बर्डफ्लुको जोखिम र सन्‍त्रास

बर्डफ्लुको जोखिम र सन्‍त्रास

बर्डफ्लु भनेको एभियन इन्फ्लुएन्जा अर्थात् एच५एन१ नामक सूक्ष्म भाइरसको कारणले लाग्ने प्राणघातक रोगलाई नै बर्डफ्लु वा पन्छी रुघा भनिन्छ। यो पन्छीको जीवाणुबाट संक्रमण हुने रोग हो। यो एउटा अति छिटो सर्ने भाइरस पनि हो। यस्तो किसिमको भाइरस १४४ थरीका हुन्छन्। यसर्थ बर्डफ्लु भाइरसको सतहमा एच र एन प्रोटिन रहन्छन्। यसका साथसाथै प्रोटिनका आधारमा भाइरसका उपप्रजाति हुन्छन्। तीमध्ये एच५एन१ र एच७एन७ हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा हुन्। अर्थात् यी बढी घातक हुन्। हिमाग्लुटिनिनलाई संक्षेपमा एच र न्युरामिनिडेजलाई छोटकरीमा एन भनिन्छ। यसको हालसम्म औषधि र खोप पत्ता लागिसकेको छैन। तर विज्ञहरूका भनाइअनुसार उचित सतर्कता अपनाए मान्छेमा यो रोग कमै सर्ने हुन्छ।

विश्वका १४ देशका अहिलेसम्म करिब चार सयजनामा यो रोग सरेकोमा २६० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ। संगठनका अनुसार हालसम्म संसारका ६५ देशमा बर्डफ्लु देखिएको छ। यस रोगको सुरुवात सर्वप्रथम सन् १८७८ मा चराचुरुंगीमा र सन् १९९७ मा मानिसमा भएको थियो। ऐतिहासिक रूपमा हेर्ने हो भने विश्वमा सन् १९६१ मा दक्षिण अफ्रिकी मुलुकको कुखुरापालन फर्मबाट फैलिएको यो रोगले विश्वव्यापी रूप लिँदै कैयन् मानिसको ज्यानसमेत लिइसक्यो। त्यसैगरी दक्षिणपूर्वी एसियाका भारत, बंगलादेश, म्यानमार, इन्डोनेसिया, थाइल्यान्ड र नेपाल गरी ६ मुलुकमा घरपालुवा कुखुरामा तथा इन्डोनेसिया, म्यानमार र थाइल्यान्डमा भने मानवमा समेत यो रोग देखा परेको छ। यसबाट सन् १९९७ यता संसारभर यसबाट २४८ जना मानिसको मृत्यु भइसकेको छ भने २२ अर्ब पन्छीजन्य मरेका वा नष्ट गरिएका र दुई सय अर्ब डलर क्षति भएको विज्ञहरूको भनाइ रहेको छ।

दक्षिण एसियामा सन् २००६ मा पहिलोपटक यो रोग फैलिएको हो। बर्डफ्लुको जीवाणु खासगरी रोगी पन्छीबाट सर्ने गर्छ। तर पनि मानिसबाट मानिसमा सरेर मृत्युसमेत भएका घटना चीन, कम्बोडिया, थाइल्यान्ड, भियतनाम तथा टर्कीमा सार्वजनिक भइसकेका छन्। हाम्रा छिमेकी मुलुकहरू चीन र भारतमा पनि यसले ठूलो आर्थिक र मानवीय नोक्सानी पुर्‍याएको छ। नेपालमा भने सन् २००९ मा मात्र बर्डफ्लु रोग भित्रिएको हल्लाखल्ला भएलगत्तै त्यसपछिका वर्षमा यसले बढ्दो रूपमा सन्त्रास दिन थालेको छ। तसर्थ अब नेपाल पनि यो रोगबाट अछुतो रहन सकेन।

संक्रमण थाहा नपाएर संक्रमित कुखुरा र पुगे एकैपटक धेरैमा सर्नसक्ने जोखिम हुन्छ। यसका लागि संघ, प्रदेश र स्थानीय सरकारले यसमा विशेष ध्यान दिन जरुरी छ।

हाम्रो देशमा फेरि बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका अनुसार गत शुक्रबार काठमाडौं उपत्यकाको तारकेश्वर नगरपालिका ७ साङ्लेखोला, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो। उक्त क्षेत्रमा कृषकले पालेका कुखुरा, बट्टाई, हाँस र टर्कीमा संक्रमण फेला परेको हो। सो क्षेत्रमा १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५ सय ४२ अन्डा र ७५ केजी दाना नष्ट गरिएको सम्बन्धित क्षेत्रले जनाएको छ। त्यसरी नै रोग पुष्टि भएका क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल सो क्षेत्रलाई नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकाय परिचालन गरिएकोे विभागले जनाएको छ।

भारतबाट सरेको भए पहिला सीमा क्षेत्रमा देखिनुपर्ने थियो। तर त्यस्तो किसिमको स्थिति देखिएन। मूलतः पशु सेवा विभागअन्तर्गत आठवटा क्वारेन्टाइन कार्यालय र २४ वटा क्वारेन्टाइन चेकपोस्ट् छन्। ती सबैलाई सतर्क रहन निर्देशन दिइएको बताइएको छ। छिमेकी देश भारतसँगको खुला सिमानाका कारण लुकीचोरी आयात हुन सक्ने सम्बन्धित क्षेत्रका विज्ञहरूको भनाइ छ। केही समयअगाडि छिमेकी राष्ट्र भारतमा खासगरी मध्यप्रदेश, महाराष्ट्र, राजस्थान र हिमाचल प्रदेशमा बर्डफ्लु देखिएको थियो।

छिमेकी मुलुकका विभिन्न प्रदेशमा कुखुरा र चरा मर्न थालेपछि नेपालमा पनि जोखिम उच्च भएको हो। भारतसँग धेरै ठाउँ खुला सीमा छ। देशमा आयात गरिने कतिपय पन्छी र पन्छीजन्य वस्तु भारतबाट तस्करी हुँदै हाम्रो देशमा आउने गरेका छन्। यसरी विगतका वर्षहरू हेर्ने हो भने २०७५ सालमा विराटनगर र रसुवामा करिब २२ हजार कुखुरा नष्ट गरिएको थियो। त्यसैगरी मकवानपुरमा २०६९ साउन ३१ गते कुखुरामा बर्ड फ्लुका जीवाणु फेला पर्दा ११ हजार कुखुरा मारिएका थिए।

समग्रमा भन्नुपर्दा पशु सेवासँग सम्बन्धित निकायहरू परिचालन गरी रोग देखिएका क्षेत्रमा रहेका करिब साढे २३ सय वटा घरपालुवा पन्छी तया रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिसकिएको विभागले जनाएको छ। हाल देशमा कुखुरापालनमा एक खर्बभन्दा बढी रुपैयाँ लगानी भएको पोल्ट्री व्यवसायी मञ्चले जनाएको छ। यो व्यवसायमा रहेका ७५ प्रतिशतभन्दा बढीले नाफा कमाउने गरेका छन्। यसरी बीचबीचमा आउने 

बर्डफ्लुको संक्रमणले कुखुरापालक चिन्तित छन्। विदेशबाट गैरकानुनी ढंगले आयात हुने चल्लामा पूर्ण प्रतिबन्ध लगाउन, बर्डफ्लु तथा महामारीमा नष्ट भएका कुखुरा र अन्डाको क्षतिपूर्ति दिनुपर्ने आवाज बारम्बार उठ्छ।

सरकारी तथ्यांकअनुसार वार्षिकरूपमा कुखुराको मासु २० अर्ब ५२ करोड ८८ लाख रुपैयाँ, अन्डाबाट नौ अर्ब १३ करोड ३७ लाख ३६ हजार, चल्ला बिक्रीबाट तीन अर्ब ६० करोड ७६ लाख, कुखुराको मलबाट ४५ करोड ३७ लाख रुपैयाँको कारोबार हुन्छ। ६४ जिल्लामा २१ हजार नौ सय ५६ व्यावसायिक फार्म रहेको विभागले जनाएको छ। उच्च हिमाली क्षेत्रमा चिसो हुने भएकाले त्यहाँको तापक्रम कम हुँदा सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, जाजरकोट, जुम्ला, मुगु, कालिकोट, अछाम, बाजुरा र हुम्ला गरी ११ जिल्लामा व्यावसायिक कुखुरापालन हुँदैन। यीबाहेक सबै जिल्लामा कुखुरापालन हुन्छ। देशभर कुखुरापालन भए पनि चितवन, काभ्रे, दाङ, सुनसरी, धादिङलगायत जिल्ला कुखुराका पकेट क्षेत्र हुन्। तीमध्ये २० हजार चार सय ८३ बोइलर, १३ सय ३७ लेयर्स कुखुरा र एक सय २८ ह्याचरी, आठ गिरिराज कुखुराका फार्म छन्।

विभागका अनुसार ६ करोड आठ लाख २६ हजार आठ सय कुखुरापालन गरिएको छ। तीमध्ये पाँच करोड २६ लाख ६६ हजार ब्रोइलर, ६९ लाख आठ हजार पाँच सय लेयर, १२ लाख ५२ हजार दुई सय अन्य जातका कुखुरा पालिएका छन्। कुखुरापालनमा ५५ हजार आठ सय ७१ जनाले रोजगार पाएका छन्। ९९ हजार ६ सय अस्थायी कामदार छन्। कुखुरापालनमा निजी क्षेत्रको लगानी छ। यसर्थ पछिल्ला केही वर्षमा कुखुराको मासु र अन्डा उपभोगसमेत ह्वात्तै बढेको छ। एक ठाउँमा संक्रमण फैलिएलगत्तै कुखुराको मासुको उपभोग स्वात्तै घट्ने हुँदा कृषकहरू मारमा परेका छन्। तसर्थ स्वस्थ कुखुराको मासु उपभोग गर्न योग्य हुन्छ भनेर सम्बन्धित क्षेत्रका अधिकारीले पनि पहल गर्न जरुरी छ। कुखुरा उत्पादनमा नेपाल आत्मनिर्भर भइसकेको अवस्था छ भने वार्षिक अर्बौं रुपैयाँ जोगिने सम्भावना हुन्छ। त्यसका लागि पनि नेपाली कृषकलाई बचाउन राज्य चनाखो हुन जरुरी छ।

सम्भवतः जाडोयाममा साइबेरियाबाट चराहरूको बथानले आफ्नो बासस्थान सार्ने हुनाले यो समय बढी जाडो हुनाले भारत तथा नेपालमा चराहरूले बसाइँ सार्ने गर्छन्। त्यसैबेला ती चराबाट बर्डफ्लु यहाँका घरपालुवा पन्छीजन्यमा सर्ने गर्छ। खासगरी यो महामारी जाडोयाममा प्रायः देखिने गर्छ। बर्डफ्लु चरामा हुने भाइरस संक्रमण हो र यो छिटो फैलिन्छ। यसको संक्रमण देखा परेपछि उच्च सतर्कता अपनाउन जरुरी हुन्छ। कुखुरा फारममा यो संक्रमण भएपछि मानिसमा समेत सर्ने सम्भावना बढी हुन्छ। कुखुराको हेरचार गर्ने क्रममा नै यो संक्रमण फैलिने भएकाले जोखिमपूर्ण हुन्छ। देशमा कुखुराको मासु धेरै खपत हुनेमध्येमा पर्छ। संक्रमण थाहा नपाएर संक्रमित कुखुरा र पुगे एकैपटक धेरैमा सर्नसक्ने जोखिम हुन्छ। यसका लागि संघ, प्रदेश र स्थानीय सरकारले यसमा विशेष ध्यान दिन जरुरी छ। स्थानीय तहले पनि यसमा काम गर्न सक्छन्। सामान्यतः बर्डफ्लु जाडो मौसममा छिटो फैलिने भए पनि यो जुनसुकै मौसममा देखापर्छ। यद्यपि स्थानीय प्रशासनले संक्रमण फेला परेको स्थानलाई केन्द्रविन्दु मानेर करिब तीन किलोमिटर टाढासम्म तीन महिना कुखुरालगायत अन्य पन्छीजन्य जीव नपाल्न आग्रह गरेको हो। अतः स्थानीय प्रशासनले ती ठाउँहरूलाई बर्डफ्लु संकटग्रस्त क्षेत्रसमेत घोषणा गर्नुपर्ने नियम छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.