“चुरीफुरी” देखाउँदै ऋषिराज
काठमाडौं : हास्य टेलिशृंखला तथा वेब सिरिजका हास्यकलाकार लिएर निर्देशक ऋषिराज आचार्यले नयाँ फिल्म ‘चुरीफुरी’को सुटिङ गरेका छन्। काठमाडांैका विभिन्न स्थानमा सुटिङ भएको फिल्मका मुख्य नायकनायिका भने गोप्य राखिएको छ।
निर्देशक आचार्यकै लेखन, निर्माण र निर्देशन रहेको ‘चुरीफुरी’मा रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), शूरवीर पण्डित, सुनिता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, सरिश्मा मगर, मनिल तामाङ, रश्मि आचार्यलगायतका कलाकारले अभिनय गरिरहेका छन्।
आरबी मुभिजको ब्यानरमा निर्देशक आचार्य स्वयं र रीना ढकाल निर्माता रहेको फिल्मको सहनिर्मातामा विमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन्। निर्देशक आचार्यले ‘चुरीफुरी’लाई मनोरञ्जनको नौलो प्याकेजका रूपमा व्याख्या गरेका छन्। ‘अहिले विश्व नै कोरोना भाइरस र लकडाउनका कारण असहज जीवन जिउन बाध्य छ। यो परिस्थितिबाट उत्पन्न दिक्दारीलाई ‘चुरीफुरी’ले रिफ्रेस गराउनेछ’, निर्देशक आचार्य भन्छन्, ‘समसामयिक विषयमा उत्कृष्ट मनोरञ्जन दिने कोसिस गरेका छौं।’
राहुल राईको छायांकन, भीमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत रहेको फिल्मका गीतमा समीर आचार्य, विश्व नेपाली र बेनिशा पौडेलको स्वर छ। सुटिङ समापनसँगै नायक–नायिकालगायत फिल्मबारे विस्तृत जानकारी गराउने तयारी निर्माण पक्षको छ।