कैलाश जाने बाटो !

कैलाश जाने बाटो !

थरर्र कामिरह्यो ज्यान ! जहाजबाट निस्केर बजार पस्यौं हामी— माथ्लो बजार। बोलिरहेको छु कन्जोकसँग। बोली लर्बरिन्छ। मुटु अलिक चाँडचाँडो चलेको लागिरहेको छ। ‘के भएको यस्तो ?’ सुनाएँ कन्जोकलाई। ‘तपाईं सात सय मिटरबाट २९ सय मिटर उचाइमा आइपुग्नु भो। त्यै भएर हलुका अल्टिच्युड भएको होला।’ उनले यसो भनेपछि बल्ल ढुक्क भो मलाई। आधार पुग्दा अलिकति दिन उज्यालियो। विमानस्थलबाट बढीमा सात मिनेट लाग्थ्यो आधारको कार्यालय। 

तातो पानी खाएँ। टोपी खापें। मन बलियो पारें। बिहानको १० बज्दै छ। ‘भात खाएर डुलौंला सिमकोट !’ भान्सामा पसाए आङजुक लामाले। खाना थपिरहेकी छिरिङ पुनर लामालाई सोधें, ‘यो चामल, दाल, तरकारी सबै हुम्लाकै हो ?’ ‘होइन सर। धेरै त नेपालगन्जको। थोरथोरै यताको।’ खाद्यको चामलमा दाल, आलुप्याज र बन्दा मधेसकै थियो। पुदिनाको अचार र राजमाको अचार सिमकोटकै थियो। गेडागुडीका लागि नामी रहेछ हुम्ला। 

आङजुक र कन्जोकले मलाई अघि लाए। बाटोभरि जोपा र जुमाको ताँती। चौंरीका भाले याक र पोथी चैं नाक। त्यही नाकलाई एक तह खस्केको भाले मिसाउँदा जन्मिँदा रै’छन् जोपा र जुमा। जोपा भाले र जुमा रै’छ पोथी। भारी बोक्न जोपाको निकै प्रयोग गरिँदो रहेछ। खच्चड र घोडा पनि मनग्गे थिए सिमकोट बजारैभरि। बजारमा ब्याँसी जातिका आइमाईहरू धुवाँमा रङ्मङ्इिरहेथे। अनुहारले तिब्बती, बोली र व्यवहारले नेपाली खस–संस्कृतिमा एउटा विशेष जाति छ— ब्याँसी। त्यो ब्याँसी जाति हुम्लाको प्राचीन जाति।

देशले कर्के नजर लाएको पीडा सम्झेर भक्कानिइरहेको छु। जहाँ हेर्छु त्यहीं घाउ, खत र छटपटीका उकुसमुकुस छन्। ए हुम्ला कर्णाली, किन नबगाएको हुम्लीको दुःख ?

कानभरि ठूला र गोला गहना लाएका, नाकमा बुलाकी, छातीभरि हरिया र पहेंला पोतेले सजिएका ब्याँसी जातका महिला पसलका पेटी–पेटीमा बसेका देखिन्थे। सिमकोटमा दलित, लामा, ठकुरी र बाहुन–छेत्री मनग्गे भेटिए। पूर्वका शेर्पा अनुहार र संस्कारका जाति यतातिर लामा थर लेख्दा रहेछन्। कसै–कसैले नागरिकतामा तामाङ भए पनि ‘म लामा हुँ’ भन्थे।
***

२९ जेठ। ‘हामी तामाङ, भोटिया, चुफे गरी तीन खालका छौं।’ बजारबाट पूर्वतिर लाग्दा कन्जोकले भने। सिमीकोटको पुरानो नाम रहेछ— सिमकोट। पानीको सिम नजिकै कोट रहेको स्थान पछि गएर अपभं्रश हुन पुगेको छ— सिमीकोट। अहिले पनि त्यताका धेरैले सिमकोट भने पनि सरकारी नाम र उच्चारण सिमीकोट भइसकेछ।

‘छिप्रा जाने दोभानसम्म जाऊँ न !’ कन्जोकले मलाई अघि लाए। कर्णालीको अभाव, गरिबी र भोकमरीको महामारी मच्चिने ठाउँको रूपमा नाउँ कमाएको छ हुम्लाले। यसको छनक राम्रैसँग पाइरहेको छु। सिमीकोटमा ठकुरी र लामा गरी प्रमुख दुई समुदाय देखिन्थ्यो। खसभित्र बाहुन, छेत्री, ठकुरी र दलित थिए। उता लामाका पनि अनेक हाँगाबिँगा रहेछन्।

‘हाम्रा चेलीबेटी बिहे नि ढिलो गर्छन् !’ कन्जोकले थपे। हुन पनि खसका छोरीहरू १३–१४ वर्षमै आफूखुसी ‘पोइल’ गइहाल्दा रहेछन्। बाटाको धारातिर एउटी अत्यन्तै फुकीढल महिला थिइन्— देउमाया शाही। उमेर बाइस। चार छोराछोरीका गोठाला बसेर लुगा धँुदै थिइन् तिनी। देउमायाको अवस्थाले मन अमिलो भो।
***

पूर्वतिर गइरहेथ्यौं तर दक्षिण–पश्चिम हुम्ला कर्णाली बगिरहेथ्यो। फाँटिलो टारजस्तो सिमीकोटमा जहाजहरू आउने र बस्ने गरिरहेथे। अझ छिन–छिनमा हेलिकप्टरको ताँतीले कानै खाइरहेथे।

‘कति धेरै उडेका ?’ बुझ्न खोजें। ‘भारतीय बोक्छन् यी सबै हेलीले !’ कन्जोक बोले। मानसरोबर जाने मुख्य नाका हुम्लाको सिमीकोट नै रहेछ। भारतका विभिन्न क्षेत्रबाट आएका पर्यटक र तीर्थालु नेपालगन्ज हुँदै सिमीकोट पुग्दा रहेछन्। अनि सिमीकोटबाट हेलिकप्टरमा १५–२० मिनेटमा पुग्दा रै’छन् हिल्सा। त्यसउता ताक्लाकोट तिब्बतमा पर्दो रहेछ। 

ताक्लाकोटबाट आएको चिनियाँ बसले बोकेर जाँदो रहेछ— मानसरोबर, कैलाश। सिमीकोट पुग्दा पूर्णिमा लाग्दै रहेछ। त्यो पूर्णिमाछेक भारतीयहरूको उल्कैको श्रद्धा र भक्तिभाव हुँदो रहेछ— कैलाशमा। ‘तलबाट आउँदा त हामी चान्सै पाउँदैनौं कत्ति पटक !’ ‘यताबाट नि पहिलो मौका इन्डेनलाई। अनि रहेबचेको पो हाम्लाई !’ आङजुकपछि लगत्तै पीडा पोखेथे कन्जोकले।
***

दक्षिणतिर लमतन्न परेको हिमाल। हिउँको सेताम्मे राशिले पहाडहरू थेप्चिएको ठान्छु। हिउँ जतासुकै बगेर खोल्सी भएका, हिउँ पहिरो गएका र हिउँले रूखपात बगाएर तलसम्म खसालेको दृष्य। सिमीकोटमा माथिल्लो र तल्लो गरी दुई मुख्य गाउँ रहेछन्। बीचको बजारमा अलिक नयाँ र आधुनिक घर, होटेल, रेस्टुराँ, सरकारी अड्डा र निजी आवास। 

पूर्व र बजार पश्चिम पुरानो पाराको गाउँ देखिन्थ्यो तल्लो र माथिल्लो। बीचमा विमानस्थल। पूर्व–पश्चिम फैलिएको विमानस्थलभन्दा दक्षिणतिर सरकारी अड्डाहरू। चाङखोला मिसिने हुम्ला कर्णालीको दोभाने किनार पुग्यौं। पूर्वतिर बुराउँसे, स्याम्ने, हेल्दुम गाउँहरू हाम्रो साक्षी बने।

‘सात सय धुरी होलान् कि ?’ कन्जोकले सिमीकोटको जनधन अनुमान गरे। छिप्रा र याँगुका लेकले मुग्ध बनाए। सिमीकोटमा चारैतिर हिमालैहिमाल, बुरी खा हिमाल, रलिङ हिमाल मार्कोर डाँडाले सिमीकोट घेरिएथ्यो। दक्षिणतिर झ्याप्प वन जहाँ सेनाको जत्था लेफ्ट राइट गरिरहेथ्यो।

यहाँको गरिबी र अभावले चिथोरिरह्यो। यो भोक र बिजोगले गिज्याइरह्यो। यताका शाही–ठकुरीको बिहेबारी बझाङ, जुम्ला, जाजरकोटेसँग भए पनि लामाहरूले आफ्नो नसनाता जोड्ने हुम्लाकै वरपरका गाउँमा रहेछ। अझ धेरैको त आफ्नै गाउँसम्म सीमित थियो रे। हिजोआज पल्लो वा उपल्लो गाउँसम्म बिहे गर्ने चलन बढेको रहेछ।

‘कतिले ताक्लाकोटसम्म पुगेर बिहे गरेका छन्।’ कन्जोगले भने। सिमीकोटका माथिल्लो र तल्लो गाउँमा रावत, रोकाय बढी रहेछन्। सरकारले नै ख्याल गरी दलितका घरबासको मेसो नि गरिदिएको रहेछ। ‘हुमने खोलाको पानी नभए हामी बिजोग हुन्थ्यौं।’ आङजुकले सुनाए।

बुरी खालाई पञ्चमुखी हिमाल नि भनिँदो रहेछ। यो हिमाल उत्तरपट्टि गजधुम्म बसिरहेथ्यो। हिमालका अनुहारमा पाँच अवस्था देखें— जन्म, बालक, किशोर, अधबंैसे, वृद्ध र मृत्यु। पहिलो र अन्तिम स्थितिले चिसो पा¥यो छातीमा।
***

एउटा उडिनसक्दै अर्को बसिसक्थ्यो हेलिकप्टर। कतिपटक त ३–४ हेली एकै पटक उडेर अकाशै तिरिमिरि पारिरहेथे। आँखालाई सिमीकोट डाँडातिर हुत्याएँ जहाँ विकटताभित्रको संसार पढ्नु थियो। २०४४ सालदेखि जहाज आइपुगेको रहेछ यहाँ। त्यस उता हुम्लाको नातो आफ्नै देशसँग जोडिएको रहेनछ। ‘हाम्लाई जुम्ला–हुम्ला भनेर एकै ठाउँ हालिदिन्छन्। तर आफ्नो रूप, रंग र इतिहास छ।’ आङजुकले गुनासो पोखे।

चिनो भनेर चिनिने कागुने उच्च हिमाली अन्न धानजस्तै रहेछ। लामाहरूले ल्होसार र माने धूमधाम चाड मनाएजस्तै ठकुरीहरूले साउने र माघेसंक्रान्ति, दसैं, तिहार भव्य रूपमा मान्दा रहेछन्— हुम्लामा। ‘लाजाङ पनि मान्छौं।’ कन्जोकले भने। प्रत्येक ऋतुको सुरुमा पूजा गरिने लाजाङ निकै महत्त्वपूर्ण चाड रहेछ हुम्लाको। वरिपरिका हिउँ थुम्काले बोलाउन छोडेनन् सायद आफ्नो बिजोग सुनाउन। नजिक्याएर समस्या देखाउन पनि छोडेका थिएनन्।

भारी बोकाउने र भुत्लाबाट फेरियो बनाउने चलन नि हटिसकेछ हुम्लामा। बाख्रालाई मासु खान फाट्टफुट्ट पाल्न थालेछन्— हुम्लातिर। ओढ्न मिल्ने, अन्न सुकाउन प्रयोग गरिने फेरियो अचेल बाख्राभन्दा प्लास्टिककै तिर्पालले ठाउँ लिन थालेछ बेस्सरी। घाम पातलो थियो। ढलिरहेको घामले ठिही बोकेर ल्याइरहेथ्यो।
***

‘हिल्साबाट पाँच दिनमा कैलाश पुगिन्छ।’ हेली उडेको देखेर भने कन्जोकले। जतासुकै ठाडै हिउँ खतत्त खसेका डाँडा हेरें। हिउँको भारले चुच्चेका थुम्काहरू हेरँे। हिउँका राशिसँगै बादलको पर्दामा लुकामारी खेलिरहेका गजधुम्मे हरिया पहाड नियालिरहें। बजारका केही अनुहार पनि नियालें, अभाव, कुपोषण, दुःख र पीडाको गाढा रङले लिपपोत थियो छपक्कै।

ठूला–ठूला सुनका लाप्सा कानभरि थिए। रंगीचंगी पोतेका लुङ थिए तर अनुहारमा जीवन, बैंस, उमंगको रङ लापत्ता थियो। ती कुप्रेर, खुम्चेर, सुकेर अनि दरिद्रिएर बाँचेका देखिन्थे। तिनकै बिजोगमा लेकाली काग धोद्रे स्वरमा क्वाक–क्वाक गरी कराउँदै उडेका देखिरहेथें।
***

सिमीकोटमा चामल पुग्न थालेको भर्खरै रहेछ। जतासुकै भीर, पखेरा र खोंच भएकैले अन्नपात औधि कम उम्रिने रहेछ। एक त कम फल्ने। त्यो फलाइले परिवारलाई खान नपुग्ने। खाद्यको चामल सरकारले बाँडेर त्यहाँको भोकमरी थामथुम पार्दो रहेछ।

‘नेपालकै चामल आउन थालेको भर्खरै हो नि। हामी त चीनकै खाने, चीनकै लाउने।’ तीसे लामाले भनेका थिए। सिमीकोटमा तराईका चौधरीले लामै समय शिक्षामा सघाएछन्। हिजोआज बरु ती थन्किएछन्। पाल्पालीले घर बनाउने सीप सिकाएछन् हुम्लीलाई। माथ्लो गाउँ पसिरहँदा सुनँे कन्जोकबाट, ‘गोप्का, छिप्रा, गढीकोट, दार्मातिर बाहुन बढी छन्।’ छेत्री, ब्याँसी र भोटे लामा पछि दलित पनि मनग्गे रहेछन् हुम्लामा। हुम्लाको पुरानो व्यापारिक नाका रहेछ— लिमीलाप्चा। तिब्बतबाट नुन र ऊन ल्याउने र फापर अनाज उता लैजानेहरू थुप्रै भेटिएथे अघि बाटोमा नि।

२० वर्ष अघिसम्म हिल्साको परिचय रहेनछ। 

लिमीलाप्चाकै नाम र काम अगाडि थियो रे। व्यापारिक नाका यही थियो उत्तरी। धेरै हुम्लीको अरू किनबेच डोटेलीहरूसँग हुने गथ्र्यो। जुम्लासँग प्रशासनिक नाता थियो। कुनाकन्दरामा बसेको हुम्लासँग भोक, अभाव र गरिबी हेर्ने अरू संसार पुग्दैनथ्यो। पहाड, हिमाल, नदीका जँघारले छेकेको हुम्लासँग वर्षौंदेखि गढेर बसेको भोक, रोग र अन्धविश्वासको जगजगी थियो।

त्यसलाई थामथुम पारेका पारेकै थिए— यिनै सेता हिमालले, हिउँको राशि, हिमालयको चिसोले। पोखिइरहेको छु, उम्लिरहेको छु, पिलिइरहेको छु म। देशले कर्के नजर लाएको पीडा सम्झेर भक्कानिइरहेको छु। जहाँ हेर्छु त्यहीं घाउ, खत र छटपटीका उकुसमुकुस छन्। ए हुम्ला कर्णाली, किन नबगाएको हुम्लीको दुःख ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.