संसद पुनर्स्थापना नभए इतिहास दोहोरिन्छ : पौडेल
दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको आन्दोलनबाट संसद पुनर्स्थापना गर्न सकिने बताएका छन्। गृह जिल्ला तनहुँमा रहेका पौडेलले अन्नपूर्णसँग कुरा गर्दै अदालतले संसद पुनर्स्थापना नगरे तेश्रो जनआन्दोलन हुने र त्यसैले संसद पुनर्स्थापना गर्ने तर्क गरे।
‘प्रधानमन्त्रीले यसलाई राजनैतिक विषय भनिरहनुभएको छ, अदालत यसबाट प्रभावित हुनसक्ने देखेकाले हामीले खबरदारी गरिरहेका छौं,’ उनले भने। उनले सर्वोच्चबाट संसद पुनर्स्थापना हुनुपर्ने भन्दै आफूले न्यायमूर्तिहरुलाई सार्वजनिक आग्रह गरेको भन्दै संविधानअनुसार आदेश नआएमा भने तेश्रो जनआन्दोलन हुने चेतावनी दिए। ‘मैले न्यायमूर्तिहरुलाई पनि संविधानको पालना गर्न आग्रह गरिरहेको छु,’ उनले भने,‘तर त्यसो भएन भने इतिहास दोहोरिन्छ।’
आफू लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने भन्दै पौडेलले संसद पुनर्स्थापना नभएमा देशको भविष्य अनिश्चित हुने बताए। ‘देश जोगाउन पनि तेश्रो जनआन्दोलन गरेर सडकबाटै संसद पुनर्स्थापना हुन सक्छ,’ उनले भने।
पौडेलले आफूनिकट सबै जिल्ला समितिले क्रियाशिल सदस्यता टुंग्याए पनि सभापति देउवानिकट जिल्लाले नाम नटुंग्याएको बताए। ‘म निकट सबै जिल्ला सभापतिले नाम पठाएका छन्,’ उनले भने,‘सभापति निकट जिल्लाले नै नाम पठाएका छैनन्। यहाँ गडबडी छ।’
‘मूलुक सैनिक सासनको बाटोमा जान सक्छ’
वरिष्ठ नेता पौडेलले बर्माको सैनिक ‘कु’ बाट देशले पाठ सिक्नुपर्ने बताए। ‘बर्माको कुबाट हामीले पाठ सिक्नुपर्छ,’ उनले भने,‘भोलि परिस्थिति बदलिएर सेनाको हातमा जान नदिन हामी सचेत हुनुपर्छ।’