नुवाकोटमा ६९ खेलाडी सम्मानित
विदुर : नुवाकोटमा ६९ खेलाडी सम्मानित भएका छन् । युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन नेपाल च्याप्टरले नुवाकोटको वट्टारमा तेक्वान्दोलगायत विभिन्न खेलसँग सम्बन्धित खेलाडीहरुलाई आइतबार सम्मान तथा पुरस्कृत गरेको हो ।
संस्थाले अल्ट्राधावक मिरा राईसहित तेक्वान्दो, उसु र जुडोका खेलाडीहरुलाई सम्मान गरेको हो । सम्माननित हुनेहरुमा १३औँ साफ खेलमा तेक्वान्दो खेलबाट १२ वटा स्वर्ण, ६ रजतसहित ११ वटा कास्य पदक प्राप्त गर्ने खेलाडीहरु समेत रहेका छन् ।
यसका साथै कोच तथा व्यवस्थापकलाई समेत सम्मान गरेकोे युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन नेपाल च्याप्टरका अध्यक्ष हरिहर पाण्डेले जानकारी दिए । युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन अवार्ड तथा नुवाकोट सम्मानबाट ४ स्वर्णसहित रजत र कास्य पदक दिलाउन सफल स्विमिङका खेलाडी गौरिका सिंह र २ स्वर्ण पदकधारी आयशा शाक्यलाई पनि नगदसहित सम्मान गरेको छ ।
संस्थाले स्वर्ण पदकलाई २५ हजार रुपैयाँ, रजतलाई १५ हजार रुपैयाँ र कास्य पदकलाई १० हजार रुपैयाँ नगद प्रदान गरिएको जनाएको छ । युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन अवार्डबाट ५ जनालाई ३०÷३० हजार रुपैयाँ र १ जना कोचलाई २० हजार रुपैयाँ प्रदान गरेको पाण्डेले जानकारी दिए ।
गत वर्ष नै आयोजना गर्न लागिएको कार्यक्रम कोरोना महामारीका कारण रोकिएको थियो । विदेशमा रहेर नेपाली खेलकुदको विकासको लागि लगानी गर्न चाहने व्यक्तिहरुबाट रकम सङ्कलन गरी युयुएनटिफले नेपालमा अवार्ड तथा पुरस्कार प्रदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।