरू नै समाजका गहना र बहना दुवै हुन्। सामाजिक, राजनीतिक बेथिति र असंगत व्यवहारको निराकरण गर्न चरित्र नै मुख्य पक्ष हो। सुकिला कपडा, बनावटी मीठो बोली र शारीरिक आवरण केही होइनन् यदि असल चरित्र छैन भने। एउटा खराब चरित्र भएको मानिस समाजमा बस्यो भने त्यसले बालबालिकालाई खराब बनाइरहेको हुन्छ, राजनीतिमा प्रवेश गर्यो भने राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्र पूरै धमिलो बनाउँछ।
जुन पेसामा प्रवेश गर्यो, त्यहाँ पेसागत निष्ठा र विश्वासको वातावरण ध्वंश गरिदिन्छ। तसर्थ, घर पहिलो पाठशाला भएकाले जिम्मेवार अभिभावक, जिम्मेवार समाज, जिम्मेवार सिकाइ केन्द्र र गुरुहरू, जिम्मेवार राजनीतिक व्यक्तिहरू र उचित प्रशिक्षण चरित्र निर्माण र विकासमा सघाउने पक्षहरू हुन्। यस विषयमा बेलैमा सचेत हुन सकिएन भने यसले मानव सभ्यतामाथि नै प्रहार गर्छ। हरेक अगुवा व्यक्ति कनिष्ठ व्यक्तिको आदर्श पात्र हुने हुँदा एक खराब चरित्र भएकाले पछिल्ला पिँढीहरूलाई नजानिँदो किसिमले पार्ने प्रभाव भयावह हुन्छ।