कालो बादलमा चाँदीको घेरा

कालो बादलमा चाँदीको घेरा

इमर्जेन्सीमा फोनको घन्टी बज्छ। फोन उठाउँछु। उताबाट सिस्टरको अत्तालिएको आवाज सुन्छु। सिस्टर एक सासमै बोल्नुहुन्छ, ‘डक्टर, एउटा सुत्केरी अस्पताल आउँदा आउँदै बाटोमै बेहोस भइछन्। बच्चा घरमै जन्मेको रहेछ। साल अड्केको रहेछ। लौन चाँडो गर्नुपर्ने अवस्था छ। बिरामीको नाडीको चाल, ब्लड प्रेसर, अक्सिजनको मात्रा नाप्दा देखाएन, के गरौं ?’

सबै कुरा सुनेपछि त्यस दिन ड्युटीमा रहेकी म पनि अलि अत्तालिन्छु। सम्हालिँदै भन्छु, ‘सिस्टर, बिरामीलाई छिट्टो इमर्जेन्सी पठाइदिनुस्। दाहिने हातले फोन राख्दै देब्रे हातले मोबाइल फोनबाटै सिनियर डाक्टरलाई केसबारे जानकारी दिन्छु। इमर्जेन्सीका स्टाफलाई तयारी अवस्थामा रहन भन्छु। यस्तो केसमा एक–एक सेकेन्डको महŒव जो छ। अझै झल्झल याद आइरहेको छ, २०७७ साउनको त्यो मंगलबार। रातको भनौं कि बिहान ? करिब २ः३० बजे। जति बेला सारा विश्व नै महिनौंदेखि कोरोना भाइरसको संक्रमण जोखिमले आक्रान्त छ। कति बेला कस्तो अवस्थाका बिरामी आइपुग्छन्, केही भन्न नसकिने अवस्था छ।

करिब ४/५ जना आफन्तसहित ह्विल चेयरमा राखेर अस्पतालकी सहयोगी दिदीले बिरामीलाई तुरुन्तै इमर्जेन्सी ल्याउनुहुन्छ। दौडेर बिरामीको नाडीको चाल छाम्छु तर भेट्दिनँ। चिम्लिएका उनका आँखा तानेर हेर्छु, नानी फुलिसकेको पाउँछु। केवल चिसो शरीर मात्र महसुस गर्न सकें। मनमा अनिष्टको संकेत आइसकेको थियो। ड्युटीमा रहेको चिकित्सकका लागि बिरामीको सास हुँदा मात्र होइन, नहुँदा पनि बिरामी बचाउन सकिन्छ कि भन्ने आस उत्तिकै हुन्छ। यी हरफहरू लेखिरहँदा लगभग सास गुमाएर पनि दोस्रो जीवन पाएका ती बिरामीको तस्बिर आँखामा चलचित्रका दृश्यझैं दौडिरहेछन्।

ती महिलालाई इमर्जेन्सीको बेडमा सुतायौं। सास फेरेको कुनै संकेत देखिन्न, न मुटु नै चलेको संकेत। सिनियर चिकित्सक, नर्सिङ स्टाफ, सहयोगी दिदीहरू सबै उनलाई बचाउन तल्लीन छौं। कोही अक्सिजन लगाइदिन त कोही सलाइन पानी र औषधि दिने नसा खोल्न। कोही औषधि तयारी गर्न त कोही बिरामीलाई मोनिटरमा जोड्न। चिकित्सक हामी समय खेर नफाली तत्काल सीपीआर अर्थात् छाती थिचेर बन्द मुटुलाई ब्युँताउने प्रयास गरिरहेछौं जसले दिमाग र फोक्सोसम्म रगत पुग्ने र मुखबाट अक्सिजन पम्प गराई कृत्रिम श्वास फेराएर बिरामी बचाउँछ।

बिरामीको कलिलो अनुहार हेर्छु, बचाउनै पर्छ भन्ने भावना बढेर आउँछ। २१ वर्षको उनको त्यो उमेर ! करिब तीन घण्टाअघि मात्रै यो धर्तीमा आगमन भएको नवजात शिशु ! आमाको न्यानो काखको अभावमा च्याँ–च्याँ गर्दै रोइरहेको त्यो क्रन्दन ! अनि हेरिरहेछन् मलिन अनुहारले जीवनसंगिनी।

कतै साल अड्केर रगत धेरै बगेर पो हो कि भन्ने लागेर सीपीआरसँगै सिनियर डाक्टर भने उनै महिलाको साल निकाल्ने प्रयासमा जुट्नुभयो। उहाँले आश्चर्यचकित हुँदै भन्नुभयो, ‘ओहो ! के हो यस्तो ? सालको नालमा त फलामको कुटो पो बाँधेर झुन्ड्याइएको छ त।’ साल निकाल्ने हाम्रो प्रयास विफल हुन्छ।  त्यो कुटो किन त्यसरी बाँधियो ? किन बिरामीलाई समयमा अस्पताल ल्याइएन भनेर न सोध्ने समय थियो न त सोच्ने नै। सबैको तर्फबाट हरसम्भव प्रयास भयो। बिरामीको कलिलो अनुहार हेर्छु, बचाउनैपर्छ भन्ने भावना बढेर आउँछ। २१ वर्षको उनको त्यो उमेर ! करिब तीन घण्टाअघि मात्रै यो धर्तीमा आगमन भएको नवजात शिशु ! आमाको न्यानो काखको अभावमा च्याँ–च्याँ गर्दै रोइरहेको त्यो क्रन्दन ! छेवैमा उभिएको एउटा मान्छे जो शिशु च्यापेर सकिनसकी आँसुलाई आँखाभित्र लुकाइरहेछ। अनि हेरिरहेछ मलिन अनुहारले जीवनसंगिनी।

हृदयविदारक परिस्थितिमा संयम हुनु र जानेका ज्ञान अनि सीपलाई बिरामीको उपचारमा हरसम्भव प्रयोग गर्नु नै पेसागत धर्म ठानेर मनलाई सम्हाल्छु। मनमनै भन्छु, ‘तिमी बाँच्नुपर्छ। शिशुलाई आमाको काखको न्यानो दिनैपर्छ। तिम्रो मृत्युको दोषको भागीदार यो नवजात शिशुको जन्मलाई दिनु हुँदैन।’ करिब चालीस मिनेट जतिको अथक प्रयासपछि पनि उनी संसारमा फर्किने कुनै संकेत पाएनौं। निरास हुँदै सबै प्रयास स्थगित गर्छौं। स्केलले तानेको जस्तो सीधा–सीधा १२ वटा धर्सासहितको ईसीजीको प्रिन्ट निकाल्छौं र भारी मनले उनलाई बचाउने हरप्रयास विफल भएको यथार्थ परिवारलाई भन्छौं।

हामी धेरैको दिमागमा अहिले संसारमा वितण्डा मच्चाइरहेको कोरोना भाइरस स्मरण हुन्छ। कतै उनमा कोरोना भाइरसको संक्रमण त थिएन ? हामी कसैले मास्क त कसैले फेस सिल्ड मात्र लगाएका थियौं। कसैले त मास्क र पन्जा मात्रै। हतार–हतार मास्क फेर्छौं। हात स्यानिटाइज गर्छौं अनि पन्जा निकालेर हात धुन्छौं। सिनियर चिकित्सकसँग सल्लाह गरेर स्वाब कोरोना परीक्षणलाई पठाउने निधो गरी उनलाई सेतो कपडामा बेरेर शवगृहमा पठाउँछौं।

हर्षोल्लासमा सुँक्कसुँक्क !
सन्तानले यस धर्तीमा जन्म लिएको दिन हर्षोल्लास मनाउने भाग्य सबै बुवाले कहाँ पाउँदा रहेछन् र ? सुँक्कसुँक्क आवाज गर्दै शिशु च्यापेर शोकमा डुबेका उनका श्रीमान् र आफन्तलाई प्रश्नहरू सोध्छु। उनको मृत्युको कारण पत्ता लगाउने प्रयास थियो त्यो। काठमाडौंको कलंकीबाट करिब बीस किलोमिटर पश्चिम गाउँमा घर बताउने उनीहरूले बच्चा जन्मेर साल नझरेपछि कुटो बाँधेर झुन्ड्याए। साल झर्छ भनेर त्यसो गरेका रहेछन्। त्यसपछि तुरुन्तै अस्पताल ल्याएको र बाटोमा बोलिरहेकी उनी एक्कासि बेहोस भएकी रहिछन्। कोरोना रोगको लक्षण परिवार कसैमा नरहेको र बिरामीमा पुरानो कुनै रोग नरहेको जानकारी पाएँ।

बताइएका कुरामा कति सत्यता थियो ? मापन गर्ने आधार थिएन। शोकसन्तप्त परिवारप्रति समवेदना दिनुको विकल्प भएन। इमर्जेन्सीमा अघिदेखि पालो कुरिरहेका बिरामीलाई जाँच गर्न सुरु गर्छु। पर्सिपल्ट तिनै महिलाको कोरोना  पोजिटिभ भएको पुष्टि भयो। त्यसपछि घरमा ओछ्यानमा थला परेकी हजुरआमा र उमेरले साठी कट्नुभएको अनि सुगर, प्रेसरको औषधि नियमित सेवन गरिरहनुभएका बुवाआमा सम्झिएँ र भयभीत बनें। आखिर आत्तिनु समाधान थिएन। पाँच दिनसम्म सबै नसोचेको तनावमा रह्यौं। अन्ततः नसोचेको परिणाम आयो अर्थात् हामी सबैको रिपोर्ट नेगेटिभ।

यो सत्य घटना हाम्रो समाजमा दिनैजसो हुने प्रतिनिधि घटना हो। ‘बच्चा जन्माउने क्रममा समयमा उपचार नपाएर आमाको मृत्यु !’ जस्ता शीर्षकमा समाचार छापिनु पक्कै नौलो होइन तर पछिल्ला केही वर्षमा मातृ मृत्युदर र नवजात शिशु मृत्युदर धेरै नै घट्दै गएको तथ्यांक छ। यसरी तथ्यांकमै प्रस्ट देखिने गरी आमा र नवजात शिशुको मृत्युदर घट्नुको पछाडि नेपाल सरकारको प्रसूति सेवा केन्द्रित योजनाको विशेष भूमिका छ। दूरदराजका गर्भवती महिलालाई लक्षित गरी स्वास्थ्य संस्थासम्म पुर्‍याउने र त्यहीँ सुत्केरी गर्न प्रोत्साहन गर्ने। सन् २००९ देखि नेपाल सरकारले सुरु गरेको आमा सुरक्षा कार्यक्रम अति नै प्रभावकारी भयो।

सुरक्षा कार्यक्रममा शिशु र आमा
गर्भावस्थामा नियमित चेकजाँच गरेबापत दिइने भत्तालाई पनि सन् २०१२ देखि कार्यान्वयनमा ल्याइयो। आमा सुरक्षा कार्यक्रमसँग गाभियो जसले गर्दा आमा सुरक्षा कार्यक्रम झनै प्रभावकारी साबित हुँदै गयो। कुनै महिलाले गर्भावस्थामा कम्तीमा चार पटक स्वास्थ्य संस्थामा चेकजाँच गराए र सुत्केरी पनि गराए आठ सय र बाटो खर्च बापतको दुई हजार गरी दुई हजार आठ सय रुपैयाँ हातमै पाउँछन्। २०७२/७३ सालदेखि कार्यान्वयनमा आएको न्यानो झोला कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा जन्मिएको नवजात शिशु र आमालाई १/१ थान न्यानो लुगासमेत प्रदान गरियो। कतिपय स्थानीय प्रदेश सरकारले आफ्नै निर्णयमा गर्भवती महिलालाई स्वास्थ्य संस्थामा डेलिभरी गराएबापत थप प्रोत्साहनसमेत दिने गरेको पाइन्छ। सन् २००६ को तथ्यांकले १८ प्रतिशत गर्भवती महिलाले स्वास्थ्य संस्थामा डेलिभरी गराएको देखिन्छ भने सन् २०२० को सुरुआतमा यो तथ्यांक ६० प्रतिशत पुगेको देखिन्छ। नेपाल सरकारको आमा सुरक्षा कार्यक्रमको प्रभावकारितामाथिको तथ्यांकले मात्रै पनि धेरै छर्लंग बनाउँछ। प्रसूति सेवामा यस्तो लाभदायी योजना ल्याउनु हुने नीतिनिर्माता र नेपाल सरकारको साथ सहयोग निकै सराहनीय छ।

२०७६ चैतको सुरुआतदेखि कोरोना संक्रमणले नेपालमा प्रवेश पायो। त्यसयता मातृ मृत्युदर, नवजात शिशु मृत्युदर र गर्भ तुहिने दर धेरै बढ्दै गएको केही अध्ययनले देखाएको छ। हाम्रो देशमा यो विषयमा भइरहेका कतिपय अनुसन्धानका अन्तिम नतिजाहरू प्रकाशित हुने क्रममै छन्। एउटा अनुसन्धानले देखाएको तथ्यांक हेर्दा कोरोना संक्रमणको सुरुआती पहिलो दुई महिनामा स्वास्थ्य संस्थामा सुत्केरी गराउने दर ५२ प्रतिशतले घटेको देखाएको छ।

खतराका संकेतमा स्वास्थ्य
हाल स्त्री तथा प्रसूति रोग विषयमा एमडी अध्ययन गरिरहेकी म प्रसूति अस्पताल थापाथलीमा आवासीय चिकित्सक भएर काम गर्दै गर्दा कोरोना संकटले प्रसूति सेवामा गहिरो असर पारेको महसुस गरेकी छु। नेपालमा कोरोना संक्रमण फैलिन नदिन जब बन्दाबन्दीको घोषणा गरियो, तब नियमित चेकजाँचका लागि स्वास्थ्य संस्थासम्म आइपुग्न गर्भवती महिलालाई विभिन्न कारणले गर्दा असजिलो पर्न गयो।

एकातिर गर्भवती महिलालाई नै संक्रमणको डरले घरबाट निस्कन सक्ने अवस्था रहेन अर्कातर्फ अस्पताल र विभिन्न सञ्चारमाध्यमबाट समेत खतराका संकेतहरू देखा नपरेसम्म अस्पताल नजानू भन्ने खालका जनचेतनामूलक सन्देशहरू प्रवाह गर्न थाले। यसले गर्भावस्थामा नियमित चेकजाँचका लागि समय–समयमा अस्पताल जानुपर्छ भनेर बल्लतल्ल सिकाइएका गर्भवती महिलाहरू झन् अन्योलमा परे।

आफ्नो स्वास्थ्य र पेटमा हुर्कंदै गरेको बच्चालाई केही नराम्रो हुने पो हो कि भन्ने मानसिक चिन्तामा घरभित्रै बस्न बाध्य भएँ। प्रविधिको यो युगमा चिनजान वा पहुँच भएका कतिपय गर्भवती महिलाले फोन गरेर वा सन्देश लेखेर भए पनि आफूलाई आइपरेका समस्याबारे परामर्श लिए। गर्भावस्थामा खानुपर्ने औषधिहरू जस्तै आइरन चक्की, क्याल्सियम चक्की, फोलिक एसिडलाई निरन्तरता दिए। तर, विकट गाउँमा बस्ने महिला दिदीबहिनी निकै मारमा परे। 

सहरबजारमा बसेर विभिन्न खाले साना मझौला व्यवसाय गरेर जीविकोपार्जन गरिरहेका कतिपय परिवारका महिलालाई त रोजगारी ठप्प भएर दैनिक गुजारा चलाउन समेत धौ–धौ पर्न थाल्यो। एकातिर आर्थिक अवस्था ओरालो लाग्नु र अर्कातर्फ गर्भ महिना उकालो लाग्नु एकसाथ पर्दै गयो। जब खतराका संकेतहरू देखा पर्न थाले तब उपचारका लागि अस्पतालसम्म पुग्ने यातायातको अभाव नै मुख्य समस्याकारूपमा देखा पर्‍यो।

निजी ठप्प, जिल्लाबाट रिफर
अधिकांश प्राइभेट स्वास्थ्य संस्था लगभग ठप्प थिए। नजिकको स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीको अभाव सिर्जना हुन थाल्यो। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नियमित चेकजाँचलाई आउने बिरामी घट्दै गए पनि विभिन्न जटिल समस्या भएका गर्भवती महिला विशेषगरी काठमाडौंबाहिर जिल्लाहरूबाट रिफर भएर आउने क्रम भने बढ्दै जान थाल्यो। 

यसैबीच कोरोना संक्रमण भएका र नभएका गर्भवती महिला र अन्य समस्या भएका महिलालाई छुट्याएर उपचार गर्नुपर्छ भन्ने कुरा हाम्रो अस्पतालले समयमै मनन गर्‍यो र परोपकार कोरोना अस्पताल थालनी भयो। कोरोना संक्रमित महिलालाई छुट्याएर व्यवस्थित तरिकाले उपचार गर्न थालियो। विभिन्न प्राइभेट अस्पतालमा गर्भवती चेकजाँच गराइरहेका महिलाले समेत थापाथली अस्पतालको सेवा लिन आएको महसुस गरें। जब जेठ १ गते कोरोना संक्रमणबाट नेपालमा प्रथम मृत्यु सुत्केरी महिलाको नै भयो भनेर पुष्टि भयो, त्यसपछि झनै गर्भवती महिलामा भय र त्रासको वातावरण सिर्जना भयो।

अस्पताल जाऊँ संक्रमण होला भन्ने डर, नजाऊँ नियमित चेकजाँच छुट्ला भन्ने पीर। कोरोना कहरमा संक्रमण नभएका गर्भवती महिलाले समेत मानसिक तनावसहितको सास्ती भोग्नु पर्‍यो। कतिपय गर्भवती महिलाले अस्पताल आउँदा आफूलाई भएको कोराना संक्रमणको लक्षण र रिपोर्टहरूसमेत लुकाउन थाले। धेरै त्यस्ता घटनामध्ये घटना याद आउँछ। ४/५ दिनदेखि ज्वरो र खोकी भएको गर्भवती महिला सिटामोल खाएर अस्पताल आउनुभएको रहेछ। हामीले उहाँलाई ज्वरो नाप्दा ज्वरो थिएन। खोकी लागेको जस्तो छ नि भनेर सोध्दा होइन अहिले मात्र चिसोले गर्दा हो भन्नुभयो। 

कोरोना संक्रमित बिरामीलाई राख्ने र उपचार गर्ने हाम्रो छुट्टै अस्पताल छ, नढाँट्नुस् है भन्दा पनि उहाँले केही भएको छैन भन्नुभयो। जाँच गरेपछि बच्चाको मुटुको चाल बढेको पाइयो र बच्चा निकाल्न अप्रेसन गर्नुपर्ने महसुस गर्‍यौं र तयारी थाल्यौं। जब उनलाई अपरेसन गर्ने बेडमा सुताइयो तब ज्वरो आएको पाइयो। तुरुन्त कोरोना अस्पताल लगेर अपरेसन गरियो। पछि उहाँको कोरोना रिपोर्ट पोजिटिभ आएको थाहा पाइयो। आफूलाई कोरोना लागेको कुरा थाहा पाए अस्पतालले उपचार गर्दैन भने डर र कोरोना संक्रमितको छुट्टै उपचार गरिन्छ भन्ने अज्ञानताले निम्त्याएको परिस्थिति थियो त्यो सायद।

उपचारमा अभाव, ज्यानमा तनाव
गर्भवती महिलाले समयमा चेकजाँच गर्न नपाउँदा सुगर, प्रेसर बढ्ने समस्यालगायत आमा र बच्चाको ज्यान खतरामा पार्ने विभिन्न रोगको समयमै निदान हुन सकेन वा उपचार हुन सकेन। यस्तै कारणले कतिपय गर्भ तुहिन थाल्यो। जन्मेको नवजात शिशुको मृत्युदर र मातृमृत्युदरसमेत बढ्न थाल्यो।

अर्कोतर्फ अस्पतालको पहुँच भएका वा अस्पताल आइपुग्न सहज भएका कतिपय गर्भवती महिला मानसिक तनावले ससानो समस्या लिएर पनि अस्पताल आउन थाले। स्वास्थ्यकर्मीका लागि ती समस्या सानै लागे पनि गर्भवती महिलाका लागि भने समस्या ठूलै ठानेर अस्पताल आएका हुन् भन्ने महसुस गथ्र्यौं। चेकजाँच गरी परामर्श दिएर घर पठाउँथ्यौं। भर्ना गर्नु परेको खण्डमा अस्पतालमै राखेर उपचार गथ्र्यौं। समयमै अस्पताल आइपुग्नुपर्ने बिरामी आउन नसक्नु वा ढिला आइपुग्नु र तत्काल आउन नपर्ने गर्भवती महिला अस्पताल आउनु जस्ता कुराले एकातर्फ अस्पतालमा भीड बढ्न थाल्यो भने अर्कातर्फ अस्पताल आउने जाने क्रममा गर्भवती महिला र उनका परिवार संक्रमित भई अस्पतालबाट संक्रमण घर समुदायमा फैलने क्रम बढ्न थाल्यो।

सुरुआतमा उल्लेख गरिएका घटनामा कोरोना संक्रमणले प्रसूति सेवामा निम्त्याएका विभिन्न अप्ठ्यारा केलाउँदै जाँदा काठमाडौंबाट नजिक रहेको गाउँमा बसोबास गर्ने र प्रसूति अस्पताल थापाथलीमै नियमित चेकजाँच गराइरहेकी ती महिला कतै यस्तै परिस्थितिको सिकार भएकी पो हुन् कि भन्ने आशंका उत्पन्न हुन्छ। बेथा लागेपछि उनलाई अस्पताल ल्याउन किन ढिला गरियो होला ? कि कोरोना संक्रमित भएकी थिइन् कि परिवारले अस्पतालसम्म ल्याउने कष्ट झेल्न चाहेन अथवा अस्पतालमा डेलिभरी गराउन गयो भने संक्रमित भइन्छ भने डरले समयमा अस्पताल ल्याइएन। यी कुनै कारण थिएनन् भने बन्दाबन्दीको समयमा यातायात अभाव र आर्थिक अभावले गर्दा उनले समयमै उपचार पाइनन् र ज्यान गुमाइन्। कोरोना संक्रमणबाट मानिसको ज्यान जोगाउने हामी स्वास्थ्यकर्मीको अनेकौं प्रयासका बीच यस महामारीले निम्त्याएका कतिपय देखिने र नदेखिने यस्ता पाटाहरूले अकालमा गर्भवती महिलाले ज्यान गुमाइरहेका त छैनन् ? यो विषय मननयोग्य छ।

महामारीमा पूर्वतयारी र जनशक्ति
भनिन्छ, हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ। यो कोरोना महामारी कालो बादलको रूपमा जति मडारिएर आए पनि चाँदीको घेरा जस्तै यसको सकारात्मक पाटो देखिएको छ। पुरानो सामान्य अवस्थामा फर्कन त्यति सम्भव नदेखिए पनि बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क लगाउने, नियमित हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने र भीडभाडमा नजानेजस्ता नयाँ सामान्य जीवनशैली अपनाएर जीवनयापन सुचारु गर्नैपर्ने भएको छ। नियमित हात धुने बानीले गर्दा कतिपय अरू संक्रमणबाट आमा र नवजात शिशुलाई जोगाउन सकिन्छ।

मास्क लगाउनाले रुघाखोकी भाइरल ज्वरोजस्ता समस्यालाई न्यूनीकरण गर्न सकिन्छ। अर्को पाटो भनेको कोरोना महामारीले सारा विश्वलाई नै एउटा गतिलो पाठ सिकाएको छ। २०७२ सालको भूकम्पले घर बलियो बनाउनुपर्छ भनेर सिकाएजस्तै कोरोना महामारीले अतिजोखिमयुक्त समूहजस्तै बालबालिका, बूढाबूढी, गर्भवती, दीर्घरोगीलाई जति बेला पनि आइपर्नसक्ने महामारीबाट बचाउन उचित पूर्वतयारी गर्नुपर्ने रहेछ भनेर सिकाएको छ। विपत् जति बेला, जुनसुकै रूपमा र जसलाई पनि आइपर्न सक्छ। विपद् आइपर्दा जति भएको भौतिक पूर्वाधार र दक्ष जनशक्तिलाई वैज्ञानिक ढंगले परिचालन गर्नुपर्ने रहेछ।

खानपिन, व्यायाम र खुसी
नयाँ पूर्वाधार र दक्ष जनशक्ति त विपत्ति आइपरेपछि उत्पादन गर्न सम्भव हुने रहेनछ भन्ने कुरा विकासको खुट्किलो टेक्दै गरेको हाम्रो जस्तो मुलुकले अझ धेरै  मनन गर्नुपर्ने देखिन्छ। बागमती नदीपारि कुपन्डोलस्थित परोपकार कोरोना अस्पतालमा करिब एक महिनाअघि परेको आफ्नो ड्युटी स्मरण गर्दा परोपकार अस्पतालको नर्सिङ कलेजको भवन कोरोना अस्पतालमा परिणत गरिएको एउटा उदाहरण दिन मन लाग्छ। जहाँबाट थुप्रै कोरोना संक्रमित महिलाले उपचार पाइरहेका छन्।

हरेक गर्भवती महिलाले कोरोना संक्रमणबाट जोगिन विशेष सतर्कता अपनाउनु अत्यन्त जरुरी छ। सबै गर्भवती महिलालाई सहरबजारको अस्पताल पायक पर्छ भन्ने छैन। घरनजिकको स्वास्थ्य संस्थामा नियमित गर्भवती जाँच गराउने र रिफर गर्न गर्नु परेको खण्डमा स्वास्थ्यकर्मीको सल्लाह लिएर रिफर पुर्जीसहित समयमै तोकिएको अस्पताल जानु उत्तम उपाय हो। गर्भावस्थाको सकुशल अवतरण गराउन गर्भवती महिला स्वयंभन्दा पनि उनको हेरचाह गर्ने श्रीमान् वा परिवारका सदस्यहरूको भूमिका अझ विशेष हुन्छ। गर्भावस्थामा महिलालाई थप पौष्टिक आहारको जरुरत हुन्छ।

प्रोटिन तŒव धेरै भएका खानेकुरा जस्तै माछा, मासु, अन्डा, दही, दूध, गेडागुडी, दाल साथै हरियो सागपात, फलफूल प्रशस्त खानुपर्ने हुन्छ। मानसिक डर र चिन्ता छ भने त्यसलाई व्यक्त गर्ने, सकारात्मक सोच राख्ने, हल्का व्यायामहरू गर्ने हो भने मन शान्त र स्थिर हुन्छ अनि स्वतः खुसी मिल्छ। सावधानीहरू अपनाउँदा अपनाउँदै पनि कोरोना संक्रमणको लक्षण देखियो भने सम्भव भएसम्म कोरोना उपचारको सुविधा भएको अस्पतालमा गएर परामर्श लिने र सम्भव नभए कम्तीमा १४ दिन घरका सदस्यसँग छुट्टिएर बस्नुपर्छ। खानपानमा विशेष ध्यान दिनुपर्छ, नियमित बाफ लिने, भिटामिन ‘सी’ भएका फलफूलजस्तै कागती, सुन्तला, मौसम, जुनारको सेवन गर्ने र प्रशस्त पानी पिउनुपर्छ।

कोरोना, गर्भवती र खोप
कोरोना संक्रमणको कुनै खतराका संकेत देखा परेमा तुरुन्त अस्पताल जानुपर्छ। गर्भ ३/४ महिनासम्मको छ भने तलबाट रगत बगेमा, तल्लो पेट धेरै दुखेमा तुरुन्त अस्पताल जानुपर्छ। गर्भ ५ महिनामाथिको भए गर्भवती महिलाले २४ घण्टामा कम्तीमा १० चोटी बच्चा चलेको महसुस गर्नुपर्छ। बच्चा राम्ररी चलेको महसुस भएन भने करिब आधा घण्टा देब्रे कोल्टे फर्केर सुत्ने र महसुस गर्न कोसिस गर्नुपर्छ।

यति गर्दा पनि महसुस भएन भने तुरुन्त अस्पताल वा नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ। त्यस्तै तलबाट रगत, पानी बगेमा वा तल्लो पेट धेरै दुखेमा पनि नजिकको स्वास्थ्य संस्थामा वा अस्पताल गएर चेक जाँच गराउनुपर्छ। हरेक प्राणीको जीवन अमूल्य छ। गर्भावस्था दुईवटा जीवनसँग जोडिएको प्राकृतिक तर जटिल अवस्था हो। यही जटिलताबाट आमा र बच्चालाई जोगाउन स्वास्थ्यकर्मीको प्रयास सदैव रहन्छ नै। वैज्ञानिकहरूको रातदिनको अनुसन्धानले कोरोना भाइरसविरुद्धको खोप आविष्कार भइसकेका छन्, जुन निकै उत्साहजनक समाचार हो। नेपालमा पनि खोपको सुरुआत भइसकेको छ। अझै पनि गर्भवती महिलाले यो खोप लगाउन मिल्ने अवस्था छैन।

यस कारण पनि गर्भवती महिलाले कोरोना भाइरसबाट बच्न थप सतर्कता अपनाउनुपर्ने देखिन्छ। आशा गरौं, गर्भवती महिलाले निर्धक्क भएर नियमित चेकजाँचका लागि अस्पताल आउने दिन चाँडो आउनेछ। हामी स्वास्थ्यकर्मीले पनि शिरदेखि पाउसम्म ढाक्ने गरी लगाइने पीपीईमा गुम्सिएर बिरामीको जाँच र अपरेसन गर्नुपर्ने बाध्यताको अन्त्य चाँडै हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.