भन न निर्मला
त्यस दिन
साइँली घर्तिनीको भालेले
बलात्कार गर्दै गर्दा
कसैले वास्ता गरेको थिएन
घटनास्थल नजिकै
मासुपसलको छेवैमा
पप्लु खेलेर बसेका महोदयहरू
जोकरको जोहोमा मग्न थिए
क्वाँक्वाँ गर्दै त्यो तड्पिरहेकी
निरीह पोथीले खसालेका आँसुको
तासमहलको ठेलीमा रहेका बादशाहलाई
कुनै मतलब थिएन
ती त व्यस्त थिए
आआफ्नो जोडा मिलाउन
बेगमहरूको खोजीमा !
मंगलपुरको गौचरनमा
वर्षौंदेखि छाडा छोडिएको
राधापुरको साँढेले
कृष्णपुरको गाईलाई देख्नासाथ
जाइलाग्छ र गर्न थाल्छ
नग्न नृत्य लाजै नमानी
दिउँसोको उज्यालोमा
गौचरनमा आआफ्नो डिंगा लिएर
आएका गोठाला गोठाल्नीहरू
गर्दैनन् प्रयास त्यो गोरुलाई धपाउन
ती त मस्त रहन्छन्
कोही खोपी खेल्न
र, कोही प्रेमिल दोहोरी गाउन
जुँगे बाबुसाबको कालो बोकाले
गोरी साहुनीको सेतो बाख्रीलाई
बारीमै अँठ्यायो
बलात्कार गर्यो
हरे !
सबै हेरेका हेर्यै
कोही बोलेन त्यो अत्याचारविरुद्ध
गोरी साहुनी झनै खुसी देखिइन्
मैले त बुझिनँ तर,
कुनै न कुनै रहस्य त होला नै
उनको लुकेको मुस्कानभित्र ।
भदौरे झरीको मौसम
कात्तिक आउन धेरै टाढा
एक हुल जंगे कुकुर
पछ्याउँदै थिए
एउटा खैरे कुकुर्नीलाई
बीच बाटोमा
ओहो !
सामूहिक बलात्कारको दृश्य थियो त्यो
बाटोमा आवतजावत गर्ने
कुनै कारका यात्री
कुनै पैदल पथिक
तर, वास्ता थिएन कसैलाई
बीच सडकको सामूहिक बलात्कारबारे
तिनका आँखा र मस्तिष्क दुवै
अभ्यस्त थिए सायद
यौनक्रीडाको दृश्यमा रमाउन ।
निर्मला !
हामीले श्वास फेर्ने वायुमण्डलमा
अशान्त घुम्दै गरेको
तिम्रो आत्माले सोधिरहन्छ,
‘मैले न्याय कहिले पाउँछु होला ?’
खै ! कसले के जवाफ देओस् तिम्लाई
अभ्यस्त भइसकेका छन्
तिम्ले न्याय माग्नेहरू
यस्ता दृश्य हेर्न,
रमाउन
र, मौन बस्न
कालान्तरदेखि नै
आत्मसम्मान बेच्न अभ्यस्त
यिनीहरू त
घरि करेसाबारीमा,
घरि मकैबारीमा,
घरि गौचरनमा
घरि खुल्ला सडकमा
रमाउने पो गर्छन्
भइरहने यस्ता दृश्यहरूमा
खै, के जवाफ खोजूँ
म तिम्रो प्रश्नको... ?
भन न निर्मला !
खै, के जवाफ खोजूँ
म तिम्रो प्रश्नको... ?