आवश्यकताअनुसार सोच

आवश्यकताअनुसार सोच

प्रत्येक व्यक्ति, घर, परिवार, समाज या राष्ट्रको समृद्घिका लागि आवश्यक कुरा नै सोच हो। साधारणत: कुनै सभा या भेटघाटमा कसैको व्यक्तित्वको प्रसंग निकाल्नुप¥यो भने उदाहरण दिइन्छ– उनी साहै्र उच्च र सकारात्मक सोचका व्यक्ति हुन् या त उनी नकारात्मक र नीच सोच भएका व्यक्ति हुन्। मानिसका स्वभाव, व्यवहार र आदतकै आधारमा व्यक्तित्वको पहिचान गरिन्छ। तर यो सोच त्यत्तिकै आउने होइन। त्यत्तिकै आउने भए सबै सकारात्मक र उच्च सोचका व्यक्तिको बाहुल्य हुने थियो। यसका कारण के हुन सक्छन् र यी आधार वास्तविक हुन सक्छन् कि सक्दैनन् बुझ्ने प्रयास गरौं र मनन गरौं। किनकि, मानव जीवनका सात तल हुन्छन् र त्यही आधारमा सोच पनि उच्च र नीच हुन्छन्।

भोजनको आवश्यकता : अवश्यमेय जीवन बचाउन भोजन आवश्यक पर्छ। तर त्यो भोजन शरीरको हित र स्वास्थ्यको ख्यालसहितको हुन्छ या जीवन बचाउनकै लागि केवल भोजन जुटाउनका लागि प्रयासरत हुँदाहँुदै जीवन सकिन्छ त्यसमा निर्भर गर्छ। धनी र सम्भ्रान्तहरूको भोजनको आवश्यकता खानु, पिउनु र मस्ती गर्नुसँग सम्बन्ध राख्छ भने मजदुरको भोजन दिनभरको कमाइ र कर्मसँग जोडिएको हुन्छ। निम्न आर्थिक अवस्था भएका व्यक्तिको जीवन भोजन जुटाउनमै लाग्छ र उसले आफ्ना परिवारलाई भोजन जुटाउन सक्नु नै उसको जीवन सफल भएको ठान्छ। अब यस्ता व्यक्तिको सोच भोजन भनेको खुसी हो भन्ने हुन्छ। भ्रष्टाचार, अनैतिकता, घुसखोरी, अन्याय, मिलेमतो, कुठाराघातजस्ता अपराधजन्य सोच यिनीहरूबाट आउँदैनन्। अति भोजन र अपाच्य पनि यिनको समस्या हुँदैन। यसविपरीत भौतिक सम्पन्नताले पूर्ण व्यक्ति भोजन देखावटी, भोजभतेर, मनोरञ्जनको माध्यम बन्न सक्छ र तिनै स्तरका व्यक्तिबाट भ्रष्टाचार, घुसखोरी, अमानवीयता, राजनीतिक अस्थिरता र तानाशाह फैलिइरहेको हुन्छ। त्यसैले भनिछ– जस्तो भोजन, त्यस्तै मन। जस्तो मन त्यस्तै सोच र कर्म।

अन्नं ब्रह्मेति व्यजानात्‌

अन्नाद्ध्येव खल्विमानि भुतानि जायन्ते
अन्नेन जातानि जीवन्ति
अन्नं प्रयन्त्यभिसंविशन्तीति ।

अन्न अर्थात् भोजन नै ब्रह्म हो; जीवन हो र प्राण हो भन्ने सोच राख्ने व्यक्ति र जसले जीवनमा अन्न या भोजनको के महत्त्व र सम्बन्ध राख्छ भन्ने बोध पाउन सकेको हुन्न उसको सोचाइ के होला, कुन स्तरको होला ?

छुद्रताबाट विकसित भएर करुणाको अवस्थामा पुग्नु आत्मज्ञानको लक्षण हो र राष्ट्रको विकास होस् या स्वयंको आत्मज्ञानरूपी उच्च चेतनाविना सम्भव छैन।

भोग आवश्यकता : जीवनका प्राथमिक आवश्यकता पूरा गर्न मेहनत गर्ने र त्यो पाएपछि त्यसलाई भोग गर्न पाएपछि जीवनको लक्ष्य पूरा हुन्छ भन्ने सोच्नेले जीवनलाई त्यसरी नै बाँचेको हुन्छ। आफ्नो सुखसुविधा जुटाउनका लागि केन्द्रित हुन्छ। सुविधाजनक जीवन बिताउने इच्छा र सोच हुनेले कस्ता कर्म गर्न तत्पर हुन्छ भन्ने अनुमान लगाउन सकिन्छ।

सुरक्षा आवश्यकता : व्यक्तिलाई आफ्नो जीवनमा सुरक्षा आवश्यकता पर्छ। तर जसले केवल आफू सुरक्षित हुने प्रयत्नमा लाग्छ उसले सबैप्रति असुरक्षा भावले हेर्छ। यस्ता व्यक्तिको सोच मध्यम हुन्छ। धन आर्जनमा विशेष केन्द्रित हुन्छन्। जसरी हुन्छ धन आर्जन गर्ने सोच हुनेले के सम्म गर्ला ? सहजै अनुमान गर्न र समाजका उदाहरण र घटनाबाट यसलाई बुझ्न सकिन्छ।

आफ्नोपन आवश्यकता : सबैलाई आफ्नो पनमा बाँच्ने रहर हुन्छ तर यस्तो सोचमा मात्र केन्द्रित हुने व्यक्तिले केवल आफ्नो परिवार, आफ्नो खुसी र स्वार्थी भावना राख्छ। व्यापारी, वरिष्ठ कर्मचारी, राजनीतिज्ञलगायतका व्यक्तिको सोच उदाहरणका रूपमा देख्न सकिन्छ। उसको अर्थमा विकास भनेको आफ्नै वरिपरि केन्द्रित हुन्छ। आफ्नैलाई मात्र गर्छ। शिक्षाा, स्वास्थ्य, छात्रवृत्ति, नोकरी, रोजगार, बढुवा र वैभव उसैलाई र उसका आफन्तलाई मिलोस् भन्ने चाहना राख्छ। बहुजन हिताय, बहुजन सुखायको भावबाट पर हुन्छ। केवल स्वकेन्द्रित हुन्छ।

प्रेम आवश्यकता : प्रेमविना मानव जीवन निरस र व्यर्थ हुन्छ। सृष्टि नै प्रेमको स्रोत हो। तर व्यक्तिले किन प्रेम कुनै कारणवश मात्र गर्छ ? प्रेम त स्वभाव हुनुपर्ने, प्रेमवश प्रेम, प्रेममा उचनीच, आफ्नो, पराइ नहुनुपर्ने तर किन व्यवहारमा त्यसो हुन्छ ? हरेक चिज, व्यक्ति र अस्तित्व सृजनालाई प्रेम दिन जान्ने व्यक्तिको सोच नै उच्च हुन्छ। प्रेमको नाफाघाटा र हिसाबकिताब हुनु नै जीवनमा प्रेमको महत्त्व नबुझ्नु र यसलाई जीवनमा उतार्न नजान्नु हो।

यशको आवश्यकता : कसैले मलाई महत्त्व देओस्, मेरो महत्त्वलाई प्रशंसा गरोस्, मेरो सम्मान र नाम सबैतिर फैलियोस् भन्ने महत्त्वाकांक्षा हुन्छ व्यक्तिमा। तर आफ्नो यश प्राप्तिका लागि तल्लीन रहँदा अरूको आत्मसम्मानमा ठेस लाग्छ कि ख्याल गरेको हुँदैन। आफ्नो उन्नति, प्रगतिसगै अरूको पनि उन्नति होस् त्यो सोचाइ नै आउँदैन। जब प्रत्येक चिजमा आफ्नो हक जमाउन खोज्छ तब उसको सोच र विचार कसरी विकसित होला ? यो अस्तित्वमा सबैले आफ्नो पनको महसुस गर्न पाउनुपर्छ। मेरो मात्र कब्जामा केही पनि हुन सक्दैन। मेरो हुनका लागि म को हँु त्यो पनि त बोध हुनुपर्ने हो। धारणा, मान्यता र समाजको नियममा मेरो अस्तित्व छ या स्वयंको आत्मपरिचय, आत्मसम्मान र आत्मबोधका माध्यमबाट मैले मेरो यशलाई कायम राख्न सक्छु भन्ने ख्याल नआउँदासम्म व्यक्ति स्वयं र समाजमा अस्थिरता र अराजकता कायमै रहन्छ।

आत्मज्ञानको आवश्यकता : माथिका ६ किसिमका आवश्यकताबारेमा सबै मनुष्य जानकार छन् तर आत्मज्ञान पनि जीवनमा आवश्यक छ भन्ने कुरा थोरै प्रतिशत व्यक्ति मात्र जागृत छन्। यो उच्चत सोच हो। स्वयं, परिवार, समाज, राष्ट्रभन्दा माथि उठेर समग्रतामा सोच्ने, कल्याणकारी सोच हो आत्मज्ञान। बुद्घ, कृष्ण, ओशो, ऋषिमुनि, सन्तहरूलगायतका व्यक्तित्वको उच्चतम चेतनाबाट आत्मज्ञानको बोध हुन सक्छ। आत्मज्ञान बाहिरको अध्ययनबाट प्राप्त हँुदैन, स्वयंको साधनाबाट प्राप्त हुने अवस्था हो। स्वयंको जागृत अवस्था, जागरण र निर्विचार अवस्थाबाट प्राप्त हुने गहिराइको ज्ञान हो। आत्मज्ञान प्राप्त गर्नेले बाहिरी आँखाबाट देख्दैन, अन्तर्दृष्टिबाट देख्छ। बाहिरको सूचना र जानकारी मात्र होइन, आन्तरिक चेतनाको तलबाट बोध गर्छ।

छुद्रताबाट विकसित भएर करुणाको अवस्थामा पुग्नु आत्मज्ञानको लक्षण हो र राष्ट्रको विकास होस् या स्वयंको आत्मज्ञानरूपी उच्च चेतनाविना सम्भव छैन। आत्मज्ञानमा उपलब्ध हुन कठिन कुरा पनि छैन। सरल, सहज, संयम, करूणावान्, बहुजन हिताय, बहुजन सुखायको भाव र विनाकारणको प्रेमभावबाट आत्मज्ञान खुल्छ। आजको राष्ट्रको अस्थिरता र खिचातानी केवल यिनै आयामलाई बोध गर्न नजान्नुको परिणाम हो। सडक आन्दोलनले कहिल्यै परिवर्तन र रूपान्तरण हुनेवाला छैन। भए पनि त्यो दीर्घकालीन हुँदैन। आन्दोलन नै गर्नु छ भने आफूभित्रबाट आन्दोलित बनौं, स्वयंको चेतनामा स्थित हुने प्रयास गरौं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.