प्रेमको तापक्रम
पृथ्वी
घाममा समर्पित हुन्छ
आश्रय लिनका लागि
न्यानोपन खोजिरहेकी हुन्छु ।
हो, तिमीले दिन चाहँदा चाहँदै
मैले गुमाएकी थिएँ
प्रेमको तापक्रम
र हामी दुवैलाई
शून्य डिग्रीमा झारेथें
माफ गर,
त्यो महादशा थियो
सुनियोजित घटना होइन
सोही स्मृतिको चिस्यान केन्द्रमा
जब बारम्बार जम्दै छु
तब टड्कारो महसुस हुँदै छ
तिम्रो सामीप्यको चाह
ए मेरो प्राथमिकताको केन्द्रबिन्दु !
गुमेको कुरा नै जीवनमा
पाउने चाह हुँदो रहेछ
पाएको कुराको
त्यति मूल्य नहुँदो रहेछ
त्यसैले त तिमी मेरो
विशेष अनुसन्धानको विषय बन्यौ
प्रिय ! तिम्रो कसम खाएर
बिन्ती गर्दै छु, समयसँग
कि कुनै दिन यसले
हामीलाई भेटाउनेछ त्यहाँ
तिमीलाई मैले
चिस्याएकी थिएँ जहाँ ।