चित्रबहादुर केसीको आरोप: राज्यको ढुकुटी रित्याउने गरी ओलीको शक्ति प्रदर्शन
सन्धिखर्क: राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले राज्यको ढुकुटी रित्तिने गरी नेकपाका नेताहरूले शक्ति प्रदर्शन गरेको आरोप लगाएका छन् ।
शनिबार बुटवलमा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले शक्ति प्रदर्शन गरिरहँदा अर्घाखाँचीबाट नेता केसीले बुटवलको कार्यक्रमलाई लक्षित गर्दै यस्तो बताएका हुन् ।
अध्यक्ष केसीले सत्तामा बस्नेहरूले देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र अस्मिता भन्दा पनि सत्ता र स्वार्थमा लागेको आरोप लगाए । राष्ट्रिय जनमोर्चा अर्घाखाँची र प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै केसीले यस्तो बताएका हुन् ।
अध्यक्ष केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै दुई तिहाई बहुमतको समर्थन पाएको संसद् विघटन गर्नु अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगामी कदम भएको भन्दै बिघटित संसद पुनर्स्थापना हुनुपर्नेमा पनि जोड दिए ।
राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष थम्मन केसी सचिव बाबुराम पन्थी सुनार, उपाध्यक्ष गोपाल पौडेल, राजमो केन्द्रीय सदस्य मनोज भट्ट, राजमो नेताहरु शेरबहादुर बिसी, झबिलाल थापा, सागर केसी, पशुपति ढकाल, कल्पना पोख्रेल लगायतले कार्यक्रममा मन्तब्य राखेका थिए ।
जनमोर्चाले सदरमुकाममा वृहत् जनसभा समेत गरेको थियो । बिरोधसभा अघि सुरु भएको जुलुसमा हजारौँ कार्यकर्ताहरुले चुत्राबेसी र सन्धिखर्क बजार परिक्रमा गरेका थिए । कार्यक्रममा रक्तिम सांस्कृतिक परिवारका कलाकारको प्रस्तुति समेत थियो ।