बैतडीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप : ६ जना घाइते
धनगढी : बैतडीको डिलासैनी गाउँपालिकामा नेपाली कांग्रेसका नेता एपी साउद र डिला संग्रौला सहभागी विरोध सभामा झडप भएको छ ।
डिलासैनी गाउँपालिका ३ को पङसेरा भन्ने गाउँमा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो । झडपमा ६ जना घाइते भएका छन् । पङसेरामा मंगलबार नेपाली कांग्रेसको विरोधसभा थियो ।
विरोधसभामा कांग्रेस नेता, एनपी साउद, डिला सङ्ग्रौला र नैनसिंह महरलगायतको सहभागिता थियो । सभा सुरु भएपछि, नेकपाका कार्यकर्ताले ढुङ्गामुढा प्रहार गरेपछि झडप भएको नेपाली कांग्रेस डिलासैनी गाउँपालिका कार्यसमितिका सचिव वीरबहादुर बिष्टले बताए ।
सभा बिथोल्ने नियतले नेकपाका कार्यकर्ताले ढुङ्गा प्रहार गरेपछि दोहोरो झडप भएको सभामा सहभागि प्रेस युनीयनका कैलालीका अध्यक्ष श्रवण देउवाले बताए ।
नेपाली कांग्रेसले नेकपा ओली समूहका नेता सुरेन्द्र पालका छोराको नेतृत्वमा गएको समूहले सभा चलिरहेका बेला आक्रमण गरेको आरोप लगाएको छ । नेकपा ओली समूहका बैतडी जिल्ला संयोजक सुरेन्द्र पालले भने आफूलाई घटनाबारे जानकारी नभएको बताए ।
कांग्रेसका कार्यकर्ताले, केही नेकपाका व्यक्ति कांग्रेस प्रवेश गरेको र उनीहरुको सभामा सम्बोधन हुने थाहा पाएपछि ढुंगामुढा गरेको आरोप लगाएका छन् ।