उदास उनको जीवनकथा. . . !
उनको न्वारानको नाम दाँतेमा तामाङ थियो। त्यसैले उनलाई सबैले दाँतेमा दाँतेमा भनेर बोलाउँथे। एउटी चुलबुले केटी दाँतेमा सात वर्षको उमेरमा नै नाच्न र गाउन भनेपछि खान पनि बिर्सिन्थिन्। निस्फिक्री नाचिरहन्थिन्। कतै कुनै पनि अवसरमा माइक राखेर कार्यक्रम भइरहेको देखेपछि उनलाई गीत गाउनु परिहाल्थ्यो। होची र डल्ली कदकी दाँतेमाको टाउको माइकको मुखसम्म पुग्ने कुरै भएन। त्यो बेला उनका बाबुले काँधमा बोकेर माइकसम्म मुख पुर्याइदिन्थे र दाँतेमा गीत गाउँथिन्।
उनै दाँतेमा हुन्, नेपाली सुगम संगीतकी स्वर्णिम कालखण्डकी विरही गायिका अरुणा लामा। सात/आठ वर्षमै गायनका माध्यमबाट उनले दार्जिलिङको रनवन हल्लाएकी थिइन्। २००२ भदौ २४ गते भारतको पश्चिम बंगाल राज्यको घुमपहाड दार्जिलिङमा पिता सूर्यबहादुर लामा र माता सनमाया तामाङको कोखबाट उनी जन्मेकी हुन्। बाबुआमालाई छोरी गीतसंगीतमा लागेको मन परेको त थिएन। जे भए पनि उनको जिद्दीका अगाडि प्रतिक्रिया जनाउँदैनथे। उनका काका सीबी लामाले भने अरुणाको गीतमा राम्रो भविष्य देखेका थिए। सात वर्षकै छँदा उनले अरुणालाई गीत गाउन उक्साउँथे। उनै काकाको पहलमा दार्जिलिङको गोर्खा दुःख निवारक सम्मेलनले आयोजना गर्ने भानुजयन्तीको संगीत प्रतियोगितामा अरुणाले भाग लिइन्।
अचम्म नै भयो, ११ वर्षकी अरुणा सो कार्यक्रममा सर्वोत्कृष्ट बालगायिकाको पुरस्कार प्राप्त गर्न सफल भइन्। मङ्पु प्राथमिक विद्यालय र सेन्ट तेरेजा स्कुलबाट विद्यालयस्तरीय शिक्षा आर्जन गरेकी उनी पढाइमा पनि अब्बल थिइन्। पत्याउन पनि गाह्रो पर्छ, मात्र बीस वर्षको उमेरमा उनले स्नातक तह पूरा गरिन्। उनी दार्जिलिङको सरकारी कलेजबाट स्नातक उत्तीर्ण हुनु र आफ्नो पहिलो गीत रेकर्ड हुनुमा लामो समय अन्तर थिएन। भूपि शेरचनको शब्द र अम्बर गुरुङको संगीतमा ‘ए कान्छा मलाई सुनको तारा खसाइदेउन, त्यो तारा मात्र होइन जून पनि झारी दिउँला...’ बोलको यो अति लोकप्रिय गीत नै उनको पहिलो रेकर्ड भएको गीत थियो। पहिलो गीतको अपार सफलताले उनको लोकप्रियतालाई उजागर गर्छ। शरण प्रधान र अरुणाको युगल स्वरमा गाइएको यो गीतको रचना र संगीत अम्बर गुरुङको थियो।
हुन पनि हो, अरुणा लामाको जीवन नै बाहिर लोकाचारका लागि हाँसेर भित्रभित्रै जलेको थियो, पति शरण प्रधानको अल्पायुमै भएको निधनले उनको छातीमा आगो सल्किएको थियो। यति हुँदाहुँदै पनि उनी समाजका लागि रूखो हाँसो देखाउन विवश थिइन्। नेपाली सुगम संगीतको एउटा कालखण्डको पृथक् धाराकी एक्ली प्रतिनिधि हुन् अरुणा। थोरै गाए पनि उनी अजर अमर भइन्। गीतको संख्या थप्नु रुचिको विषय नभएकैले डेढ सयजति मात्र गीत रेकर्ड हुन सके।
दार्जिलिङको सरकारी कलेज पढ्दा पढ्दै अम्बर गुरुङको आर्ट एकेडेमी नामक सांगीतिक समूहका माध्यमबाट अरुणाको भेट त्यतिखेरका जल्दाबल्दा गायक शरण प्रधानसित हुन पुग्यो। हुन पनि हो, आर्ट एकेडेमीमा अम्बरका शिष्यमध्ये अरुणा मात्र महिला सदस्य थिइन्। अरू जितेन्द्र बर्देवा, गोपाल योञ्जन, कर्म योञ्जन, रञ्जित गजमेर, पिटर जे. कार्थक तथा मार्ककार्थकजस्ता सबै पुरुष मात्रै थिए। ख्याउटे र कमजोर शरीरका शरणलाई अम्बर गुरुङसित संगीत सिक्दासिक्दै संगीतको भन्दा बढी मात अरुणाको फक्रक्क फुलेको बैंसले लगायो। आफ्ना गीतहरू रेकर्ड गर्न कलकत्तामा लामो समय बस्नु पर्दा उनीहरूको प्रेम अझ फक्रिन पुग्यो। शरणकै प्रस्तावमा १९ वर्ष लाग्दा नलाग्दै उनीहरू लगनगाँठोमा बाँधिए। यो शुभ दिन थियो, २०२० असार २ गते।
शिक्षण र गायनको खेतीमा बराबरी समय दिइरहेका अरुणा र शरणको जीवनमा अब घरगृहस्थीको पनि आगमन भयो तर संगीत यात्रा रोकिएन। अम्बर गुरुङ, गोपाल योञ्जन तथा पिटर जे. कार्थकहरू नेपाल पसिसकेका थिए। त्यति बेला जसको कारणबाट त्यहाँ आएको सांगीतिक रिक्तता टाल्न शरणले औधि मेहनत गर्नुपर्यो। रञ्जित गजमेर, कर्म योञ्जन, मणिकमल क्षेत्री, दिलमाया खाती, चन्दन लम्जेल, डेजी बराइली आदिको सरसल्लाह तथा सहयोगमा अर्काे सांगीतिक संस्था खुल्यो संगम परिषद् दार्जिलिङ। यसको पूर्ण संयोजन गरेका थिए शरण प्रधानले।
सुरुसुरुमा ‘ए कान्छा मलाई सुनको चारा खसाइदेऊ न...’ जस्ता मिलन र संयोगका गीतहरू गाए पनि वेदना र पीडाका गीतहरू नै उनको रोजाइमा परे। उनको स्वरमा जन्मजात नै करुणा र संवेदनाले घर गरेको थियो। उनको पीडित जीवनको व्यथा उनका गीतहरूमा पोखिन्थ्यो। अरुणा र शरणको वैवाहिक जीवनमा १० वर्ष पनि नबित्दै एउटा विनाशक हुन्डरी चल्यो। रोगी र ख्याउटे शरीरका शरण सधैं मुर्छा पर्ने रोगबाट ग्रसित थिए। यस पटक भने मुर्छाबाट बौरिएनन्। प्यारी अरुणा र नाबालक छोरा सुप्रीत र छोरी सपनालाई निर्जन संसारमा हेलिदिएर शरण अनन्तमा बिलाए।
अकल्पनीय पीडाको भार खेप्नु परेपछि अरुणा निस्तब्ध बन्दै घरमै झोक्राएर बस्न थालिन्। एउटी कोकिलकण्ठी गायिका घरको चौघेरामा सीमित हुनु नेपाली सुगम संगीतका लागि पनि ठूलो नोक्सान थियो। यति भएर पनि अरुणा शरणबाहेक संगीतका लागि पनि जन्मेकी थिइन्। संगीतका लागि जन्मेको मान्छेले घरको चार दिवारभित्र कैद भएर मात्र बस्नु हुन्न भनी तत्कालीन संगीतकर्मीहरू कर्म योञ्जन र मणिकमल क्षेत्रीहरूले पुनः अरुणालाई संगीतको मञ्चमा उभ्याउन सफल भए। पतिको देहान्त, पारिवारिक पालनपोषण तथा जागिरजस्ता कुरालाई काँध थाप्दै उनी वेदना र करुणामय गीतहरूमा फुल्न थालिन्।
उदास मेरो जीवनकथा कसैलाई भनिनँ
यो जन्मभरी सहेको व्यथा कसैलाई भनिनँ...।
यस्ता कालजयी दुखान्त गीतका स्रष्टा अरुणाको लोकप्रियता नेपाल र दार्जिलिङमा मात्र होइन, भुटान तथा बर्मासम्म पनि फैलिन पुग्यो शनैशनै। भूपि शेरचन, भैरवनाथ रिमाल कदम, गोपाल योञ्जन, अम्बर गुरुङ, मनबहादुर मुखिया आदिका शब्दहरूमा उनले विरही भाखामा स्वरहरू पस्किइरहिन्। माइतीघर, परालको आगो तथा कान्छीजस्ता चलचित्रमा उनको स्वर समेटियो। चलचित्रका निर्माता र निर्देशकले दिएको सिचुएसनको परिधिभित्र कुँजिएर गीत गाउने अन्तर्य पनि अरुणाको थिएन। पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालें, हेरन हेर कान्छा डाँडालाई फूलले ढाक्यो, एक्लै बस्दा सधैं मलाई सम्झना तिम्रो आइदिन्छ र नेपाली गौरव गर्छौं आफ्नै पनमा घमण्डी त छैनौं है आदि बेजोड गीतहरू समग्र नेपाली संगीतका अमूल्य निधि हुन्।
नेपाली गीतसंगीतप्रति उनको देन अभूतपूर्व पाइन्छ। नाइटिंगेल अफ दी हिमालय भनी भारतको पश्चिम बंगाल सरकारको चाहनामा कलकत्ताको हिन्दूस्तान रेकर्डिङ कम्पनीले दिएको मानार्थ पदवीलाई पूर्ण न्याय गर्ने कार्य उनबाट भएको छ। हुन त अम्बरको आर्ट एकेडेमीमा छँदै अम्बर उनलाई नाइटिंगेल भनेर भन्थे भने काठमाडौंमा भूपि शेरचनले उनको गायकीलाई बर्डसङ। गीतको शब्द चयनमा अत्यन्त ध्यान दिने उनले कर्म योञ्जन, नारायण गोपाल, दिव्य खालिङ, अम्बर गुरुङ, कुन्दनराज सुब्बा तथा शान्ति ठटाल आदिको संगीत कम्पोजिसनलाई न्याय गरेकी छन्।
सन् १९८० मा भएको पहिलो गोर्खाल्यान्ड आन्दोलनका सिलसिलामा सरकारी नोकरीमा रहेकी अरुणालाई सुभाष घिसिङका कार्यकर्ताले उद्दण्ड शैलीमा गोर्खाल्यान्ड आन्दोलनका समर्थनमा गीतहरू गाउन ठूलो दबाब दिए। त्यसले उनलाई निकै अप्ठ्यारो परेको थियो। यस्तो नमीठो स्मृति पनि छ उनको गायकी जीवनको। यो घटनापछि उनी पतिझैं रक्सीको लतमा परेको र त्यसैका कारण उनको छोटो उमेरमै निधन भएको अनुमान सहकर्मी एवं उपन्यासकार स्व. पिटर जे. कार्थकले गरेका थिए।
हाँसी हाँसी जलिरहें खुसीसितै बलिरहेछु
आगो सल्काई छातिभरि रुखो हाँसो देखाइरहेछु ..।
हुन पनि हो, अरुणाको जीवन नै बाहिर लोकाचारका लागि हाँसेर भित्रभित्रै जलेको थियो, शरणको अल्पायुमै भएको निधनले उनको छातीमा आगो सल्किएको थियो। यति हुँदाहुँदै पनि उनी समाजका लागि रूखो हाँसो देखाउन विवश थिइन्। नेपाली सुगम संगीतको एउटा कालखण्डको पृथक धाराकी एक्ली प्रतिनिधि हुन् उनी। थोरै गाए पनि उनी अजर अमर भइन्। गीतको संख्या थप्नु उनको रुचिको विषय भएन। उनका डेढ सयजति गीत मात्र रेकर्ड हुन सके। गोरखा दक्षिणबाहु पदक, छिन्नलता पुरस्कारलगायत अन्य थुप्रै पुरस्कार र मानसम्मान पाइन्।
‘माइतीघर’ चलचित्रमा स्वर दिएबापत चलचित्र पुरस्कार, उर्वशी रंग पुरस्कार, सुर शृंगार सम्मेलन पुरस्कार, कलकत्ताको दिसारी पुरस्कार तथा साधना कला केन्द्रले दिएको साधना सम्मान आदि यो मेसोमा पर्छन्। दुई दशकभन्दा अघि काठमाडौंमा उनको एकल सांगीतिक साँझका रूपमा अरुणाञ्जली आयोजना भयो। नेपालको सरकारी क्षेत्रबाट उपेक्षित भए पनि निजी क्षेत्रबाट भने उनी अर्थात् पूर्वेली नूर जहाँ मनग्गे सम्मानित भइन्। यसको पुष्टि नरेन्द्रराज प्रसाईले लेखेको ‘अरुणा लामा ः कथा र व्यथा’ नामक पुस्तकले पनि गर्छ। दार्जिलिङमा पनि एकल सांगीतिक कार्यक्रम राग रजत नाममा भयो। काठमाडौं र दार्जिलिङ आउजाउ गरिरहन्थिन् अरुणा। दुवैतिरका भावनामय भावकहरूको रोजाइमा पनि उनी यसकारण परेकी हुन्। जीवनका दुःखान्त व्यथाहरूलाई गीतमा उमार्ने उनी अर्थात् ट्रेजेडी क्विन २०५४ माघ २२ गते एकाएक श्रोतालाई आफ्ना दुःखान्त गीतहरू छाडेर अनन्तमा बिलाइन्। नेपाली सुगम संगीतको यसरी एउटा धाराको सूर्यास्त भयो जसको क्षतिपूर्ति पटक्कै सम्भव छैन।
तारादेवी, शान्ति ठटाल र दिलमाया खातीहरूकी समकालीन अरुणाले पनि लामो आयु पाइनन्। मात्र ५२ वर्षमा उनी अम्बर गुरुङको शब्दमा झैं जीवनभर आँसुमा फुलेर भावकहरूका आँखामा पनि आँसु नै बर्साएर अनन्तमा हराइन्। पश्चिम बंगालको विजनबारीमा उनको प्रथम पटक निर्मित पूर्ण कदको सालिकको अनावरण वरिष्ठ संगीतकार अम्बर गुरुङबाटै भयो। यो पनि मरणोपरान्त एउटा सार्थक सम्मान नै हो भन्न सकिन्छ। हालै पनि भारतको सिलिगुडी र मङ्पुमा उनको अर्धकदको सालिक बनेको छ जसको अनावरण वरिष्ठ संगीतकार शान्ति ठटालबाटै भएको छ।