परम्पराविरुद्ध हेडमास्टर सरस्वतीको  संघर्ष

परम्पराविरुद्ध हेडमास्टर सरस्वतीको  संघर्ष

बर्दिबास : सरस्वती मिश्रका श्रीमान् डाचाराज वाग्ले बितेको १३ दिन पुग्यो। पतिको मृत्यु पश्चातको संस्कारका लागि सोतो कपडा लगाएर उनी किरिया बसेकी छैनन्। उनका छोराहरु प्रज्जवलराज, प्रल्यराज बुवाको क्रियापुत्री पनि बसेका छैनन्। उनीहरुले कपाल पनि खोरिएका छैनन्। 

महोत्तरीको बर्दिबास–१ स्थित उनको घर पुग्दा सरस्वती, उनका छोराहरु र दैलोमा आफ्न्तहरु थिए। दैलोको दाँयपट्टि राखिएको टेबलमा स्वर्गीय डाचाराजको फ्रेममा हालिएको फोटो, नजिकै केही पुष्प गुच्छा र शोक सन्देशको पुस्तिका राखिएको थियो।

१३ औं दिनको पुण्यतिथिमा चोख्याउन उनको घरमा पुरोहित पनि बोलाइएको थिएन। कर्मकाण्डको कुनै चाँजोपाँजो थिएन। बुवाको मृत्युपछि छोराहरु किन क्रियापुत्री नबसेका होलान् ?  श्रीमान्को मृत्युपछि किन सेतो लुगामा बेरिएर कोरा नबसेकी होलिन् ? समाजमा थुप्रै प्रश्न उठ्यो। प्रश्न नउठ्ने कुरै भएन। 

सरस्वती गाउँ नजिकैको पञ्चधुरा अधारभुत विद्यालयकी हेडमास्टर हुन्। उनलाई गाउँभरिकाले चिन्छन्। हेडमास्टले पतिको मृत्युपछि समाजमा चल्दै आएको परम्परा किन नमानेकी होलिन् ?  यो प्रश्नको उत्तर खोज्न हामी उनको दैलोमा पुग्दा उनले भनिन्,‘मृत्युपछिको संस्कार पनि एक कुप्रथा हो। परम्परागत मृत्यु संस्कार मान्नेहरुका लागि मैले थालेको नयाँ अभियान फरक लाग्न सक्छ।’ 

मृतक डाचाराज नेकपाका केन्द्रीय सदस्य थिए। उनको गत फाल्गुण २१ गते मृत्यु भएको थियो। नेकपाको सर्लाही जिल्ला ईन्चार्ज समेत रहेका उनको सदरमुकाम मलङ्गवाबाट फागुन २२ गतेको पूर्व संध्यामा मसाल जुलुस गरेर बन्द सफल पार्न बागमती फर्किंदै गर्दा मुर्तीया जंगलमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीको भनाइ छ। परिवारजनले उनको सुनियोजित हत्या भएको बताइरहेका छन्।

नेता वाग्लेको मृत्युले उनको परिवारमा गहिरो शोक छाएको छ। प्रियजन गुमाउनु पर्दाको क्षण कुनै पनि परिवारका लागि अत्यन्तै पीडादायी र दुःखदायी हुन्छ। त्यही पीडाको भेलमा सरस्वतीको परिवार छ। शोकमा रहेका परिवारजनलाई पीडाबाट सम्हालिन निकै कठिन हुन्छ। त्यसमाथि क्रियाकर्मको अनावश्यक खर्चले गरिव तथा विपन्न परिवारमा ऋणको भार पर्ने गरेको सरस्वतीले बताइन्।

‘मृत्युपछि गरिने संस्कार ठीक होइन भन्ने मलाई लाग्यो। कुरिति, कुप्रथा, कुसंस्कारभन्दा माथि उठेर  मैले यो परम्परा तोडेर नयाँ परम्पारको थाल्नी गरेको छु’, उनले भनिन्, 'त्यसैले समाजमा नयाँ संस्कार स्थापित गर्न मेरा छोराहरु क्रियापुत्री बसेका छैनन्। म पनि कोरो बसेको छैनँ। यस्तै अरुले गर्दै गएपछि नयाँ संस्कारको विकास पक्का हुन्छ।’  

‘मृत्युपश्चात कर्म गरेपछि आफ्न्त सम्झेको हुने र नगरेपछि बिर्सिने भन्ने हुँदैन। हामी सबैका प्रियजन सधैंका लागि प्रियजन नै हुन्छ’, उनले भनिन्, 'एक समय श्रीमान्को मृत्युपश्चात चितामा दनकिरहेको आगोमा श्रीमती जीउँदै जलेर सति जानु पर्ने एक खालको परम्पारा नै थियो। यो कुरिति हो भनेर समाजले बुझ्यो। सति प्रथाको त्यसपछि नामनिशान हरायो। त्यसैगरी समाजले मृत्युपछिको संस्कार कुरिति हो भन्ने एकदिन पक्का बुझ्ने छ।'

मृत्युको संस्कारमा हुने खर्चलाई पीडामा परेका असहायहरुलाई सहयोग गर्नु पर्नेमा उनले औंल्याएकी छिन्। ‘मेरो स्वर्गीय पतिको सम्झनामा समाजिक काम गर्न उहाँको नाममा प्रतिष्ठान स्थापना गर्ने सोंचमा छौं’, उनले भनिन्,‘हाम्रो मृत्युपश्चात मेडिकल पढ्ने विद्यार्थीको पढाइमा प्रयोगात्मक कक्षामा उपयोग गर्न शरीर हस्तान्तरण गर्ने कुरो थियो। तर, उहाँको लाशको पोष्टमार्टम गर्नु पर्ने भएकोले शरीर मेडिकल साइन्सको क्षेत्रमा उपयोगी हुन सकेन।’  

हेडमास्टर सरस्वती मिश्र र उनका छोराहरु।

 २०५१ सालमा नेता डाचाराज र सरस्वती वैवाहिक बन्धनमा बाँधिएर जीवनको सहयात्रा सुरु गरेका थिए। 

गरिबलाई शोषण गर्ने सर्लाहीका मिटर ब्याजी श्याम पदेशी, रामबाबु साह जस्ता पीडकविरुद्ध केही वर्ष पहिले लडेर उनीहरुलाई जेलमा कोचेका थिए। स्वच्छ छवीका नेता वाग्ले प्रखरवक्ता र लेखक थिए। ‘उहाँ वर्ग संघर्षको लडाइँमा हुनुहुन्थ्यो। अन्याय, अत्याचारमा परेकाहरुको न्यायको लागि सधैं अवाज बुलन्द पार्न लडिरहनुहुन्थ्यो’, पूर्व शिक्षामन्त्री गिरिराजमणी पोखरेलले भने,‘उहाँ बहुप्रतिभाशाली योद्धा हुनुहुन्थ्यो।’ नेता वाग्लेको सुनियोजित ढंगले हत्या भन्दै नेकपाले छानविन टोली पनि गठन गरेको उनले बताए।

वर्ग संघर्षबाट मुक्ति पाइरहेका जनता उनको मृत्युले स्तब्ध छन्।‘मृत्यु त्यतिकै सत्य हो, जति जीवन। फेरि पनि जीवन सबैलाई प्रिय हुन्छ , मृत्यु सबैलाई अप्रिय हुन्छ। जन्मेपछि मृत्युको बीचमा हामी  देशलाई के दिन सक्छौं, त्यो ठूलो कुरो हो, त्यो मुख्य कुरो हो’, सरस्वतीले भनिन्, ‘मान्छेको जीवन संघर्षशील हुनु पर्छ। मृत्युपछि कोही पनि मान्छे फर्केर आउँदैनन्, चाहे धनी होस्, चाहे गरिब। ठूलो होस् या सानो। मन बुझाउनु पर्दो रहेछ', उनले भनिन्। 

‘तिमी मेरो लागि महान छौं, त्यसमा मलाई विश्वास छ। म जीवनको उत्तरार्धमा हिडिरहेको छु ’, विगतका दिनमा आफ्नो श्रीमान्ले भनेको कुरा सम्झिंदै सरस्वती भन्छिन्, ‘उहाँको विचार, उहाँले सिकाउनु भएको सभ्यता, संस्कार र समाज रुपान्तरणको कोणबाट सधैं मेरा मन, मस्तिक्समा उहाँ बसिरहनुहुन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.