कालिकोटमा जिपले किचेर बालकको मृत्यु
कालिकोट : जिल्लाको रास्कोट नगरपालिका– ७ सान्नीघाट बजारमा जिपले किचेर बालकको मृत्यु भएको छ ।
कर्णाली करिडोरमा सञ्चालित मे १ ज ११४९ नम्बरको जिपले सान्नीघाटमा व्यापार गर्दै आएका गोबिन्द्र सिम्खाडाको दुई वर्षीय छोरा प्रेम सिम्खाडालाई किच्दा घटनास्थलमै मृत्यु भएको हो ।
सामान्य घाइते भएका बालकलाई मार्नका लागि चालकले गाडी पछाडि ल्याएर टाउँकोमा टायर चढाएर मारेको स्थानीयले बताएका छन् । गाडी क्रस हुने क्रममा बच्चालाई सामान्य ठक्कर दिएको थियो ।
स्थानीयले बच्चालाई मार्यो भनेर हल्ला गरेपछि चालक उमाकान्त पाठकले गाडी ब्याक गरेर बच्चाको टाउँकोमा टायर चढाएर मारेको स्थानीय कर्ण विश्वक्रर्माले बताए ।
चालकले हतारमा ब्याक गरेर बच्चाको हत्या गरेको प्रत्यक्षदर्शीको आरोप छ । बच्चालाई हत्या गरेर चालक नजिकै रहेको अस्थाई प्रहरी चौकीमा पुगेका थिए । प्रहरीले चालकलाई सुरक्षामा राखेको छ ।
स्थानीयले गाडीलाई जलाएका छन् । स्थानीयले चालकलाई पनि जलाउन दिनु पर्ने भन्दै प्रहरी चौकीमा समेत तोडफोड गरेका छन् । सुरक्षाका लागि जिल्लाबाट थप प्रहरी टोली घटनास्थल पठाइएको छ ।
स्थानीय र बालकका आफन्तले भने समितिका मान्छे, चालकलाई राखेर मात्र छलफल गर्ने र प्रहरीलाई मुचुल्का गर्न दिने अडान लिएका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी चक्रबहादुर शाहले घटना भएको र त्यहाँ जिल्लाबाट प्रहरी निरीक्षक महेश शाहीको नेतृत्वमा प्रहरी पठाएको बताए ।
घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए । बालक किचेको घटनाले पीडित पक्षको प्रदर्शनका कारण कर्णाली करिडोर बन्द भएको छ ।