हिमाली मृत्यु संस्कार र वातावरण
मान्छे जन्मेपछि मर्नुपर्छ। समाजले मान्छे जन्मेदेखि मृत्युपछिसम्म गर्नुपर्ने परम्परा, रीतिरिवाज, चालचलन, प्रथा र नियम–कानुनसमेत बनाएको हुन्छ। जन्मदेखि मृत्युसम्म गर्नुपर्ने संस्कारमध्ये एउटा हो– मृत्यु सस्कार। त्यस्ता रीतिरिवाज र संस्कारको सामाजिक मूल्य त हुने नै भयो। त्यसको वातावरणीय तरिकाले मूल्यांकन र विश्लेषण पनि आवश्यक छ।
हिमाली भेगमा बस्ने भोटवासी, लामा, गुरुङ र घलेहरूका पनि आआफ्नै संस्कृति, रीतिरिवाज र संस्कार छन्। पूर्वदेखि पश्चिमका हिमाली भेगका वासिन्दाका संस्कार कहीं मिल्दाजुल्दा छन् त कहीं फरक पनि छन्। डोल्पाको भोट र मनाङको भोट क्षेत्र मानिने नारफुमा रहने समुदायका पनि मृत्युपछिका संस्कार उस्तैउस्तै रहेका छन्। यी बुद्ध धर्मावलम्बी तथा गुम्बा संस्कृतिका अनुयायीका संस्कारमा लामाहरूको निर्णय प्रमुख मानिन्छ। जन्मदेखि मृत्युसम्म संस्कारमा लामाको सल्लाह र निर्देशनअनुसार चल्नुपर्ने हुन्छ।
कुनै व्यक्तिको मृत्युपछि पहिलो कार्य लामालाई खबर गरी बोलाउनुपर्छ। लामा मृत्यु भएको स्थानमा पुगेपछि मृतक कस्तो दिनमा जीन्मएको हो र मृत्युको समय कस्तो थियो भन्ने आधारमा मृतकको लासलाई कुन तरिकाले अन्त्येष्टि गर्ने भन्ने निर्भर गर्छ।
मृत व्यक्तिको अवस्थाअनुसार मृत शरीरलाई केकस्तो प्रक्रिया अपनाएर अन्त्येष्टि गर्ने भन्ने लामाहरूको बैठकबाट यकिन गरिन्छ। अन्त्येष्टि गर्दा पञ्चतत्व जमिन, आकाश, हावा, अग्नि, जल कुनसँग मिलान गर्ने हो ? त्यो प्रक्रिया अपनाइन्छ। विगतमा जमिन तथा माटो जुर्यो भने मृत व्यक्तिको शरीर माटोमा दबाइन्थ्यो। हावा र आकाश जुर्यो भने लास काटेर टुक्राटुक्रा पारी गिद्धलाई बाँडिन्थ्यो र हावामा उडेको वा आकाशमा पुगेको विश्वास गरिन्थ्यो। त्यस्तै जल जुरेको भएमा लासलाई नदीमा बगाइन्थ्यो।
हाल संकारमा परिमार्जन भएको पाइन्छ। लामाले मृतकलाई जुरेअनुसार सांकेतिक रूपमा तथा नमुनाका रूपमा लास जलाउन थालिएको छ। जमिन जुरेको व्यक्तिको मृत शरीरलाई शरीरको थोरै भाग तथा जलाएपछिको अन्तिम भाग जमिनमा गाडिन्छ। त्यस्तै आकाश तथा हावा जुरेको व्यक्तिको लासको सानो अंश काटी आकाशमा फ्याँकी अन्य भाग जलाइन्छ। त्यस्तै जल जुरेको व्यक्तिको लासको सानो अंश जलमा बगाउने तथा जलाएर बाँकी रहेको सानो भाग मात्र नदीमा बगाउने गरिन्छ।
लास व्यवस्थापनका आफ्नै संस्कार भए पनि यसको वातावरणमा प्रभाव भने एकै किसिमको पर्छ। लास व्यवस्थापनका भिन्न प्रक्रियाका वातावरणीय रूपमा आआफ्नै सकारात्मक र नकारात्मक पक्ष रहेका छन्। तिनको यहाँ उल्लेख गर्ने प्रयास गरिएको छ।
धेरैले अपानाउँदै आएको लास जलाउने संस्कारका पनि केही सकारात्मक र नकारात्मक प्रभाव रहेका छन्। लास जलाएपछि त्यसको कुनै पनि भाग नरहने, सबै नष्ट हुने, मृत शरीरमा भएका सरुवा रोग पनि जलेर सकिने, फैलिन नपाउने, जलाएको लास खरानी हुने हुनाले त्यसलाई कसैले उधिन्न, अन्यन्त्र पुर्याउन नपाउने र मृत व्यक्तिको शारीरिक गोप्यता पनि उजागर हुन नसक्ने सकारात्मक पक्ष छन्। जलाउनका लागि इन्धन आवश्यक पर्छ। विद्युतीय यन्त्रद्वारा लास अन्त्येष्टि गर्ने प्रक्रिया काठमाडौंको पशुपति क्षेत्रमा सुरुवात गरिए पनि अन्य स्थानमा पुगेको छैन।
हिमाली भेगमा झन्डै चार हजार मिटरभन्दा बढी उचाइमा रूखका बिरुवा हुर्कन र बढ्न सक्दैनन्। जमिनमा सानो काँडे बुट्यान मात्र रहेको हुन्छ। चार हजार मिटरभन्दा तल तथा वृक्ष रेखानजिकमा हुर्कने बिरुवा पनि हुर्कन धेरै वर्ष लाग्छ। जति जमिनको उचाइ बढ्दै गयो रूखको उचाइ भने घट्दै जान्छ। २५ सय मिटरतिर विशाल रूख हुने धूपीसल्लाका जात अठ्तीसमा पुग्दा झन्डै भुईँमा टाँसिन पुग्छन्। हिमाली भेगमा लास व्यवस्थापन गर्न घरबाट तलतर्फ खोला तथा गहिरो स्थानतिर हैन कि उचाइमा रहेका पाटनतर्फ लगिन्छ। उच्च स्थानमा लास जलाएर गरिने संस्कार खर्चिलो र वातावरणीय दृष्टिले घातक हुन्छ। हिमाली भेगको पनि उच्च स्थानमा चिसो, हावाको चाप बढी हुनाले पनि लास जल्न धेरै दाउरा आवश्यक पर्छ। यस परम्पराले पातलो जंगल पनि नासिने सम्भावना रहन्छ।
लासलाई काटेर गिद्धलाई दिने प्रचलनका पनि केही सकारात्मक पक्ष छन्। एक व्यक्तिको मृत्युले तत्काल लोप हुन लागेका पन्छीका लागि भोजन प्राप्त हुने, गिद्धले छाडेका र जमिनमा रहेका ससाना टुक्रा पनि साना जीवजन्तुको आहार हुने, एक मानिसको मृत शरीरबाट धेरै जीव बाँच्ने आधार हुने पक्ष राम्रै मान्नुपर्ने हुन्छ। यस प्रचलनबाट वरिपरिका क्षेत्रमा हाडखोर र शरीरका टुक्राटाक्री रहने, रोगव्याधी फैलन सक्नेजस्ता नकारात्मक पक्ष पनि छन्।
नदीमा बगाउँदा तत्काल जलचरले भोजन गरेमा जलचरका लागि बाँच्ने आधार हुनु सकारात्मक मान्न सकिन्छ। प्रायः लास कुनै–कुनै ठाउँमा पुगेर नदीकिनारामा पाखा लाग्ने, कुहिने, वरिपरिका क्षेत्र दुर्गन्धित हुने, मृत व्यक्तिको शारीरिक गोप्यता नरहने, लासको दुरूपयोग हुन सक्ने, पानी प्रदूषित हुनेजस्ता नकारात्मक पक्ष छन्।
लासलाई व्यवस्थित तरिकाले माटोमुनि दबाउँदा इन्धनका लागि बिरुवा नाश पनि नहुने, प्राकृतिक तरिकाले लासको अन्त्य हुने, रूख बिरुवा हुने स्थानमा दबाइएमा मल हुने, लासबाट साना जीव बाँच्ने आधार हुने, निश्चित समयपछि मृत शरीर माटोमा मिल्ने हुनाले यसका सकारात्मक पक्ष तुलानात्मक रूपमा बढी देखिन्छ। त्यति मात्र होइन; मृत शरीर धेरै पछि उत्खनन गरी परीक्षण, अध्ययन र अनुसन्धान गर्न सकिने छ। लासलाई दबाएको स्थानमा सिमेन्टेड वा ढुंगामाटोका माने तथा स्तम्भ निर्माण गर्नाले भने जमिनको स्वरूपमा विकृति आउने प्राकृतिक अवस्था नाश हुने र जंगल नाश हुने, रूखबिरुवा हुर्कने स्थानको अभाव हुनेछ।
मनाङको नार क्षेत्रमा ठूलो चौर क्षेत्रका बीचमा लास राख्ने घर बनाइएको छ। मृतकको लासलाई दिन जुराएर मृतकको घरबाट त्यस घरमा लगेर राखिन्छ र लामाले जुराएर मात्र अन्त्येष्टि गरिन्छ। दिन नजुरेमा लास धेरै दिनसम्म रहन सक्छ। लास राखेपछि बनाइएका माने तथा संरचनाले चौरको प्राकृतिक स्वरूपमा परिवर्तन ल्याएको छ। गाउँभन्दा माथि रहेको त्यस स्थानमा यस्तै संरचना बन्दै जाने हो भने पछि स्थान अभाव हुन सक्छ। क्रिस्चियन समुदायमा आफ्नो मृत शरीर तथा लास राख्ने महत्त्वपूर्ण स्थान खरिद गर्न जीवनभर रकम संकलन गर्ने प्रयत्न गरेजस्तै भविष्यमा महत्त्वपूर्ण स्थानमा आफन्तको लासको अत्येष्टि गर्ने र स्तम्भ तथा माने बनाउने प्रयत्नले समाजमा झगडा र मनमुटाव ननिम्त्याउला भन्न सकिन्न। मृत्यु संस्कार मात्र हैन; हाम्रा संस्कार, आनिबानी कत्तिको वातावरणमैत्री छन् भन्नेबारेमा सबैले एकपटक सोच्नुपर्ने छ।
[email protected]