उत्तरी नाकामा फेरि अल्झन
काठमाडौं : नेपाल र चीनबीचको सम्झौताअनुसार ६ नाका सञ्चालनमा आउनुपर्ने हो। तर, जसोतसो सञ्चालित दुई नाका (तातोपानी र रसुवागढी) पनि खुल्दै, बन्द हुँदै गर्छन्। पछिल्लो पालि बल्ल खुलेका यी नाका फेरि केही दिनका लागि भन्दै बन्द भएका छन्।
दुई मुलुकबीच सन् २०१६ मा पारवहन ढुवानी सम्झौता भएको थियो। त्यसलाई कार्यान्वयन गर्न सन् २०१९ अप्रिल २९ मा नेपाल–चीन पारवहन ढुवानी प्रोटोकल भयो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिव प्रकाश दाहालले उक्त सम्झौताअनुसार ६ नाकामार्फत नेपालले चीनसँग आयातनिर्यात कारोबार गर्न पाउने सुविधा प्राप्त गरेको बताए। तर, सिन्धुपाल्चोकस्थित तातोपानी (कोदारी)–जाङमु र रसुवास्थित केरुङ–रसुवागढीमार्फत मात्र व्यापारिक कारोबार गरिँदै आएको छ।
यी नाकाबाट नेपालले चाहेअनुसार पर्याप्त मात्रामा द्विपक्षीय कारोबार भने हुन सकेको छैन। ‘हामीले चीनसँग आर्थिक कारोबार गर्न हालसम्म ६ वटा नाका पाएका छौं’, मन्त्रालयकै अर्का उच्च अधिकारीले भने, ‘तर, लामो समयदेखि तातोपानी र रसुवा नाका व्यवस्थित रूपमा सञ्चालन हुन सकेका छैनन्। यस्तो अवस्थामा अन्य नाकाबाट आर्थिक कारोबार गरौंला भनेर तत्कालै विश्वस्त हुन आवश्यक छैन।’
ती अधिकारीका अनुसार नाका सञ्चालन गर्न सरकारको पहल नपुगेको र चीनले पनि चासो देखाएको छैन। यी नाका गुल्जारमय रूपमा सञ्चालनमा आउन अझै केही वर्ष कुर्नुपर्ने उनको ठम्याइ छ। चीनको सिगात्से जिल्लाअन्तर्गत जाङमु–तातोपानी, केरुङ–रसुवागढी र लिजी–नेचुङ नाका पर्छन्।
विभिन्न बहानामा अवरुद्ध हुँदै आएका तातोपानी र रसुवागढी नाका पुनः ठप्प भएका छन्। दुवै नाकामा कार्यरत चिनियाँ भन्सार कर्मचारी, यार्डमा कार्यरत कामदार र क्लियरेन्स एजेन्ट चीनको नयाँ वर्ष मनाउन भन्दै १० बिदा बसेका छन्। चीन सरकारले नयाँ वर्षका अवसरमा एक साता बिदा दिएको छ।
तातोपानीस्थित भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जाङमु र खासा बजारबाट बिहीबारसम्म दैनिक ४–५ कन्टेनर सामान आए पनि शुक्रबारदेखि भने रोकिएको बताए। अबको शुक्रबारदेखि पहिलेकै अवस्थामा नाका सञ्चालनमा आउने दाबी भन्सार प्रमुख खत्रीले गरे।
‘२० तारिखदेखि भन्सार खुल्नुका साथै कामदार र कर्मचारी पनि काममा फर्कने कुरा छ’, खत्रीले भने, ‘त्यो दिनदेखि पूर्ववत् रूपमा तातोपानी नाका सञ्चालनमा आउनेछ।’ नाका सञ्चालनमा आएपछि दैनिक रूपमा नयाँ सामानसहित २५ देखि ३० कन्टेनर सामान जाङमु र खासा बजारबाट लोड भएर तातोपानी सुक्खा बन्दरगाहसम्म आउने उनले बताए। यसअघि रसुवागढी र तातोपानी भन्सार कार्यालयका अधिकारीले चीनको नयाँ वर्षको अवसरमा ती दुवै नाका बन्द नहुने दाबी गरेका थिए।
रसुवागढी भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले आगामी शनिबार वा आइतबारदेखि नाका पुनः सञ्चालनमा आउने जानकारी दिए। सामानसहितको कन्टेनर केरुङतर्फ अलपत्र नपरेको भन्सार प्रमुख रेग्मीको भनाइ छ। कोभिड सुरु हुनुअघि उक्त नाकाबाट दैनिक १ सय कन्टेनर सामान आउने गरेकामा हाल जम्मा पाँच वटासम्म मात्रै आइरहेका छन्।
नेपाल–चीन व्यापारका लागि तातोपानी मुख्य नाका हो। तर, विभिन्न बहानामा पटक–पटक अवरुद्ध भएपछि त्यसको विकल्पका रूपमा रसुवा नाका खुला गरिएको थियो। चीनसँग वार्षिक २० अर्बभन्दा बढीको आयात र ३ अर्ब मूल्यबराबरको निर्यात हुन्छ।
चीनको ल्हासास्थित महावाणिज्यदूत नवराज ढकालले तातोपानी र रसुवागढी नाका पूर्ववत् रूपमा सञ्चालन गर्न चिनियाँ परराष्ट्र मन्त्रालय, सिगात्से प्रमुख, सत्तासीन चिनियाँ राजनीतिक दलका उच्च अधिकारीसँग सकारात्मक छलफल भएको जानकारी दिए। फागुन पहिलो साता नभए दोस्रो सातादेखि दुवै नाकाबाट पहिलेकै लयमा आयात हुने महावाणिज्यदूत ढकालको भनाइ छ।
चीन र तिब्बत सरकार कोभिडप्रति बढी गम्भीर भएकाले आयातनिर्यात प्रक्रिया असहज भएको मन्त्रालयका अधिकारी बताउँछन्। चीनले हालै मंगोलियाबाहेक अन्य सबै मुलुकसँग आयातनिर्यातसम्बन्धी व्यापार भरपर्दो रूपमा नगरेको सहसचिव दाहालले बताए। चीनले शून्य कोभिडको नीति लिएर आयातनिर्यात व्यापारमा कडाइ गरेको मन्त्रालयले जनाएको छ।
महावाणिज्य दूतावास ल्हासाका अनुसार केरुङतर्फको गोदाममा ३५–४० ट्रकमा अटाउने सामान छ। यो सामान गत चैतदेखि रोकिएका हुन्। सामान बिग्रेर, कुहेर नष्ट हुने अवस्थामा पुगेकाले व्यवसायीले ल्याउन चासो देखाएका छैनन्। केरुङमा करिब २२ ट्रक खाली अवस्थामा छन्। ८ ट्रक बिग्रेर थन्किएका छन्। ४ ट्रक केरुङ र रसुवाको बीचमा अलपत्र परेका छन्।
चार नाकामा पूर्वाधार अभाव
नेपालले हुम्लास्थित यारी भञ्ज्याङ–पुराङ, मुस्ताङस्थित नेचुङ–लिजी, संखुवासभास्थित किमाथांका–चेम्पाङ र ताप्लेजुङस्थित ओलाङचुङगोला–रियो नाका अझै प्रयोग गर्न पाएको छैन। रसुवागढी, तातोपानी र यारी भञ्ज्याङ–पुराङ नाकामार्फत नेपालले चीनसँग द्विपक्षीय व्यापारसहित तेस्रो मुलुकसँग अन्तर्राष्ट्रिय व्यापारसमेत गर्न सक्ने सुविधा पाएको छ। यस्तै नेचुङ, किमाथांका र ओलाङचुङगोलामार्फत द्विपक्षीय व्यापार गर्न पाउने सुविधा छ।
मन्त्रालयका सहसचिव दाहालका अनुसार यारी भञ्ज्याङ–पुराङ नाकालाई हिल्सा नाका नामले चिनिन्छ। यो नाका सञ्चालन गर्न नेपालतर्फ कर्णाली करिडोरअन्तर्गतको सडक खण्ड, भौतिक पूर्वाधार, कर्मचारीको व्यवस्थापन हालसम्म भएको छैन। चीनतर्फ भने भौतिक पूर्वाधारका साथै सडक सञ्जाल विस्तार भइसकेको छ। यो नाकाबाट व्यावसायिक रूपमा कारोबार नभए पनि स्थानीय बासिन्दाले किनमेल गर्न प्रयोग गर्दै आएका छन्। तर, कोरोनाका कारण यस्ता नाका पनि ठप्प छन्।
यस्तै अवस्था छ, लिजी–नेचुङ नाकाको। यो नाकालाई पनि कोरला उपनामले चिनिन्छ। चीनतर्फ सडक मार्ग र भौतिक पूर्वाधार निर्माण भए पनि नेपालतर्फ सडक सञ्जाल नपुगेकाले यो नाका पनि सम्झौता भएर पनि व्यावसायिक रूपमा प्रयोग गर्न सकिएको छैन।
मुस्ताङ र चीनलाई जोड्ने व्यवस्थित नाकाका रूपमा यसलाई लिइए पनि अत्यधिक हिमपात र बाढीपहिरोका कारण सहज देखिएको छैन। यो नाकामार्फत स्थानीय बासिन्दाले थोरबहुत किनमेल गर्दै आएका छन्। यो नाका उत्तरी छिमेकी मुलुक चीन र दक्षिणी छिमेकी मुलुक भारतको सुनौलीलाई जोड्ने सबैभन्दा छोटो दूरीभित्र पर्छ।
व्यावसायिक रूपमा प्रयोगमा आउन नसकेको अर्को नाका हो, किमाथांका–चेम्पाङ नाका। हालसम्म स्थानीय बासिन्दा ओहोरदोहोर गरी किनमेल गर्दै आएको यो नाकासम्म पुग्न पनि गोरेटो बाटो मात्रै बनेको छ। चीनतर्फ भौतिक पूर्वाधार र बाटो निर्माण भए पनि नेपालतर्फ भने सुस्त गतिमा भौतिक पूर्वाधारको काम भइरहेकाले यो नाका पनि प्रयोगमा आउन सकेको छैन।
नेपालतर्फ २–३ खण्डमा सडकखण्ड विस्तार भइरहेको र १७ किलोमिटर खण्डमा उच्च पहाड भएकाले सडक खन्न कठिनाइ भएको मन्त्रालयले जनाएको छ। उच्च न्यूनतम तापक्रमका कारण यो नाकामार्फत अनुकूल मौसममा मात्रै व्यापार गर्न सकिन्छ। केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त नाका सकेसम्म चाँडै सञ्चालनमा ल्याउन सरकारी अधिकारीलाई निर्देशन दिएका थिए।
यो नाकाबाट ३ सय ५० किलोमिटर दूरी पार गरी विराटनगर पुग्न सकिने भएकाले प्रदेश १ र २ का लागि यो नाका आर्थिक र व्यापारिक रूपमा महŒवपूर्ण हुन सक्नेछ। यो नाका नेपाल हुँदै चीन र भारतलाई जोड्ने अर्को सबैभन्दा छोटो दूरीको प्रस्तावित मार्गका रूपमा रहेको छ।
यस्तै रियो–ओलाङचुङगोला नाका पनि स्थानीयस्तरमा ससानो हाटबजार सञ्चालन गर्ने, दुवै मुलुकका बासिन्दा अनौपचारिक रूपमा ओहोरदोहोर गरी किनमेल गर्ने नाकाका रूपमा मात्रै सीमित बनेको छ। यो मार्गबाट चौंरीमार्फत ससानो परिमाणमा ओहोरदोहोर र व्यापार भइरहेको छ। यो नाकाको चीनतर्फ भौतिक पूर्वाधारको काम सकिए पनि नेपालतर्फ भने सडक मार्गको कामसमेत सुरु भएको छैन।