भक्तपुर नगरपालिका कार्यालय घेराउ
भक्तपुर : देको-मिबा-इतापाके जग्गा एकीकरण आयोजनाका पीडितहरुले आइतबार भक्तपुर नगरपालिका कार्यालय घेराउ गरेका छन्।
भक्तपुर नगरपालिकाले सञ्चालन गरेको उक्त आयोजनाले मनोमानीपूर्ण ढंगले जग्गा बाँडफाँट गरेको भन्दै पीडित जग्गाधनी तथा किसानहरुले नगरपालिका कार्यालय घेराउ गरेका हुन्।
भक्तपुर नगरपालिकाको साविक वडा नम्बर ५, १० र १५ तथा हाल वडा नम्बर २ र ६ स्थित देकोचा, कासन, व्यासी, मिबाछें, इतापाके क्षेत्रको एकहजार ६ सय ५४.६ रोपनी जग्गामा उक्त आयोजना सञ्चालन गरिएको छ।
उत्तरमा खासाङखुसङ खोला, दक्षिणमा भक्तपुर नगरकोट सडक, पूर्वमा देकोचा चोकदेखि बन्को जाने पुल र पश्चिममा सल्लाघारी-ठिमी पुरानो बाटोको चौघेरा क्षेत्रमा आयोजनाले काम गरिरहेको छ।
२०७२ माघ २५ गते स्वीकृत गरिएको उक्त आयोजना अहिले ६ वर्षमा पनि चालू रहेको छ। २ वर्षभित्र सम्पन्न गर्ने भनी सुरु गरिएको आयोजना ६ वर्ष पूरा हुँदा पनि नसकिएको भन्दै पीडितहरुले गुनासो गरेका छन्।
आयोजनाले अबको ३ वर्षपछि मात्रै आयोजना पूरा हुने बताएपछि पीडितहरु झन् आक्रोशित देखिएका छन्। पीडितले कसको स्वीकृतिमा आयोजना लम्ब्याउँदै गएको भन्दै प्रश्नसमेत गरेका छन्।
‘आयोजनाका मुख्य अधिकार प्राप्त व्यक्ति हामी जग्गावालाहरु हौं। आयोजना त एउटा व्यवस्थापन समितिमात्रै हो’, पीडित गोपालकृष्ण याकामीले नपा घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘हामी अधिकारवालालाई जानकारी नै नदिई अझै कति वर्षसम्म आयोजना लम्ब्याउने हो ? आयोजनाले अपारदर्शी ढंगले कहिलेसम्म काम गर्ने हो ?’
उनले आयोजना ढिलो हुँदा लागतसमेत बढिरहेको भन्दै बढेको लागत कसले व्यहोर्ने भनी प्रश्नसमेत गरे।
‘आयोजना सुरु गरिँदा एक अर्ब १७ करोड लागत भनियो अहिले त्यो बढेर एक अर्ब ७० करोड लाग्छ भनिएको छ’, याकामीले थपे, ‘आयोजनाको अवधि लम्बिँदै जाँदा लागत पनि बढ्दै आएको छ। बढेको लागत कसले व्यहोर्ने ? के बढेको लागत पूर्ति गर्न अझै हामी जग्गावालाहरुले थप जग्गा काटेर तिर्ने हो ?’
पीडितहरु रामभक्त सुवाल, सत्य त्वायनालगायतले आयोजनाले आफ्नो मनोमानीपूर्ण ढंगले गरिएको जग्गा बाँडफाँट सच्याउनुपर्ने माग गरे।
पीडित जग्गाधनी तथा किसानहरुले भक्तपुर नपा र नपामा निर्वाचित जनप्रतिनिधिहरुको पार्टी नेपाल मजदुर किसान पार्टीले आयोजनामा चलखेल गरेको आरोप लगाउँदै आएका छन्। नपा र नेमकिपाले आफ्नो आसेपासेलाई राम्रो एवं आकर्षक ठाउँमा जग्गा दिएर फरक मत राख्ने र पहुँच नभएकाहरुलाई खोला किनार र अनाकर्षक क्षेत्रमा जग्गा दिनेगरी बाँडफाँट गरिएको भन्दै उनीहरुले आक्रोश पोख्दै आएका छन्।
पीडितहरुले जग्गा बाँडफाँट गर्दा अन्यायमा पारेको भन्दै आयोजनामा सयौं उजुरीसमेत दिइसकेका छन्। पीडितहरुले आफूहरुको गुनासो सम्बोधन गराउन संघर्ष समितिसमेत गठन गरेका छन्। त्यहीं संघर्ष समितिले आइतबार भक्तपुर नपाको कार्यालय र आयोजनाको कार्यालय घेराउ गर्दै विरोध प्रदर्शन गरेका हुन्।
संघर्ष समितिले आयोजनामा सुधार गर्नुपर्ने १६ बुँदे मागसमेत पेस गरिसकेको छ। संघर्ष समितिले चरणवद्ध संघर्षका कार्यक्रमअन्तर्गत नेमकिपाका केन्द्रीय सचिव एवं विघटित प्रतिनिधिसभाका सदस्य प्रेम सुवालको घर समेत घेरिसकेका छन्।
नेता सुवाल भक्तपुर नपामा जननिर्वाचित प्रमुखको हैसियतले काम गर्दैगर्दा उक्त आयोजना अघि बढेको थियो। उनले अहिले पनि आयोजनामा हस्तक्षेप गरेको भन्दै पीडितहरुले भक्तपुर नपा २ औद्योगिक क्षेत्रस्थित नेता सुवालको निवास घेरेका थिए।
आयोजना उपभोक्ता समितिका अध्यक्ष तुलसीराम धुख्वा तथा पदाधिकारीहरुले आयोजनामा चलखेल गरेको भन्दै उनीहरुको घरसमेत घेरिएको थियो। त्यस्तै भक्तपुर नपाका १० वटै वडा अध्यक्षलाई ज्ञापनपत्र बुझाउँदै आयोजना सञ्चालन भएको वडा नं. २ र ६ वडा कार्यालयमा घेराउ गरिसकेको संघर्ष समितिका अध्यक्ष सञ्चज्ञान याकामीले जानकारी दिए।
उनले आफूहरुको माग सम्बोधन नभएसम्म चरणवद्ध आन्दोलन जारी रहने बताए।