संसद विघटन सदर भए कांग्रेस चुनावमा जान तयार : जोशी

संसद विघटन सदर भए कांग्रेस चुनावमा जान तयार : जोशी

भक्तपुर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सदर गरे कांग्रेस चुनावमा जान तयार भएको स्पष्ट पारेका छन् । नेपाली कांग्रेसको घोषित कार्यक्रमअनुसार सोमबार भक्तपुरको टौमढीमा भएको विरोधसभामा उनले सर्वोच्चले मुद्दा किनारा लगाएसम्म कांग्रेस प्रतिनिधिसभा पुनःस्थापनाकै पक्षमा रहेको स्पष्ट पारेका हुन् ।

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम भएको भन्दै देशव्यापी आन्दोलन गर्दै आएको छ । सोमबार घोषित कार्यक्रमअनुसार कांग्रेसले देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन तथा सभा आयोजना गरेको थियो । सोही कार्यक्रमअनुसार भक्तपुरमा भएको विरोधसभालाई सम्बोधन गर्दै नेता जोशीले प्रतिनिधिसभा विघटन सदर भई निर्वाचन नभए प्रधानमन्त्री ओली र उनका नेता तथा कार्यकर्ताहरुलाई जनताले बाँकी नराख्ने चेतावनी दिए ।

‘प्रतिनिधिसभा विघटन सदर हुने तर घोषित निर्वाचन नहुने भए प्रधानमन्त्री ओली र उहाँका नेता तथा कार्यकर्ताहरुलाई जनताले बाँकी राख्नेछैनन्’, उनले भने, ‘प्रधानमन्त्री ओली पक्षका नेता तथा कार्यकर्ताहरु गाउँगाउँ र सहरसहरबाट लखेटिनेछन् । ओलीका साइबर सेना लुक्नुपर्नेछ ।’

 विरोधसभा सहभागी नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता । 

ओलीको साइबर सेनालाई स्यालको संज्ञा दिँदै नेता जोशीले जताततै स्याल हुइयाँमात्रै सुनिएको टिप्पणी गरे । ‘ओलीले तयार गरेको साइबर सेना होइन, स्याल सेना हो । देशभर स्याल हुइयाँमात्रै सुनिन्छ’, उनले थपे, ‘नेपाली कांग्रेस स्याल र अरिङ्गालबाट तर्सँदैन ।’

कांग्रेस चुनावमा जान नडराउने उनको स्पष्टोक्ति थियो । उनले कांग्रेसका नेता तथा कार्यकर्ताले जनताबीच जान कुनै अप्ठ्यारो मान्नुपर्ने अवस्था नभएको बताए ।‘जनताका घरघरमा जाऔं । कान समातेर हिजो गल्ती भए, अब दोहोर्‍याउने छैन भन्ने बाचा गरौं’, पूर्वसांसदसमेत रहेका जोशीले भने, ‘जनताले पक्कै माफी दिनेछन्, कांग्रेसलाई विश्वास गर्नेछन् तर कांग्रेस नभई फेरि गुटका नेता र कार्यकर्ता गयौं भने फेरि पनि जनताले सजाय दिनेछन् ।’

हिजो कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरु सत्तामा आएपछि रुन पनि पाइँदैन भनी टिप्पणी गर्दा आफूलाई पनि यस्तो त नहोला भन्ने लागेको सुनाउँदै उनले अहिले स्थिति त्यहीं आएको चर्चा गरे । उनले ओली सरकार निरंकुशतातर्फ अघि बढेर जनतामा तानाशाही शासन थोपर्न उद्यत रहेको स्पष्ट पारे ।
ओलीले सत्ता कब्जा गरेर आफ्नै गुटको मान्छेको मात्रै स्वार्थ पूरा गरेको उनको भनाइ थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.