भक्तपुरकै पहिलो व्याडमिन्टन कभर्ड हल उद्घाटन
काठमाडौं : भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटमा निर्मित जिल्लाकै पहिलो ब्याडमिन्टन कोर्टसहितको कभर्ड हलको विधिवत उद्घाटन गरिएको छ । करिब २० लाख रुपैयाँ लागतमा दुवाकोट व्याडमिन्टन समाजले निर्माण गरेको उक्त कभर्ड हलको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गरेका हुन् ।
चाँगुनारायण नपाकै आर्थिक सहयोगमा दुई वर्ष लगाएर उक्त कभर्ड हल निर्माण गरिएको समाजका अध्यक्ष सन्तोष केसीले जानकारी दिए । उनले सार्वजनिक ठाउँमा निर्मित उक्त कभर्ड हल भक्तपुर जिल्लाकै पहिलो भएको दावी गरे ।
जिल्लामा निजी तवरबाट धेरै व्याडमिन्टनको कोर्ट बने पनि कभर्ड हल बनिनसकेको भक्तपुर जिल्ला व्याडमिन्टन संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले पनि पुष्टि गरे ।
उनले भक्तपुर नपा ८ लिवालीमा संघले पनि व्याडमिन्टन कोर्टसहितको कभर्ड हल निर्माण गरिरहेको जानकारी दिए । चालू आर्थिक वर्षभित्र कभर्ड हल निर्माण पूरा गरी खेल सञ्चालन गर्ने लक्ष्य रहेको अध्यक्ष प्रजापति बताउँछन् ।
दुवाकोटमा निर्मित व्याडमिन्टन कोर्टसहितको कभर्ड हल ६० फिट लम्बाइ र ४० फिट चोडाइ रहेको छ । अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेरै बनाइएको उक्त हलको उचाइ ३३ फिट रहेको समाजका अध्यक्ष केसीले जानकारी दिए ।
कभर्ड हल उद्घाटन गर्दै चाँगुनारायण नपाका प्रमुख मिश्रले नगर क्षेत्रमा खेलकुदको विकासको लागि नपा लागिपरेको स्पष्ट पारे । उनले चाँगुनारायण नपाकै ७ वडामा हक्की खेलको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण प्रक्रियामा रहेको बताए । त्यस्तै चाँगुनारायण नपा ४ मा पनि रंगशाला निर्माणको लागि अहिले जमिन सम्याउने काम भइरहेको उनको भनाइ थियो ।
भक्तपुर जिल्ला व्याडमिन्टन संघका अध्यक्ष प्रजापतिले संघले विद्यालयमा आधारित व्याडमिन्टन प्रशिक्षण सञ्चालन गरी नयाँ पुस्तालाई खेलमा सहभागी गराउन लागिएको बताए ।
समाजले व्याडमिन्टन कभर्ड हल उद्घाटनसँगै चाँगुनारायण नगरव्यापी पुरुष युगल ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा २८ जोडीको सहभागिता रहेको अध्यक्ष केसीले जानकारी दिए । सहभागीहरुलाई ८ वटा समूहमा बाँडिएको छ । तीन दिनसम्म चल्ने प्रतियोगिताभर एकसय २० वटा खेल हुनेछन् ।