अछाममा नियमित हवाइ उडान
अछाम : अछाममा नियमित हवाइ उडान हुन थालेपछि यात्रामा सहज हुन थालेको छ । साँफेबगर एयरपोर्ट संचालनमा आएपछि नियमित उडान हुन थालेको हो । जिल्लामा हवाइ उडानले ८ देखि ९ घण्टाको गाडीको कष्टपूर्ण यात्राबाट राहत मिलेको यात्रुले बताएका छन् ।
नेपाल एयरलाइन्स साँफे नेपालगंज उडान भर्दै आएको थियो । कोरोनाका कारण हवाइ सेवा बन्द भएपछि एयरलाइन्सले जहाज अभावमा उडान संचालन गर्न नसकिने बताएपछि अहिले समिट एयरले उडान गरिरहेको छ ।
समिटले हप्ताको एकदिन आइतबार साँफे नेपालगंज र बाँकी दिन साँफे धनगढी उडान गरिरहेको छ । समिटले साँफेदेखि धनगढी ३ हजार ५ सय ५० र साँफे नेपालगंजका लागि ४ हजार ६ सय ५० रुपैयाँ भाडादर कायम गरेको छ ।
सिता एयरलाइन्सले अछामको साँफेबगरमा उडान परिक्षण गरेको छ । सिताले मंगलबार साँफेबगर एयरपोर्टमा परिक्षण उडान गरेको हो । साँफे धनगढी उडान संचालनका लागि उडान भरेको एयरलाइन्सले जनाएको छ ।
प्रदेश राजधानीसँग सुदूरका पहाडि जिल्ला जोड्न डोटी,अछाम र बैतडीको पाटनलगायतका जिल्लामा उडान भएको सिता एयरका वरिष्ठ महाप्रबन्धक परिक्षण घनश्याम भुषालले बताए ।
नागरिक उड्यन प्राधिकरणलाई उडान परिक्षणको प्रतिवेदन बझाएपछि बजार व्यवस्थापकले नियमित उडानको मिति तोक्ने भुषालले बताए । सुदूरका पहाडि जिल्लामा रहेका एयरपोर्ट मध्ये साँफेबगर एयरपोर्ट उडानका लागि सहज रहेको क्याप्टन रबिन्द्र ढंगोलले बताए ।
नियमित उडानले निकै सहज भएको स्थानीयले बताएका छन् । बसको लामो यात्रा गर्दा हुने समस्याबाट छुटकारा मिलेको र बसमा ८ घण्टाको झन्झटिलो यात्रा अहिले १७ मिनेटमै धनगढी पुग्ने गरेको स्थानीय प्रेमराज रेग्मीले बताए ।
अब एयरलाइन्सबीच प्रतिष्पर्धामा भाडादर घट्ने उनले बताए । सुदूरपश्चिमका पहाडि जिल्लामध्ये अछाममा दुईवटा एयरपोर्ट रहेको छन् । साँफेको एयरपोर्ट संचालनमा रहेको छ भने कमलबजारमा रहेको एयरपोर्ट संचालनमा आएको छैन।