आमा, ओलन दिनुस् न !

आमा, ओलन दिनुस् न !

‘आमा, ओलन दिनुस् न !’, गोरो बाटुलो अनुहार भएको र केही चिम्सा आँखा भएको ऊ मेरी आमातिर हेर्दै थाल तेर्साउँदै थियो। आमा चुलोछेउमा बसेर दूध तताउँदै हुनुहुन्थ्यो। म उसले ओलन भनेको सुनेर खित्का छाडेर हाँसें। तत्कालै चुप भएँ। अनुहार कालोनीलो भयो। डर पनि लाग्यो। किनकि 

ऊ माओवादी लडाकु थियो। उससँग बडेमानको बन्दुक पनि थियो।

त्यसो त माओवादी नामै काफी थियो। झनै बन्दुक नै देखेपछिको हालत त कस्तो भयो होला ? ऊ मुसुक्क हाँस्यो र बोल्यो, ‘ओलन भनेको सुनेर हाँस्नुभएको हो ? हाम्रोतिर त दूधलाई ओलन नै भन्छन् नि।’ ऊ हाँसेपछि मेरो मन शान्त भयो र भनें, तपाईंको घर इलाम हो र ? मैले पढेकी थिएँ– इलाम पाँच ‘अ’ का लागि प्रख्यात छ। त्यो पाँचमध्ये एक ‘अ’ ओलन हो। हाम्रो धनकुटातिर भने कोही दूधलाई ओलन भन्दैनन्। नभन्दै उसको घर इलामै रहेछ।

यति कुरा हुँदै गर्दा मेरी आमाले उसको थालमा ओलन हालिदिनुभयो। ऊ खान थाल्यो। ओलनसँग भात यस्तरी खाँदै थियो कि उसले बच्चादेखि ओलन खान पाएकै थिएन। उसको ज्यानमा हड्डी र छाला मात्र देखिएको थियो। आँखा बाहिर निस्केका थिए। मलाई कताकता उसको माया लाग्यो। एक टकले उसको अनुहारमा हेरिरहें। अनुहार पहेंलो र थाकेका आँखा थिए।

यसपटक पनि छापामारहरू कार्यक्रम लिएर आए। हुलमा आँखा बिछ्याएँ तर मैले आशा गरेको ऊ थिएन। पछि थाहा पाएँ, ऊ सहिद भइसेकेको रहेछ।

यति हुनु एक घन्टाअगाडिको कुरा। ५७/५८ सालतिरको एक साँझको कुरा हो। दाजु र म धनकुटा बहुमुखी क्याम्पसमा अध्ययनरत थियौं। घरदेखि मास्तिर डिलमा मान्छे हिँडेको आवाज आयो। माओवादी हो भन्ने हामीले अड्कल काटिनसक्दै त्यो जत्था हाम्रै आँगनमा ओर्लियो। मेरी आमा हातमा दियो बोकेर साँझको आरति गर्दै बाहिर तुलसी मोठमा बत्ती बाल्न निस्कँदै हुनुहुन्थ्यो। गडम्गडम् गर्दै २५/३० जनाको जत्थामध्ये कोही भित्रै पसे भने कोही आँगनतिरकै फलैंचामा बसे। भित्र पसेकाले दाजुलाई एकैछिन पछाडि जाऊँ न भनेर हातै समातेर घरपछाडि लिएर गए। हामी आत्तियौं। हुन पनि त्यो बेला माओवादीले गाउँगाउँबाट युवायुवतीलाई जबर्जस्ती लिएर जान्थे। तर हाम्रोतिर त्यस्तो भएको थिएन। तैपनि डर त डरै हो। हामी पछि लाग्न खोज्यौं। त्योे मान्छेले रोक्दै भन्यो, तपाईंहरू यहीं बस्नुस् हामी आइहाल्छौं। केही समयपछि दाजु र त्यो मान्छे फर्के। हामीले सन्तोषको सास फे¥यौं। दाजुले भन्नुभयो, ऊ मेरो साथी हो।

माओवादी साँझ घरमा आइपुगे भने पक्का थियो कि अब हाम्रो घरको चामल, दाल, नुनतेल केही मात्रामा घट्दै छ। त्यति दिएपछि उनीहरू आफैं चुलो बनाउने, पकाउने र खाने गर्थे। भाँडा पनि माझेर राखिदिन्थे र आफ्नै स्लिपिङ ब्यागमा जताततै सुत्थे। कोही चुलो बनाउन थाले कोही भित्रबाट चामल, दाललगायतका सामान ओसार्न थाले।

हाम्रो भने खाना पाकिसकेको थियो। दूध तताइसकेर खानेवाला थियौं। त्यही बेला लुसुक्क ऊ हाम्रो भान्सामा छिरेको थियो। जुन कुरा मैले सुरुमै भनें। भोकाएको उसले भाँडाको भात हेरिरहेको थियो। हामीलाई पस्किँदा आमाले उसलाई पनि भात पस्केर दिनुभएको थियो। अनि उसले मन थाम्न नसकेर ओलन मागेको थियो होला सायद।

खाइसकेर उसले आफ्नो स्लिपिङ ब्याग झिक्यो र भान्साकै एक कुनामा पुर्लुक्क ढल्यो। हामीले केही भनेनौं। हेर्दाहेदै ऊ निदायो। हामी पनि भान्साको काम सकेर आआफ्नो कोठामा लाग्यौं। उसका अरू साथी भने बाहिर आँगनकोे डिलमा बनाइएको चुलोमा भर्खरै भात बसाल्दै थिए।

बिहान आँखा खुल्नासाथ मैले भान्सामा सुतेको उसलाई सम्झें। जुरुक्क उठेर तल झर्दा नामोनिशाना थिएन। उनीहरूले भात पकाएको ठाउँ पहिलेको जस्तै सामान्य थियो। सबैजना नित्यजस्तै काममा लागिसकेका। मेरो मन भने किनकिन बैचैन भयो। उसका चिम्सा आँखा, पहेंलो र थकित मुहार भलझली आँखामा आइरहे।

समय बित्दै जाँदा धेरैे माओवादीका हुल हाम्रा घरमा आए त्यसरी नै बसे, खाए, सुते, उठे। तर त्यो हुलमा ऊ कहिल्यै देखिएन। त्यो सालको दसैं पनि गयो ऊ देखिएन। ऊसँगै त्यो रात हाम्रो घरमा बसेका अरू सबैलाई मैले बारम्बार देखें, त अहँ ऊ कहिल्यै देखिएन। तिहार आयो बारीभरि, आँगनभरि सयपत्री मखमली फुले। तिहारे माहोलले गाउँ छपक्कै भिज्यो। माओवादी दसैंतिहार मनाउनु हुँदैन भन्दै हिँडे पनि तिहारमा सांस्कृतिक कार्यक्रम भने गर्थे। जनवादी गीत गाउँथे। नाच्थे।

यसपटक पनि उनीहरू कार्यक्रम लिएर आए। हुलमा मैले आँखा बिछ्याएँ तर मैले आशा गरेको ऊ थिएन। त्यो हुलमा हाम्रो आफन्त पर्ने एकजना दाजुलाई देखें। उहाँ माओवादीमा स्वेच्छाले हिँड्नुभयो अरे भन्ने सुनेका थियौं। आँखा जुधेपछि उहाँ हाँस्तै हामी भएतिर आउनुभयो। केहीबेर कुरा भएपछि मैले उसबारे सोधें। उसको हुलिया बताएँ र केही समयअगाडि यहाँ बसेको कुरा पनि बताएँ।

‘को हो को हो ? नाम थाहा छ त तिमीलाई ?’, उहाँले सोध्नुभयो।

‘अहँ नाम त थाहा भएन। अँ इलाम घर भनेको थियो’, मैले भनें।

‘ए ए, तिमीले कमरेड तुफानको कुरा गरेकी रहिछौ। उहाँले भनेको हुलिया ठ्याक्कै मिल्यो। म खुसी भएर सोधें, ‘कहाँ हुनुहुन्छ त उहाँ ?’

‘उहाँ त सहिद हुनुभयो। महान् जनयुद्धमा वीरगति प्राप्त गर्नुभयो। त्यसो भनिरहँदा ती दाजुको पूरै शरीरमा रगत उम्लेजस्तो देखिन्थ्यो। म भने केही बोल्न सकिनँ। आँखा र मुख खुला रहे मन रोयो तर व्यक्त गर्न सकिनँ।

केही समयपछि सुनें त्यो दाजुले पनि वीरगति प्राप्त गर्नुभयो अरे। उहाँ पनि महान् जनयुद्धमा सहिद हुनुभएछ।

[email protected]


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.