स्वप्न विघटनको एक कारुणिक आख्यान
रंगमञ्चमा आफ्नो धाक जमाइसकेका अभिनेता, नाटककार एवं निर्देशक टंक चौंलागाईं उपन्यास लेखनमा पनि उत्तिकै पोख्त छन् भन्दा अत्युक्ति नहोला। हालसम्मका कृतिको समीक्षामै उनको लेखकीय क्षमता देखिएको छ। ‘उबडखाबड’ उनको चौथो उपन्यास हो। २३८ पृष्ठको यस उपन्यासलाई शिखा बुक्सले २०७७ सालमा बजारमा ल्याएको हो।
उपन्यास ‘उबडखाबड’मा दुई मुख्य पात्र छन्, जीवन र निर्मला, यद्यपि सहायक पात्रको फेहरिस्त लामो छ। कथा उपन्यासको नामजस्तै अगाडि–पछाडि छ। कतै कथा जीवन नेपाली आफैंले भन्छ भने कतै तेस्रो तृतीय पुरुषी कथावाचकका रूपमा देखिने सर्वज्ञ समाख्यताले भन्छ। दृष्टिबिन्दुहरूको यस प्रयोगले उपन्यासमा नयाँपन थपेको छ।
कथाको मुख्य पात्र जीवन नेपाली झापाको कुनै एक गाउँबाट हिरो बन्ने सपना बोकेर काठमाडौं आउँछ। ऊ आएकै दिन लुटिन्छ र बलात्कृतसमेत हुन्छ। भोकै–नांगै देखेर एक जोडी निःसन्तान दयालु बूढाबूढीले खान भोजन र लगाउन लुगा दिन्छन्। बस्ने बासको पनि टुंगो लगाई पसलमा कामसमेत दिन्छन्। गाउँकै साथी विक्रमको उक्साहटमा, जीवन हिरो बन्ने रहरले काठमाडौं त आउँछ तर फिल्मको बारेमा उसले केही बुझेको छैन। त्यसैले फिल्मसम्बन्धी तालिम लिन बागबजार जान्छ।
तालिम केन्द्रमा फिल्म क्षेत्रका धेरै मान्छे भेट्छ। ऊ न देख्दामा राम्रो छ, न त बोली नै प्रस्ट बुझिन्छ। बल्ल–तल्ल पाएको सानातिना भूमिकाले पेट पाल्न पनि पुग्दैन। विक्रमको कुरा सुनेर हिरो बन्न आएको जीवन फिल्डमा आएपछि, उसैको भाषामा, ‘हावा खान्छ। ’ फिल्ममै काम गर्दै जाँदा निर्मला भेटिन्छे। दुवै एकअर्कालाई मन पराउँछन् र विवाह गर्छन्। निर्मला अर्थात् ‘नूर’ रेस्टुरेन्टमा नाच्ने केटी हो। काठमाडौंमा आफ्नो ज्यान पाल्न नांगिन पनि पछि नपर्ने केटी जीवनसँग बिहे गरेपछि घरेलु कामदारकारूपमा काम गर्छे। दुई सन्तान हुन्छन्।
उपन्यासकार रंगमञ्चमा काम गर्ने भएर होला, उनले लेखेका उपन्यासका पात्र पनि नाटक मञ्चन हुँदै गर्दाका पात्र जस्ता जीवन्त देखिन्छन्। गौण पात्रको पनि योग्यता नपुगेको मान्छेलाई हिरोको सपनाको भारी बोकाएर उपन्यासकारले पात्रताको सिद्धान्तमा एक अविश्वसनीय प्रयोग गरेका छन्।
निर्मला र जीवन दुवैले अनवरत काम गर्दा पनि हातमुख जोड्न जहिल्यै धौ–धौ। दुवैको प्रेम अटुट र अपार भए पनि दुःखद घटनाहरू हुन्छन्। तीजको व्रतका दिन भोकभोकै अरूका घरमा काम गर्ने क्रममा निर्मला दुर्घटनामा पर्छे र उपचार खर्च जुटाउन नसकेर मर्छे। लास जलाउने शुल्क नहुँदा तीन दिनसम्म आर्यघाटमा उसको मृत शव बेवारिसे हुन्छ।
उपन्यास ‘उबडखाबड’ सपनाको खोजीका साथै जातीय र वर्गीय उत्पीडनको पनि कथा हो। जीवन नेपाली दलित र गरिब परिवारको एक निमुखो पात्र हो। दलित भएका कारण समाजमा उपेक्षित जीवन जिउन बाध्य छ ऊ। जात/थरसमेत लुकाउन बाध्य छ। तर पनि पटक–पटक डेराबाट निकालिन्छ। दलित हुनु त्यहाँमाथि गरिब हुनु भनेको दुःखको पराकाष्टा हो भन्ने कुरा उपन्यासमा छ। जीवन गरिब, निमुखो र दलित भएकै कारण १० वर्षे माओवादी द्वन्द्वका बेला पनि दोहोरो मारमा पर्छ। सुराकी भएको आशंकामा माओवादी र आर्मी दुवैले अपहरण गरी लगेर दिएको चरम यातना यसको उदाहरण हो।
अलि झुत्रेझाम्रे र कुपोषितजस्तो देखिने जीवन दुवै पक्षबाट अपहेलित भएको देखाइएको छ। जहाँ मरणासन्न हुने गरी कुटिनुले शक्तिको आडमा मान्छेले निर्दोष र गर्भवती महिलामाथि गरेको ज्यादती त झन् वर्णन गर्नै नसकिने, कहालीलाग्दो छ। झापा घर जाँदा पनि सत्ता र शक्तिकै डरले रातारात भाग्न बाध्य हुन्छ। भन्छ, ‘कथली माओवादी भएँ म ? कसरी आतंककारी भएँ ? के झुत्रेमुत्रे जति सबै माओवादी हुन् ? के दलित हुनु माओवादी हुनु हो ?’ (५२) तर यी प्रश्नको उत्तर कतै पनि छैन।
उपन्यासको अन्त्यसम्म पनि जीवनको परिवारको स्तरोन्नति नहुनु, निर्मला बेलैमा उपचार नपाई मर्नु र अन्त्यमा शुल्क तिर्न नसकेकै कारण लाससमेत समयमा जलाउन नपाउनु उपन्यासका अति कारुणिक पक्ष हुन्। छोराछोरीको बिचल्ली आदिले समाजमा अझै पनि दलित र गरिबहरूको दुःख उस्तै हुनु र आउने दिनमा पनि समाधान नहुनुको तीतो यथार्थलाई संकेत गर्छ।
टंक चौलागाईं रंगमञ्चमा काम गर्ने भएर होला, उनले लेखेका उपन्यासका पात्र पनि नाटक मञ्चन हुँदै गर्दाका पात्र जस्ता जीवन्त देखिन्छन्। नेपथ्यका पात्र पनि उत्तिकै जीवन्त र रोचक लाग्छन्— जस्तो, जीवनको गाउँको साथी ‘विक्रम’। उसले सिर्जना गरेका फिल्मका र क्यामराका कमालका मिथकहरू सुन्दा पेट मिचिमिची हाँस्न मन लाग्छ।
जीवनको जीवनगाथा रुवाउने हुँदै पनि विक्रमजस्ता पात्रको प्रवेशले उपन्यासमा हास्यरसको उचित प्रयोग भएको छ। घटना र पात्रहरूले हाँस्दाहाँस्दै रुवाउँछ र कति ठाउँमा रुँदारुँदै हँसाउँछ। र्याम्बो र मिसाल पनि बिर्सनै नसकिने पात्र हुन्। फिल्म–फिल्म भन्दाभन्दै एउटा पागल हुन्छ र अर्को बेपत्ता। उपन्यासमा नारी पात्रहरू न्यून छन्। तीमध्ये सिन्धुपाल्चोक घर भएकी उपन्यासकी मुख्य पात्र निर्मला प्रमुख हुन्। सुरुमा पेट पाल्न सहरमा जे पनि गर्न पछि नहट्ने केटी पछि गएर गृहिणी र घरेलु मजदुर हुन्छिन्। पुरुषलाई खुसी पार्न जे पनि गर्न सक्ने नूरको रूपान्तरण अप्रत्याशित र अपत्यारिलो छ।
उपन्यासमा केही समस्या देखिन्छ। जीवन नेपालीको जीवनका आएकी सबैभन्दा महत्वपूर्ण पात्र निर्मलालाई उपन्यासकारले आवाजविहीन बनाएर छोडेका छन्। जीवनभन्दा धेरै नै गुणहरू आफूमा भएकी, दृढ, साहसी र सुन्दर पात्रलाई यसरी आवाजविहीन, लक्ष्यविहीन र गौण बनाउनु लेखकको लैंगिक असंवेदनशीलता हो। जीवनको तोते बोली र जुँघा, गुण भने पनि अवगुण भने पनि, उनको गहना हुन्। उसको सपनालाई यिनै गुणहरूले निर्देषित गरेको बाटोमा अगाडि बढाएको भए, कथामा स्वाभाविकता थपिने थियो। तर, गौण पात्रको पनि योग्यता नपुगेको मान्छेलाई हिरोको सपनाको भारी बोकाएर उपन्यासकारले पात्रताको सिद्धान्तमा एक अविश्वसनीय प्रयोग गरेका छन्। जीवनको तोते बोलीमा एकरूपता छैन। सुरुदेखि नै उपन्यासको प्रमुख पात्रमा गाम्भीर्य कम र हास्यपात्रता बढी हुनुले यस उपन्यासको गम्भीर सन्देशलाई जोकको आधिक्यले प्रभावित पारेको देखिन्छ।