अव्यवस्थित तारले बढायो जोखिम

अव्यवस्थित तारले बढायो जोखिम

भोजपुुर : भोजपुर सदरमुकामका हरेक गल्ली, चोक र मोडमा तार लत्रिएका छन्। बिजुलीका पोलमा टेलिफोन, इन्टरनेट र बिजुलीका तारको भार छ। एकै ठाउँमा टाँगिदा सबै खाले तार बटारिएका छन्। कयौैँ बिजुलीका पोल पुराना भइसकेका छन्। अव्यवस्थित रूपमा यत्रतत्र झुन्डिएका तारले सदरमुकामलाई कुरूप बनाएको छ। ती गुजुल्टिएका तारका कारण कतिबेला दुर्घटना निम्तिने हो कुनै ठेगान छैन। सदरमुकामको यो हविगतले जति कुरूप बनाएको छ, त्यति जोखिम पनि निम्त्याएको छ।

अव्यवस्थित तारका कारण सदरमुकाममा जोखिम बढे पनि समाधानतर्फ सरोकारवाला निकायको चासो पुगेको देखिन्न। बैंक रोड, डाँडा गाउँ, चार भञ्ज्याङ, पानी ट्यांकीलगायत मुख्य स्थानमा जोखिमपूर्ण अवस्थामा विजुली, इन्टरनेट र टेलिफोनका तार भेटिन्छन्। तार व्यवस्थापनमा ध्यान नपुर्‍याउँदा सम्भावित दुर्घटनाको जोखिम मोल्नुपर्ने स्थिति छ।

विशेषगरी भूकम्प, आगलागी, हावाहुरी जस्ता प्राकृतिक विपद्मा झनै जोखिम बढ्ने स्थानीय बासिन्दा बताउँछन्। बीच बजारका स्थानीय शम्भु वालाहाङ राईले भने, ‘हावाहुरी चल्दा पनि डर हुन्छ। तार यसरी बटारिएका छन् कि बिजुली सट हुने वित्तिकै सबै सखाप हुने स्थिति छ।’

तार व्यवस्थापनमा सम्बन्धित निकायकै बेवास्ताका कारण जोखिम धेरै बढेको हो। विद्युत् प्राधिकरणका कर्मचारीलाई पनि कुन सेवाग्राहीको कुन तार हो भन्ने छुट्याउन मुस्किल पर्ने गरेको छ। टेलिफोनमा समस्या आउँदा प्राविधिकलाई पनि काम गर्न समस्या हुने गरेको बैंक रोडका स्थानीय सेवाग्राही विष्णुकुमारी राईले सुनाइन्। सेवा लिँदा जोखिम पनि सँगसँगै थपिने गरेको उनको भनाइ छ।

साँघुरिएको बजार क्षेत्रका सडकमा टाँगिएका होचा तार ठूला मालवाहक सवारीसाधनले चुँडाल्ने र बिगार्ने हुँदा लाइन सट हुने जोखिम उत्तिकै रहेको पोखरेका स्थानीय अगुवा नवीन प्रधानको भनाइ छ। भन्छन्, ‘सानो बाटोमा घर जत्रा गाडी कुदाउँदा धेरै तार चुँडिने गरेको छ, डरमर्दाे स्थिति छ। न त बिजुली कार्यालयले हेर्छ, न टेलिकमले, न कुनै इन्टरनेट कम्पनीले। कतिबेला कस्को धनजनको क्षति हुने हो, टुंगो छैन।’

यता स्थानीयवासीबाट तार व्यवस्थापनमा चासो नदिइएको प्राधिकरणले जनाएको छ। बजारका विद्युत् विस्तार लाइन, अन्य इन्टरनेट कम्पनी र नेपाल टेलिकमले एकै स्थानमा तार व्यवस्थापन गर्दा यो समस्या आएको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख सुधीरकुमार रायले बताए।  उनले भने, ‘बजारमा त्यस्ता धेरै बिजुलीका पोल छन्, जहाँ अन्य इन्टरनेट कम्पनी र नेपाल टेलिकमले आफ्ना लाइन विद्युत्का तारसँग राखेका छन्। सेवाग्राहीबाट पनि कुनै प्रतिक्रिया आएका छैनन्। सेवाग्राहीले निवेदन दिएमा मात्रै हामी ती तार व्यवस्थापन गर्नेछौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.