गगन थापाको चेतावनी: हिम्मत छ भने हामी सबैलाई राजद्रोहको मुद्दा लगाऊ
काठमाडौँ: नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य गगन थापाले आफूलाई पनि राजद्रोहको मुद्दा लगाउन सरकारलाई चुनौती दिएका छन् ।
नेकपा प्रचण्ड समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको सन्दर्भ जोड्दै नेता थापाले यस्तो चुनौती दिएका हुन् ।
राष्ट्रपतिका बारेमा आफूले पनि बोलेकाले राजद्रोहको मुद्दा लगाउन उनले चुनौती दिएका हुन् । थापाले भनेका छन् 'तपाईंको आदेशले हाम्रो मुख बन्द हुँदैन्, आज रामकुमारी झाँक्रीले राष्ट्रपतिविरुद्ध बोलेको भन्दै राजद्रोहको मुद्दा लगाइँदै छ, झाँक्रीले राष्ट्रपति भण्डारीका बारेमा व्यक्तिगत कुरा गरिन् भनिएको छ । राष्ट्रपति भनेको व्यक्ति होइन संस्था हो । उहाँले संस्थाको गरिमा राख्न सक्नुभएन, संसद् पुनःस्थापना भएपछि राष्ट्रपतिलाई घर फिर्ता पठाउने हो ।’
थापाले अघि थपे, ‘चपलीमा उहाँको घर छ, घर फिर्ता पठाउने हो । मैले पनि बोलेको छु । हिम्मत छ भने राजद्रोहको मुद्दा हामी सबैलाई लगाऊ, तिम्रो झ्यालखानाको संख्या अझै बढाऊ ।’
नेता थापाले संसद विघटनको मुद्दामा अदालतले न्याय गर्छ भन्नेमा आफूहरु आशावादी रहेको पनि बताए । बिहीबार विराटनगरमा नेपाली कांग्रेस महानगर समितिले 'वर्तमान राजनीतिक अवस्था संवैधानिक संकट, यसको निकास अवको आवश्यकता' विषयक बिचार गोष्ठीमा उनले यस्तो बताएका थिए ।