प्रथम मर्स्याङ्दी अध्यक्ष ब्याडमिन्टिन कप सम्पन्न
बेंसीसहर : लमजुङमा सम्पन्न जिल्लास्तरीय प्रथम मर्स्याङ्दी अध्यक्ष ब्याडमिन्टिन कप प्रतियोगिताको च्याम्पियन भोटेओडारको टिम बनेको छ।
मर्स्याङ्दी गाउँपालिका–३ खुदीमा सम्पन्न जिल्लास्तरीय प्रतियोगितामा मर्स्याङ्दी टिमका विनोद तामाङ र रोहित घलेको जोडीलाई सोझो सेटमा हराउँदै भोटेओडार टिमका सुवास श्रेष्ठ र रोहित गुरुङको जोडी च्याम्पियन बनेको हो।
सोमबार बिहान भएको फाइनल खेलमा विनोद र रोहितको जोडीलाई सुवास र रोहितको जोडीले २१–१८ र २१–१३ सेटमा हराएको हो। प्रतियोगितामा कृष्णलाल प्रधान र प्रल्हाद बोहोरा, अमृत रुम्बा र प्रदिप लामाको जोडी सान्त्वना हुन सफल भए। प्रतियोगितामा खुदी युथका प्रदिप लामा उत्कृष्ट खेलाडी घोषित भए। २८५७ औं सोनाम ल्होसारको अबसरमा खुदी युथद्वारा आयोजित प्रतियोगितामा ३६ टिमको सहभागिता थियो।
प्रतियोगितामा विजेता जोडीले २० हजार, उपविजेताले १२ हजार र सन्त्वनाले २ हजार ५ सय, कप, मेडल र प्रमाणपत्र प्राप्त गरे। विजयी खेलाडीहरुलाई मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, वडा अध्यक्षद्धय प्रेम बस्नेत, नारायणबहादुर थपा र आयोजक खुदी युथका अध्यक्ष अमृत रुम्बाले पुरस्कार हस्तान्तरण गरे। अध्यक्ष गुरुङले खेलकुँद क्षेत्रको विकासको लागि खेल मैदान निर्माण र खेलकुँद प्रतियोगिताका लागि सहयोग गरिने बताए।