पत्रकोरकार
लेखिरहने एउटा कलम पाएको छ
कालो मसीले सेतो पानामा...
समाज लेख्छ, राजनीति लेख्छ,
अर्थ लेख्छ, अर्थशास्त्र लेख्छ,
फूल लेख्छ, तिनका रंग लेख्छ,
प्रेम लेख्छ, युद्ध लेख्छ,
यो गर लेख्छ, यो नगर लेख्छ,
तिमी उसलाई के नाम दिन्छौ ?
यस्तो भयो, उस्तो हुँदैछ,
देश लेख्छ, विदेश लेख्छ,
तिमी उसलाई के नाम दिन्छौ ?
सुनाउँछ, देखाउँछ, बुझाउँछ,
सीमा कोर्दैन, जोडिरहन्छ,
वायुजस्तै स्वतन्त्र छ,
तर ऊ आफैसँग अपरिचित छ,
आफूसँग लढ्ने युद्धसँग अपरिचित छ,
तर पनि...
विश्वको परिचय दिन्छ।
तिमी उसलाई के नाम दिन्छौ ?
विद्वान्को विद्वता, प्रविधिको विधि,
शान्तिको सन्देश, धर्मको मर्म,
खेलको मेल, मेलको झेल,
गाउँको गोरेटो, सहरको रहर,
यी सबै अटाउँदै, समेट्दै
कवि झैं कल्पनाको गहिराइमा डुब्छ,
ऊ वास्तविकताको चित्र कोर्छ,
तर पनि आफू ओझेलिन्छ
आफ्नै कथाव्यथाहरूमा
तिमी उसलाई के नाम दिन्छौ ?