हिंसाविरुद्ध प्रतिकार गर्न सिक्दै किशोरी

हिंसाविरुद्ध प्रतिकार गर्न सिक्दै किशोरी

दैलेख : गत मंसिर तेस्रो साता दैलेखमा १४ वर्षीया बालिका आफ्नै बावुबाट बलात्कृत भइन् । नारायण नगरपालिकाकी ती बालिकालाई ३८ वर्षीय बाबुले घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त घटनाको एक महिना नबित्दै नारायण नगरपालिकाकै पाँच वर्षीया बालिका बलात्कारमा परिन् ।

छिमेकी ३५ वर्षीय पुरुषले घरमा कोही नभएको मौका छोपेर बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पुष अन्तिम साता मात्रै उस्तै घटना दोहोरीयो । सुर्खेत घर भएकी १४ वर्षीया बालिका गुराँस गाउँपालिकास्थित सेरीमा बलात्कृत भइन् ।

२० वर्षीय युवकले उनीमाथि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । यी केही प्रतिनीधिमुलक घटना मात्रै हुन् । पछिल्लो समय दैलेखका छोरीहरु आफन्त र छिमेकीबाटै बलात्कृत भइरहेका छन् ।

घरबाट विद्यालय र विद्यालयबाट घर फिर्ता हुँदासमेत त्रसित हुनुपर्ने बाध्यता बालिका तथा किशोरीले झेल्नुपरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारका अनुसार पछिल्लो ६ महिनायता दैलेखमा सात वटा बलात्कारका घटना प्रहरीकोमा दर्ता भएका छन् ।

यी घटनामध्ये तीन जना बालिका बलात्कृत भएको प्रहरी निरीक्षक सुनारले बताए । बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरु रोकथामका लागि आठबीस नगरपालिकाका बालिका तथा किशोरीहरुलाई आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम दिइएको छ ।

बालिका र किशोरीलाई यौनहिंसाको प्रतिकार गर्ने उपाय सिकाउन आत्मरक्षा तालिम दिइएको हो । नगरपालिकाका १७ सामुदायिक विद्यालयका ६६ जना बालिका तथा किशोरीहरुलाई तालिम प्रदान गरिएको छ ।

तीन दिनसम्म दिईएको तालिममा बालिका तथा किशोरीहरुले यौन हिंसा तथा दुव्र्यवहार भएमा वा कसैले बलात्कारको प्रयास गर्न खोजे प्रतिकार गर्ने उपायहरु सिकाइएको छ । बालिका तथा किशोरीहरुलाई गलत नियतले हात समाते, पछाडिबाट अंगालो हाल्न खोजे, कपाल समाते, बलात्कार वा यौनहिंसाको प्रयास गरे त्यसबाट जोगिनका लागि प्रतिकार गर्ने सेल्फ डिफेन्सका सातवटा उपायहरु सिकाइएको  बालिका र किशोरीलाई तालिमको सहजिकरण गर्दै आएकी सजना सुनारले बताइन् ।

उनले एक्लै हिँडडुल गर्दा कसैले जबरजस्ती गर्न खोजे त्यसबाट बच्ने तरिकाहरू सिकाइएको सुनारले जानकारी दिइन् । नगरपालिकाले स्कुले बालिका तथा किशोरीहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरेको हो । पहिलो चरणमा सामुदायिक विद्यालयका बालिका तथा किशोरीहरुलाई आत्मरक्षाको सिपहरु सिकाएको आठबीस नगरपालिका उपप्रमुख दीपा बोहराले बताइन् । बालिका, किशोरी र महिलाहरुमा आत्मविश्वासको कमीले पनि हिंसादेखि बलात्कारसम्मको सिकार हुने भएकाले उनीहरुमा आत्मविश्वास जगाई आत्मरक्षा गर्ने विधि सिकाइएको उपप्रमुख बोहराको भनाइ छ ।

आत्मसुरक्षा तालिम सिकेका किशोरीहरुले पहिला भन्दा आत्मविश्वास र सुरक्षित महशुस गरेको बताएका छन् । जनज्योती मावीमा अध्ययनरत निशा शाही भन्छिन् ‘कसैले यौन हिंसा तथा दुव्र्यवहारको प्रयास गरे प्रतिकार गर्न सक्ने सीप जानेका छौँ, यो सीप अरूलाई पनि सिकाउनेछौँ ।’ आत्मसुरक्षाको सीप सिकेकी किशोरी कमला माझीले तालिममा यौनजन्य दुव्र्यवहारबाट कसरी जोगिने भन्ने सिकेको बताइन् । आफूहरूले बलात्कारको प्रयास गर्ने व्यक्तिको आँखामा दबाब दिने, संवेदनशील अंगमा प्रहार गर्ने लगायतका उपायहरु तालिममा सिकेको उनले बताइन् । माझीले भनिन् ‘तालिम पश्चात आत्मविश्वास बढेको छ, सुरक्षित महशुस गरेका छौँ ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.