नाका नथुनौं

नाका नथुनौं

कोरोना संक्रमण फैलिने त्रासले झन्डै १० महिना बन्द रहेको नेपाल-भारतबीचको नाका खुलाउने सरकारी निर्णय भएको महिना दिनभन्दा बढी भइसकेको छ। सम्बन्धित क्षेत्रका व्यवसायी र नागरिकदेखि दुई मुलुकबीच आवतजावत गर्न चाहने पर्यटकसमेत यस निर्णयबाट निकै खुसी भएका थिए। तर सरकारी निर्णयको प्रभावकारी कार्यान्वयन नहुँदा नाकाबाट ओहोरदोहोर गर्नेले बेहोर्नुपर्ने सास्ती लकडाउन अवधिमा जस्तो थियो, अहिले पनि त्यस्तै छ।

नाका खुलेपछि व्यापार-व्यवसाय फस्टाउने आशामा रहेका स्थानीय व्यापारी तथा व्यवसायीलाई यो अवस्थाले निराश बनाएको छ। कोरोनो कहर हटेर सबै क्षेत्र पूर्ण क्षमतामा सञ्चालन भइसक्दा पनि नाकामा उत्पन्न समस्या समाधान हुन नसक्नु दुःखद हो। सरकारले यो विषयलाई प्राथमिकता दिएर के गर्दा नाकामा देखिएको अन्योल हटाउन सकिन्छ भन्नेबारे निर्णय गर्नुपर्छ। नाकाबाट सहज आउजाउ गराउने विषयमा तत्काल ठोस निर्णय गरेर स्थानीय प्रशासनलाई निर्देशन दिनुपर्छ।

मुलुकभित्र कोरोना महामारीको त्रास करिब-करिब अन्त्य भइसकेको छ। हरेक क्षेत्र लकडाउनअघिकै अवस्थामा फर्किसकेको छ। पीसीआर परीक्षण गर्दा नगन्य संख्यामा मात्रै पोजेटिभ केस देखिएको छ। युरोप, अमेरिका, बेलायत, अस्ट्रेलियालगायतका मुलुकमा लकडाउन गर्ने र हटाउने क्रम चलिरहे पनि नेपालमा भने कोरोनाले प्रभावका कारण बन्द गरिएको अब कुनै पनि क्षेत्र बाँकी छैन। छिमेकी भारतको अवस्था पनि नेपालको भन्दा भिन्न छैन। त्योभन्दा महत्त्वपूर्ण पक्ष भनेको दुवै मुलुकमा कोरोनाविरुद्धको खोप अभियान तीव्ररूपमा अघि बढिरहेको छ। यस्तो अवस्थामा पनि पुरानै शैली अपनाएर हिँडडुलमा झन्झट ल्याउनु अव्यावहारिक काम हो। केन्द्र सरकारले नाका खोल्ने निर्णय गर्ने तर स्थानीय प्रशासनले कोरोनाको डर देखाउँदै पुरानै गतिविधिलाई निरन्तरता दिनुले दुई निकायबीच समन्वयको अभाव रहेको देखिन्छ। यो द्विविधा हटाउन सकियो भने धेरै क्षेत्र एकैपटक चलायमान हुन्छन् । बरु हिँडडुल गर्दा स्वास्थ्य मापदण्डलाई अझै पनि कडा पार्न सकिन्छ।

नाका खुलाउने विषयमा स्पष्ट मापदण्ड नहुँदा भारतीय पर्यटक नेपाल आउन सकेका छैनन्। कतिपय अवस्थामा नेपालीले पनि झन्झट बेहोरिरहेका छन्। लकडाउन हटेसँगै होटल, मनोरञ्जन स्थललगायतका पर्यटकलाई प्रत्यक्ष आकर्षण गर्न सघाउने क्षेत्रहरू पूर्णरूपमा खुले पनि पर्यटक आउने वातावरण नहुँदा व्यापार पुरानै लयमा फर्कन सकेको छैन। मुलुकको अर्थतन्त्र उकास्न सबैभन्दा बढी आशा गरिएको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन पनि विदेशी पर्यटकलाई आकर्षित गर्ने नीति बन्नुपर्छ। पहिलो चरणमा आकर्षित गराउन सकिने विदेशी पर्यटक भनेको भारतीय नै हुन् भन्ने वास्तविकता मनन गर्नुपर्छ। लकडाउनका कारण सञ्चालन रोकिएको उद्योग तथा व्यवसायमध्ये ५० प्रतिशतभन्दा बढी सुचारु भइसकेको

राष्ट्रबैंकको तथ्यांकलाई समेत यो अवस्थाले गिज्याइरहेको छ। तथ्यांकमा खुल्ने तर व्यवहारमा व्यापार नहुनुले अर्थतन्त्रलाई सरकारले सोचेअनुसार चलायमान गराउनसमेत मुस्किल पर्छ। अर्थतन्त्र चलायमान नहुनु भनेको सरकारको पनि आम्दानी खुम्चनु हो। यो वास्तविकतालाई ध्यानमा राखेर भए पनि सीमानाका व्यवस्थापनमा ध्यान दिन आवश्यक छ। भारतीय पर्यटक नेपाल भित्रिने उत्तम मौसम भएका कारण पनि यो मामलामा छिटोभन्दा छिटो सरकारी निर्णय हुनुपर्छ। तंग्रिन लागेको अर्थतन्त्रको त्राण थप्न सकिने पाटातर्फ पनि ध्यान दिनुपर्छ।

कोरोनाको त्रास बाँकी नै रहेको छ भन्ने लागेको छ भने पनि नेपाल-भारत आउजाउ गर्नेलाई पीसीआर परीक्षण अनिवार्य रहेको आधिकारिक जानकारी दिएर सबैलाई समान व्यवहार गर्नुपर्छ। मालवाहक गाडीमा जति पनि मानिस ओहोरदोहोर गर्ने तर परिवारसहित घुम्न आएका गाडीलाई भने रोक्ने कार्यलाई व्यावहारिक मान्न सकिँदैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.