भारतको उत्तराखण्डमा हिमनदी फुट्यो, ठूलो जनधनको क्षति

भारतको उत्तराखण्डमा हिमनदी फुट्यो, ठूलो जनधनको क्षति

देहरादुन : भारतको उत्तराखण्डस्थित धौलीगंगा नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। चमोली जिल्लास्थित अलकनन्दा हिमनदी फुट्दा धौलीगंगामा आएको बाढीले ठूलो क्षति गरेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार हालसम्म ७ जनाको शव भेटिएको छ। त्यस्तै १७० जना अझै बेपत्ता रहेका छन्। 

त्यहाँका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले बाढीले पुर्‍याएको क्षतिबारे आइतबार साँझ पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री रावतले मृतकका परिवारलाई चार–चार लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणासमेत गरेका छन्।

मुख्यमन्त्री रावतले ट्विट गर्दै आफू बाढीप्रभावित क्षेत्रमा गएको जानकारी दिएका छन्। उनले उक्त घटनामा १ सय ८० वटा भेंडाबाख्रा पनि बगेको जनाएका छन्। उनका अनुसार हिमनदी फुटेको ठाउँ रेणी गाउँमा मात्रै पाँच जनाको मृत्यु भएको अपुष्ट जानकारी आएको छ। बाढीले ऋषिगंगा जलविद्युत् आयोजनामा पनि क्षति पुर्‍याएको छ।

भारतीय गृहमन्त्री अमित शाहले राहत तथा उद्धारका लागि एनडीआरएफ, आईटीबीपी र एसडीआरएफका टोली घटनास्थल पठाइएको जानकारी दिए। गृहमन्त्री शाहका अनुसार भारतीय वायुसेनालाई पनि सतर्क अवस्थामा राखिएको छ।

उत्तराखण्डका प्रहरी प्रमुख अशोक कुमारले श्रीनगरभन्दा अगाडिको क्षेत्रमा नदीको बहाव सामान्य हुँदै गएको जानकारी दिएका छन्। देवप्रयाग र यसको तल्लो क्षेत्रमा बसोबास गर्नेहरूलाई कुनै जोखिम नरहेको उनले फेसबुकमा राखेको भिडियोमा जनाइएको छ। उनले प्रहरी राहत र उद्धार कार्यमा पूर्णरूपमा खटिरहेको पनि जनाएका छन्।

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले हिमनदी फुट्दा भएको क्षतिप्रति आफू चिन्तित रहेको बताएका छन्। प्रभावित जनताको सुरक्षा र स्वास्थ्यलाई लिएर आफूले प्रार्थना गर्ने राष्ट्रपति कोविदको भनाइ छ। राहत र उद्धार कार्य सम्पूर्ण तयारीसाथ परिचालन हुनेमा उनले विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनाप्रति आफूले निगरानी राखिरहेको जनाएका छन्। यस दुःखद घडीमा पूरै देश उत्तराखण्डको साथमा रहेको आश्वासन मोदीले दिएका छन्।

हिमनदी कसरी फुट्यो भन्ने विषय खुलेको छैन। विज्ञहरूले तापक्रम बढेकाले विशाल हिमखण्डहरूले हिमनदी भत्काइदिएका कारण ठूलो मात्रामा पानीको भेल बगेको र यसले गराएको हिमस्खलनले चट्टान र माटोलाई झारेको हुन सक्ने सम्भावना औंल्याएका छन्। वाडिया इन्स्टिच्युट अफ हिमालयन जियोलोजीबाट हालै अवकाशप्राप्त वरिष्ठ हिमनदी विज्ञ डीपी दोभलले यस्तो सम्भावना बढी रहेको जनाएका छन्। 

सन् २०१३ जुनमा पनि त्यहाँ बाढीका कारण ६ हजार जनाको मृत्यु भएको विश्वास गरिन्छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.